+
+
गफ स्टेसनमा हिमाल सागर :

‘संगीतमा पहुँच बढ्यो, कलाकारको ब्राण्ड भ्यालु चाहिं घट्दै गयो’

भाइरल गीत-संगीतको होड र भिडियोमा बढी केन्द्रित हुने प्रवृत्ति बढ्दा राम्रा गीतको सिर्जना कम भएको हुनसक्ने हिमाल सागरको विश्लेषण छ ।

खेम रिसाल खेम रिसाल
२०८० वैशाख १७ गते २१:०१

काठमाडौं । पछिल्लो ६ महिनायता गायक हिमाल सागरका एकपछि अर्को गीत रुचाइएका छन् । ‘ए हो र माया’, ‘आहा कति राम्री’, अनि भर्खरै सार्वजनिक भएको ‘आहा माया’ ।

संयोग के छ भने यी तीनै गीतमा उनलाई गायनमा अनु चौधरीले साथ दिएकी छन् । लाग्छ पछिल्लो समय सांगीतिक क्षेत्रमा हिमाल सागरको आफ्नैखाले दबदबा छ । दुई दशकअघि ‘न मैले लेखें’ गीतबाट सांगीतिक क्षेत्रमा पाइला चालेका उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । किनकि उनको पहिलो गीत नै ‘सुपरहिट’ भइदियो ।

अनलाइनखबरको गफ स्टेसनमा हिमालले आफ्नो सांगीतिक करिअर, सफलता, वर्तमान नेपाली संगीत, डिजिटल प्लेटफर्मको व्यवस्थापन लगायत विषयमा खुलेर कुराकानी गरेका छन् ।

विमल अधिकारीको शब्द तथा संगीत रहेको ‘ए हो र माया’लाई उनी आफ्नो सुखद् कमब्याक भन्न रुचाउँछन् । ‘हुन त यसअघि पनि मेरा केही गीत करोड क्लबमा नपुगेका होइनन् । तर यो गीत यस्तो बनेर आयो, जसले हरेक तहतप्काका श्रोताको मन छोयो,’ उनी भन्छन् ।

हिमाललाई एल्बमको जमाना र अहिलेको युबट्युब युग दुवै प्रिय लाग्छन्, तर पनि एल्बमको बेला कलाकारको ब्राण्ड नै अर्को हुने उनी सम्झिन्छन् । ‘त्यो हाम्रो एल्बम कुरेर एक वर्षसम्म श्रोताहरु बस्नुहुन्थ्यो, उहाँहरुमाझ हामी कलाकारको छुट्टै क्रेज हुन्थ्यो,’ उनी भन्छन्, ‘हिजोआज गीतको पहुँच धेरैमा पुगेको छ । गीत सुपरडुपर हिट भइरहेको हुन्छ तर गायक-गायिकाको भ्यालु चाहिं घटेको जस्तो लाग्छ ।’

भाइरल गीत-संगीतको होड र भिडियोमा बढी केन्द्रित हुने प्रवृत्ति बढ्दा राम्रा गीतको सिर्जना कम भएको हुनसक्ने उनको विश्लेषण छ । ‘क्षणिक चर्चाको पछि लाग्ने कि, आफू मरेर जाँदा पनि सम्झिरहने गीत सिर्जना गर्ने ? यो सोच्नुपर्ने बेला आएको छ,’ हिमाल भन्छन्, ‘तर पनि समय हो, योसँगै चल्नैपर्छ । त्यही भएर हामी कहिलेकाहीं समयको बेगलाई पछ्याउन बाध्य भइरहेका छौं ।’

यद्यपि अहिलेको डिजिटल युग संगीत क्षेत्रका लागि एक प्रकारले बरदान रहेको पनि उनी बताउँछन् । ‘मात्रै यसको सही सदुपयोग गर्नुपर्‍यो, अनि राम्रो सिर्जना गर्न जोश जाँगर चलाउनुपर्‍यो,’ हिमाल भन्छन् ।

हिमाल सागरसँग गफ स्टेसनमा गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर  

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?