१९ वैशाख, काठमाडौं । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार यूएई विरुद्ध जवाफी ब्याटिङका क्रममा १८औं ओभरको दोस्रो बलमा गुल्सन झाले एउटा लामो छक्का प्रहार गरे । बल मैदानमा दर्शक छिर्ने मुख्य गेटनजिकै पुग्यो । गुल्सनले थप दुई चौका हानेपछि त्यो ओभरमा नेपालले १६ रन बनायो ।
त्यही ओभर विश्व क्रिकेटमा महारथी टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने नेपालको सपना पूरा गर्न निर्णायक रह्यो । विश्व क्रिकेटको संरचनामा आईसीसीका पूर्णकालीन सदस्य टिमहरूसँग एसोसिएट टिमहरूले खेल्न पाउने अवसर अत्यन्तै न्यून रहन्छ । आईसीसीको एसोसिएट सदस्यता पाएको २७ वर्षसम्म नेपालको सिनियर टिमले भारत, पाकिस्तानसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने अवसर पाएको थिएन । अब त्यो प्रतीक्षा सकिएको छ ।
एसीसी प्रिमियर लिगअन्तर्गत वर्षाले प्रभावित यूएईसँगको फाइनल नेपालले दुई दिन लगाएर ७ विकेटले जित्यो । प्रतियोगिताको नियम अनुसार सोमबार सुरु भएको फाइनल खेल वर्षाका कारण बिथोलिंदा मंगलबार (रिजर्भ डे)मा निरन्तरता पायो ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त फाइनलमा सन्तुलित बलिङ आक्रमणको नमूना प्रदर्शन गरेको नेपालले टस हारेर ब्याटिङ सुरु गरेको यूएईलाई पहिलो दिन सोमबार नै ध्वस्त पारेको थियो । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा नै नेपालले आधा खेल जितिसकेको थियो ।
सोमबार अपराह्न पौने १२ बजेदेखि स्थगित भएको खेल त्रिवि मैदानमा पानी जमेपछि सोही अवस्थाबाट भोलिपल्टका लागि सारियो । मंगलबार ३३.१ ओभरमा अलआउट हुनुअघि यूएईले ११ रन थप्यो । नेपालले जितका लागि ५० ओभरमा ११८ रनको झिनो लक्ष्य पायो ।

जवाफमा नेपालको सुरुवात सुखद रहेन । ८ ओभरभित्र २२ रन बनाउँदा नेपालले दुई ओपनरसहित कप्तान रोहितकुमार पौडेललाई समेत गुमाइसकेको थियो । दीपेन्द्रसिंह ऐरीको स्थानमा टिममा ल्याइएका गुल्सन झालाई पहिलोपल्ट तेस्रो नम्बरमा ब्याटिङमा पठाउने प्रशिक्षक मोन्टी देशाईको निर्णय सही सावित भयो । गुल्सनको डरविहीन र पाँचौं नम्बरमा आएका भीम सार्कीको संयमित ब्याटिङबाट नेपालले ३३.३ ओभरमा लक्ष्य भेट्टायो । दुवैले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईमाथि दोस्रो अर्धशतक बनाउने क्रममा गुल्सनले ६७ रनको पारी खेले । भीमले ३६ रन बनाए । आफ्नो इनिङ्समा गुल्सनले ६ छक्का र ४ चौका हाने । बायाँ हाते ब्याटर र दायाँ हाते तीव्र बलरको पहिचानसहित स्थापित १७ वर्षीय गुल्सनलाई सन् २०१४ मा नेपालले विश्वकप खेलेपछिको माहोलले क्रिकेटतिर आकर्षित गरेको हो ।
सर्लाहीमा जन्मिएर आफ्नै खर्चमा भारतको राँचीमा क्रिकेट सिकेका गुल्सनसँग एकेडेमीमा खेल्नेहरू भारतको राज्यस्तरको टिममा स्थान बनाउन संघर्ष गरिरहेका छन् । कोही पलायन भइसकेका छन् । ६ फिट १ इन्च उचाइका बलिङ अलराउण्डर गुल्सनले भने १७ वर्षको उमेरमा रोहित शर्मा र बाबज आजम जस्ता विश्वस्तरीय ब्याटरविरुद्ध बलिङ, शहिन साह अफ्रिदी र जसप्रित बुमराहको बल सामना गर्ने अवसर सिर्जना गरेका छन् । गुल्सनलगायत नेपाल टिमका सदस्यहरूका लागि यो रोमाञ्चक अनुभूति हो ।

