+
+
सन्दर्भः मे १ :

लैंगिक असमानताको कुरुप चित्र फेरौं

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा महिला श्रमिकमाथि थपिएको अतिरिक्त शोषण र उत्पीडन महसुस गर्नु जरूरी छ । आज पनि महिला मजदुर र पुरुष मजदुरले पाउने सम्मान र अपमान दुवै फरक छन् । महिला र पुरुषले नोकरी पाउने अवस्था पनि फरक हुन्छ । काम गर्ने क्रममा विभेदको खाडल गहिरो रहेको छ ।

भाषा पोखरेल भाषा पोखरेल
२०८० वैशाख १८ गते ८:३६

पूँजीवादी युगमा उत्पादन प्रक्रियामा संलग्न श्रमिक वर्गलाई वस्तुको स्तरमा राखिन्छ । यसले श्रमिकहरूले स्वतन्त्रपूर्वक काम गर्ने हैसियत गुमाउँदछन् । उनीहरू जिम्मेवार हैसियतमा काम गर्ने मानवीय मूल्य गुमाउन पुग्दछन् । श्रमिकलाई मानवीय मेशिनको हैसियतमा व्यवहार गरिन्छ । पूँजीवादले स्वतन्त्रताको गुलियो नारा त ल्यायो तर, श्रमिकलाई आफ्नो श्रमको उपयोगको स्वतन्त्रता भने दिएन । यसले सामन्तवादको अन्त्य त गर्‍यो तर, शोषणका विविध रूपहरूलाई झन् नयाँ ढंगले स्थापित गरिदियो ।

त्यही पूँजीवादी व्यवस्थाले गरेको शोषणको अन्त्यकै लागि कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले समानताको वकालत गरे । २०औं शताब्दीका विश्वव्यापी क्रान्ति र संघर्षहरूले त्यही समानताको नारा बोके । तर, त्यो नारामा जसरी स्वतन्त्रता र समानताका कुरा गरिन्छ, त्यसको उपयोग भने केवल सीमित पूँजीपति वर्गले मात्रै गर्दै आएका छन् । समानता र स्वतन्त्रताको उपभोगको घेरा साँघुरिंदै गएको छ । धनले धन आर्जन गर्ने अवधारणा नै पूँजीवादको मुटु हो । अनि त्यही धनका कारण उत्पादनको साधन माथिको स्वामित्व स्थापित भएको हुन्छ ।

विस्तारै यो प्रक्रियाले विस्तारित रूप ग्रहण गर्दैगर्दा यो राज्य संयन्त्रसम्म पुग्दछ । राज्यको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ भन्ने दृष्टिकोणको विकास हुँदैगयो । त्यसपछि बजार विस्तारको क्रममा उदारीकरणको विकास भयो । उत्पादनको साधनमाथिको स्वामित्व व्यक्तिको हातमा भएपछि राज्यलाई निरीह र कमजोर पार्ने अनि उत्पादनको साधनमाथिको स्वामित्वलाई आफ्नो पहँुचमा लिने काम भयो ।

हाम्रो जस्ता अविकसित मुलुकले बुझ्नुपर्ने मुख्य कुरा के छ भने आर्थिक हिसाबले आत्मनिर्भर नभइकन राजनीतिक हिसाबले मात्रै स्वतन्त्र हुन असम्भव छ । पूँजीवादी प्रणालीबाट संसारभरिकै श्रमिक वर्ग उत्पीडनमा त छँदैछ त्यसमा पनि हाम्रो जस्तो सामन्ती उत्पादन सम्बन्ध र उत्पादनको साधनमाथिको कत्ति पनि स्वामित्व आफ्नो हातमा नभएका श्रमिक वर्ग र त्यसमा पनि महिला र सीमान्तकृत समुदायका मजदुरहरूको अवस्था निकै दयनीय रहेको छ ।

सामन्ती राज्यव्यवस्था र औद्योगीकरणको पर्याप्त विकास हुन नसकेको हाम्रो जस्तो देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्पीडनका कारण महिलाहरूले चुलो-चौकाको चौघेराबाट बाहिर उद्योग कल-कारखानामा काम गर्न थालेको इतिहास लामो छैन । महिलाहरूको श्रमको मूल्य र त्यसबाट हुने आय राष्ट्रको कुल आयमा अझै जोडिएको छैन । यसले महिलाहरू उत्पादनको काममा छैनन् भन्ने देखाउँछ । राज्यले नै महिलाको श्रमको मूल्यांकन नगरेको कुरा पुष्टि हुन्छ ।

