+
+

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व संकलन बढ्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १३:२०

१८ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जले १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ ।

निकुञ्जले गत आर्थिक वर्षमा ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष अझै ३ महिना बाँकी रहेकाले गत वर्षको दोब्बर राजस्व संकलन हुने निकुञ्जको विश्वास छ ।

पछिल्ला दश वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ राजस्व संकलन भएको थियो ।

गत साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा दुई लाख २१ हजार ५०३ पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्रका र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेका निकुञ्जले जनाएको छ ।

यसअघि गत आर्थिक वर्षमा १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ र कोरोना भाइरसको महामारी फैलिएको समय आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

पछिल्ला वर्षहरुमा विदेशीभन्दा स्वदेशी पर्यटकहरुले निकुञ्ज घुम्ने क्रम बढेको निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । कोभिड–१९ महामारीपछि विदेशीको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

संकलित राजश्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा खर्च गराउँदै आएको छ । वन्यजन्तुले मानव तथा मानववस्ती र खेतीबालीमा पुर्याएको क्षतिको क्षतिपूर्ति रकमसमेत दिँदै आएको छ । गत आर्थिक वर्षमा निकुञ्जले क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ दिएको थियो ।

चालु वर्षमा ९६ वन्यजन्तुको मृत्यु, ६ जना जंगली जनावरबाट मारिए

निकुञ्जले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९६ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ । चैतसम्म १६ वटा गैंडासहितका ९६ जनावरहरुको मृत्यु भएको छ । ११ भाले र ४ पोथी गैंडाको मृत्यु भएको निकुञ्जले जनाएको छ । त्यसमध्ये ३ गैंडा चोरी सिकारीले मारेका थिए ।

चालु आर्थिक वर्षको चैतसम्म ६ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३, गैंडाको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा एक जना विदेशी नागरिकसमेत छन् । निकुञ्जले मानव वन्यजन्तु मैत्री वातावरण र द्वन्द्व व्यवस्थापनलाई प्रमुख समस्या र चुनौतीको रुपमा लिँदै आएको छ ।

वन्यजस्तुको वासस्थान अतिक्रमण हुने समस्याले पनि द्वन्द्व बढेको देखिन्छ । राजनीतिक प्रभाव र आवरणमा निकुञ्जका क्षेत्रहरु कुसुमखोला, बाँदरझुला, मनहरी, त्रिवेणी, तमासपुर आदि क्षेत्रमा गरेर १ हजार २९ हेक्टर जमिन अतिक्रमणको चपेटामा परेको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?