मंगलबार यूएईमाथि निर्णायक जितमा प्लेयर अफ द म्याच बनेपछि गुल्सन पत्रकार सम्मेलनमा सहज रूपमा प्रस्तुत भए । ‘जुनसुकै जिम्मेवारीका लागि तयार थिएँ । मोन्टी सरले भन्नुभए अनुसार खेल्न सकें । मैले न बितेको कुरा सम्झिएको थिएँ न त भविष्य । आफ्नो जे छ, त्यही गरिरहेको छु’, गुल्सन भन्छन् ।
सन् २००२ को एसीसी ट्रफीको फाइनलमा पुगेपछि नेपाल र यूएई, दुई वर्षपछि हुने एसिया कपका लागि छनोट भएका थिए । भारत–पाकिस्तान कार्गिल युद्धसँगै राजनीतिक तिक्तता बढ्दा एसिया कप रद्ध भयो । विश्व विजेता टिमसँग खेल्ने नेपालको सपना अरूको कारण पूरा हुन नसक्नुको पीडा नेपाल क्रिकेट टिमका तत्कालीन कप्तान राजु खड्काभन्दा बढी कसैलाई छैन ।
‘त्यतिबेला हामी ज्यादै उत्साहित थियौं । ठूला टेष्ट टिमसँग खेल्दा आफूलाई बलियो विपक्षीका रूपमा उभ्याउन क्यानले तयारी सुरु गर्दै थियो’ एसिया कपमा छनोट भइकन पनि भारत, पाकिस्तानसँग खेल्न नपाउँदाको क्षणबारे तत्कालीन कप्तान खड्का स्मरण गर्छन्, ‘त्यो हाम्रो लागि कालो दिन थियो । किनकि अरूको कारणले हाम्रो सपना खोसिएको थियो ।’
२२ वर्षपछि फेरि एसिया कप खेल्ने अवसर आएको छ । त्यो समयमा एसिया कपमा छानिंदा नेपाल क्रिकेटले आईसीसीको एसोसिएट मान्यता पाएको ६ वर्ष मात्र भएको थियो । अहिले नेपालसँग पछिल्लो पाँच वर्षदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ ।

उकालो लागेको नेपाल क्रिकेटलाई थप उचाइ दिन भारत, पाकिस्तान जस्ता महारथी टिमसँगको एक्स्पोजर निर्णायक बन्नसक्ने पूर्वकप्तान खड्का बताउँछन् । ‘हामीले देखेको सपना अहिलेको पुस्ताले पूरा गर्न लागेको छ’ खड्काले अनलाइनखबरसँग भने, ‘ठूला टिमसँगको एक्स्पोजरले हाम्रा खेलाडीका लागि मात्र होइन विश्व क्रिकेटले हाम्रो देशलाई हेर्ने नजरमै परिवर्तन हुनेछ ।’
हुन पनि सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेल्यो । त्यही माहोल देखेर क्रिकेटमा होमिएका सन्दीप लामिछाने, रोहितकुमार पौडेलहरू राष्ट्रिय टिमका स्टारहरू हुन् । ‘टी–२० विश्वकपपछि हामी पारस (खड्का) दाइ, ज्ञानेन्द्र (मल्ल) दाइलाई हेरेर प्रेरित भएका थियौं’, कप्तान रोहित भन्छन्, ‘हामीलाई एसिया कपमा देखेर आउने पुस्ता प्रेरित हुनेछ ।’
प्लेयर अफ दि टुर्नामेन्ट बनेका सन्दीप पनि आफूहरूले राम्रो गर्न सके नयाँ पुस्ताले सम्झिरहने बताउँछन् ।
पछिल्लो समय नेपाल क्रिकेटको अभूतपूर्व लय ल्याउन भूमिका खेलेका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि भारत, पाकिस्तान जस्ता ठूला देशसँग राम्रो खेल्न सके आईसीसीका फुल मेम्बरहरूसँग द्विपक्षीय सिरिज खेल्ने अवसरहरू आउने बताउँछन् ।
‘भारत र पाकिस्तान जस्ता देशहरूसँग एकदिवसीय खेलेको कल्पना गरें भने म ड्रेसिङ रुममा बसेर रमाइरहेको हुनेछु’, खेलपछि सञ्चारकर्मीहरूसँग भने, ‘उनीहरूले आफ्नो वान बल ब्याटललाई कतिसम्म सदुपयोग गर्न सक्छन् भन्ने हेरिरहन्छु । पूर्ण सदस्य राष्ट्रका टिमसँग द्विदेशीय क्रिकेट खेल्न पाएको अवसरमा उनीहरूले आफ्नो ‘बेष्ट स्किल’ प्रदर्शन गर्छन् कि गर्दैनन् भनेर हेर्नेछु ।’