निजी क्षेत्रमा सिर्जना भएका सीमित रोजगारीका अवसर बाहेक महिलाहरूले निर्णायक तहमा काम गर्न पाएका छैनन् । संघ-संस्था र निजी तथा सार्वजनिक क्षेत्रमा पनि निम्न र साधारण काम मात्रै महिलाको भागमा पर्ने गरेको हामी देख्छौं । उनीहरूको पारिश्रमिक पनि न्यून हुन्छ । औद्योगिक तथा निर्माण क्षेत्रमा त घण्टौं घण्टा कठिन र जोखिमपूर्ण काम गर्नुपर्ने तिनै महिला सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ ।

निजी क्षेत्रमा काम गर्ने मजदुर महिलालाई सुत्केरी बिदाको सुनिश्चितता गरिएको छैन । शिशु स्याहार केन्द्रको व्यवस्था छैन । सेक्युरिटीमा काम गर्नका लागि केवल सेना, पुलिसमा काम गरेकालाई मात्र लिने गरिएको छ । महिलाले कार्यस्थलमा समेत विभिन्न खाले प्रत्यक्ष र अप्रत्यक्ष हिंसाजन्य व्यवहार भोग्नुपरेको छ ।

कार्यस्थलमै पनि महिला श्रमिकले आफ्नो शरीर माथिको सुरक्षा समेत प्रत्याभूति पाउन सकेकी हुन्नन् । काम गर्ने कारखानाहरूमा नै बलात्कार, यौन दुव्र्यवहार र हिंसाजन्य घटनाहरू घटिरहेका हुन्छन् । आखिर किन ? यस्तो अवस्थामा महिलाहरूले कसरी स्वतन्त्र र स्वाभिमानपूर्वक काम गर्न सक्छन् ?

महिलालाई रोजगारी दिने रोजगार दाताले पनि मानवीय नाताले सोच्न सक्नुपर्‍यो । मेरो घरमा मेरी आमा, मेरी श्रीमती, मेरी बहिनी र मेरी छोरीको जीवन कस्तो छ ? उनीहरूको जीवन कसरी चलेको हुन्छ ? उनीहरूको सुरक्षा के कसरी भएको हुन्छ ? हो, त्यसैगरी आफ्ना कलकारखाना र व्यावसायिक प्रतिष्ठानमा काम गर्ने महिला श्रमिकहरूको बारेमा पनि उसैगरी सुरक्षा प्रबन्ध गरिनुपर्छ ।

किनकि आफ्नो उद्योग, कलकारखानामा काम गर्ने मजदुर पनि कसैको छोरी, श्रीमती र आमा हुन् र हुन सक्छिन् । महिलाहरू सबैको समस्या एउटै हो । सुरक्षाको डर सबैलाई उत्तिकै हुन्छ । तर, हाम्रा समाजका पुरुषहरू किन आफ्ना परिवारका सदस्यहरू बाहेकका महिलालाई त्यही नजरले हेर्न सक्दैनन् ? किन उनीहरूलाई सिकारी नजरले हेर्छन् ? के उनीहरूको आफ्ना उद्योग, कलकारखानामा काम गर्ने मजदुरको सुरक्षा, सुविधा र श्रमको मूल्य न्यायोचित हुनुपर्दैन ?

महिलाको काम गर्ने कला र क्षमतामा कत्ति पनि प्रश्न गर्न आवश्यक छैन । मात्र अवसरलाई समान रूपमा विभक्त गरिएको हुँदैन । एउटी महिलाले जागिर पाउनकै लागि अनिच्छित कर्ममा सहभागी हुनुपर्ने बाध्यता र त्यस्तो विवशताको फाइदा उठाउने कथित पुरुषहरूको कुदृष्टि नै व्यभिचार र अतिरिक्त शोषणको जड हो

एउटा मालिकले मजदुरहरूले गरेको श्रमबाट अथाह अतिरिक्त नाफा कमाउन सक्छ । तर मजदुरले आफ्नो श्रमको मूल्य पाउँदैन । यो कस्तो मानवीयता ? मजदुर जीवनभर श्रम गर्छ, उसको श्रमशक्ति चुसिसकेपछि ऊ निकालिन्छ । ऊ रित्तै निस्कन्छ ! ऊसँग न पेन्सन हुन्छ न त भत्ता नै । यसबारेमा मालिकले केही सोच्दैनन् । उल्टो मजदुरले आन्दोलन गर्दा पनि मजदुरका अधिकारहरू न्यायोचित हुन सकिरहेका छैनन् ।