दुई दशकअघि एसिया कपमा छनोट भएर पनि खेल्न नपाएका शक्ति गौचन पनि एसिया कपले थप अवसर ल्याउने बताउँछन् ।
करिअरको सुरुवातमै भारत, पाकिस्तानसँग खेलिने एसिया कप छनोटको खुसी धेरै समय टिक्न नपाएकोमा खिन्न महसुस गरेका उनी अहिले भाइहरूले पाएको सफलतामा खुसी छन् । ‘ठूला देशसँग निडर भएर प्रस्तुत हुनुपर्छ । हामीले कोहीभन्दा कम छैनौं भनेर उनीहरूलाई देखाउन सक्नुपर्छ’ नेपालका लागि झण्डै दुई दशक खेलेका शक्तिले अनलाइनखबरसँग भने, ‘भविष्यमा विदेशी फ्रेन्चाइज प्रतियोगिताहरूमा पनि हाम्रा खेलाडीले अवसर पाउनेछन् ।’
पूर्वाधारमा लगानी गर्ने बेला
एशोसिएट नेशनका रूपमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनु आफैंमा ऐतिहासिक हो । तर उदीयमान क्रिकेट टिमका हिसाबले असम्भव पनि होइन । यस्तो अवसर बारम्बार जुराउन भने खेलाडी र प्रशिक्षकको मिहिनेतले मात्र पुग्दैन, क्रिकेट पूर्वाधारमा राज्यको लगानी चाहिन्छ ।
टी–२० विश्वकपमा सहभागिता पनि त्यस्तै अवसर थियो, तर त्यसलाई सदुपयोग गर्न सकेन । अहिले पनि नेपाल क्रिकेट पूर्वाधारको हिसाबमा धेरै नै कमजोर छ । सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला नभएको नेपालको क्रिकेट संरचना र विकासको चरण छैन नै भन्दा पनि हुन्छ । जिल्ला र प्रदेश तहमा रहेका संरचना चुनावमा मतदाता संकलन गर्नेभन्दा माथि उठ्न सकेका छैनन् ।
ग्रासरुट कार्यक्रम शून्य छ, उमेर समूहका प्रतियोगिता सीमित छन् । महिला क्रिकेटलाई बेवास्ता गरिएको छ । केही निजी एकेडेमीको उत्पादनले राष्ट्रिय टिममा खेलाडी पर्याप्त छैनन् । नेपालले अहिलेसम्म ए टिमसम्म निर्माण गर्न सकेको छैन ।

मुख्य प्रशिक्षक मोन्टी देशाई पछिल्लो तीन महिनामा नेपाली खेलाडीले दबावमा खेल्ने अनुभव लिएको भन्दै अब भौतिक पूर्वाधार र एक्क्पोजरका लागि लगानी गर्नुपर्ने बताउँछन् ।
‘म चाहन्छु, डेभलपमेन्ट क्याम्प होस्, नेपाल ए टिम होस् । अब पुरुष टिमका लागि मात्र होइन, सिंगो नेपाल क्रिकेटबारे सोच्नुपर्छ’ क्रिकेट विकासका लागि संस्थापनसँग छलफल पनि भइरहेको भन्दै उनले अघि भने, अबको केही वर्षमा नेपाल फुल मेम्बर हुनसक्छ । एक दिन हामी यहाँ टेष्ट खेल हेर्न सक्छौं ।’
पूर्व क्रिकेटर शक्ति गौचन पनि चरणबद्ध विकास र योजनामा अनुशासित भएर अगाडि बढ्ने हो भने विश्वकप र एसिया कप खेल्ने मात्र होइन, टेष्ट मान्यता पाउन धेरै समय पर्खनु नपर्ने बताउँछन् । सन्यासपछि रूपन्देहीमा एकेडेमी सञ्चालन गरी प्रशिक्षकका रूपमा सक्रिय गौचन भन्छन्, ‘२०१० सम्म अफगानिस्तान क्रिकेट कहाँ थियो, २०२० यता त्यो टिम कहाँ छ ! त्यसकै तुलना गर्नुस् !’
तस्वीरहरू : विकास श्रेष्ठ र आर्यन धिमाल/अनलाइनखबर
 
                    










 २०८० वैशाख  १९ गते २०:२५
                        २०८० वैशाख  १९ गते २०:२५                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4