१८औं शताब्दीमा नै महिलाहरूले मताधिकारको अधिकार, ८ घण्टा काम, समान कामको समान ज्याला, मजदुर युनियनमा महिला सहभागिता, मातृशिशुको सुरक्षा, उद्योग कलकारखाना भित्र शिशु स्याहारको व्यवस्थाका लागि आन्दोलन गरे । यो आन्दोलनको जगमा विश्वका विकसित मुलुकका महिलाहरूले यी अधिकार प्राप्त गरिसकेका छन् । यस्ता अधिकारबाट वञ्चित महिलाहरू निरन्तर संघर्षमा छन् ।

अहिले मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र संस्थागत हुन पुगेको छ । त्यसकै बलमा महिला मजदुर, दलित, किसान, उत्पीडित जाति र वर्ग, सीमान्तकृत समुदाय सबैलाई आफ्नो पहिचान दिन सकेको छ । अब पहिचान होइन अधिकार चाहिएको छ । सबै वर्गमा जनसंख्याको आधारमा समान सहभागिता जरूरी छ । मूल रूपमा कुरा गर्ने हो भने उद्योग, कलकारखानामा सबै मजदुरहरूको रोजगारी सुरक्षा, पारिश्रमिक, सरकारी स्कुलमा व्यवस्था हुनुपर्छ । सञ्चयकोषको व्यवस्था हुनुपर्छ । काम छाड्दा उपदान र रोग लाग्दा उपचारको व्यवस्था हुनुपर्छ । त्यसमा पनि महिला मजदुरहरूको हकमा सबै मजदुरहरू उद्योग, कलकारखानामा शारीरिक सुरक्षा, मातृशिशुको सुरक्षा, सुत्केरी भत्ता, शिशु स्याहार केन्द्र, सुत्केरी बिदाको व्यवस्था गर्नुपर्दछ । अनि मात्र महिला मजदुरहरू उद्योग कलकारखानामा श्रम गर्न सक्छन् ।

त्यतिबेला मात्र उनीहरूले मेशिनको पार्टपुर्जा मात्र होइन आफूलाई स्वतन्त्र, स्वाभिमान मजदुरको रूपमा पनि बुझ्नेछन् । यो प्रश्नको समाधान भनेको उत्पादनको साधन माथि सामाजिक स्वामित्व नै हो । अझ उत्पादनको साधनको स्वामित्व महिलामा आउनुपर्छ । तब मात्रै समाजमा समानता कायम हुनेछ । तब मात्र समाज समतामूलक बन्नेछ । के हामीले यसतर्फ सोचेका छौं ?

राज्यले विधवा वा एकल महिलालाई विभिन्न प्रकारको सेवा-सुविधा त दिएको छ तर, समाजमा सम्मानपूर्वक बाँच्ने अवस्था सिर्जना हुनसकेको छैन । ती महिलाले आफ्नै एकल परिचयका आधारमा आफ्ना सन्तानको न्यायिक हक स्थापित गर्न सकेकी छैनन् । सन्तानलाई सहज रूपमा परिचय दिन सकेकी छैनन् ।

यसर्थ, आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा महिला श्रमिकमाथि थपिएको अतिरिक्त शोषण र उत्पीडन महसुस गर्नु जरूरी छ । आज पनि महिला मजदुर र पुरुष मजदुरले पाउने सम्मान र अपमान दुवै फरक छन् । महिला र पुरुषले नोकरी पाउने अवस्था पनि फरक हुन्छ । काम गर्ने क्रममा विभेदको खाडल गहिरो रहेको छ । महिलाहरू शारीरिक रूपमा पनि स्वतन्त्र भएको अवस्था छैन ।

महिलाको काम गर्ने कला र क्षमतामा कत्ति पनि प्रश्न गर्न आवश्यक छैन । मात्र अवसरलाई समान रूपमा विभक्त गरिएको हुँदैन । एउटी महिलाले जागिर पाउनकै लागि अनिच्छित कर्ममा सहभागी हुनुपर्ने बाध्यता र त्यस्तो विवशताको फाइदा उठाउने कथित पुरुषहरूको कुदृष्टि नै व्यभिचार र अतिरिक्त शोषणको जड हो ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महिला श्रमिकको सुरक्षा र सम्मान कसरी बढाउन सकिन्छ ? यसैमाथि गम्भीर विमर्श हुनु जरूरी छ । किनकि जुन समाजमा नारी सम्मानित र सुरक्षित हुन सक्दिनन्, त्यो समाज कसैगरी पनि सभ्य र प्रगतिशील हुन सक्दैन । समाजमा विद्यमान लैंगिक असमानताको कुरुप चित्र फेरियोस्, श्रमिक दिवसको यही शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?