+
+
विचार :

शिकारी राज्यमा टोपबहादुर र छोराहरू

भुटानी शरणार्थीहरू नेपालमा आएर बसेको कुरा मानवीय संवेदनासँग जोडिएको विषय थियो । उनीहरू आफ्नो देश फर्कन नपाए पनि तेस्रो देश पठाउने कुरामा चाहिने जति गम्भीरता नेपालका कतिपय मान्छेको थिएन भन्ने यसले देखाउँछ । के थाहा यो प्रकरणमा संलग्न पात्रहरू मन्त्रीभन्दा अझै माथि पनि छन् कि ? किनभने यस्ता काम मन्त्रीले मात्रै पनि सक्दैन ।

दिनेश प्रसाईं दिनेश प्रसाईं
२०८० वैशाख २० गते १९:१५

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएको भन्दै यतिबेला प्रहरीले नेता, तिनका छोरा, सल्लाहकार, सरकारका सचिव आदिलाई पुर्जी काटिरहेको छ । यसबाटै थाहा हुन्छ, यति ठूलो स्तरको अपराध उच्च तहको राजनीतिक तथा प्रशासकीय संलग्नता विना सम्भव छैन ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी काटिएका सचिव, मन्त्रीपुत्रहरू, मन्त्रीका सुरक्षा सल्लाहकार यसका दृष्टान्त मात्रै हुन् । यस्ता दृष्टान्त अरू पनि छन्, समयक्रममा उजागर हुँदै जालान् । कतिको त उजागरै नहोला पनि ।

किनभने यसरी आफू शक्तिमा गएर राज्यलाई सकेसम्म शिकार खेल्नुपर्छ भन्ने सोचाइ यहाँ जहाँतहीं हावी छ । यस्तै कारणले राज्य नै यसैका लागि त होइन भन्ने प्रश्नहरू समेत उठ्न थालेका छन् ।

ठूला अपराध एक्लै गर्न सम्भव नहुने भएपछि अपराधीले गुट बनाउँछ । राज्यमा धेरैवटा गुटको पहुँच बन्दै जान्छ । ती गुटहरूले अपराधका लागि सहज हुने गरी सञ्जाल बनाउँछन् । यो एकदमै शक्तिशाली हुन्छ किनभने मन्त्री, दलाल, सल्लाहकार नै यसमा सामेल हुन्छन् । कतिपय अवस्थामा प्रहरीकै अधिकारीहरू पनि मिसिएका हुन्छन् ।

कुनै पनि राज्य बन्ने चरण हुन्छन् । यस्तै एउटा चरण हो, शिकारी कालखण्ड । शिकारी कालखण्डमा अपराध गर्ने समूहले राज्यलाई नै शिकारी राज्यमा परिणत गरिरहेको हुन्छ । राज्यशक्ति भनेको जनताका लागि या विकासका लागि होइन, आफूले लुट्नका लागि चाहिने हो भन्ने सोच शिकारी राज्यमा हुनेगर्छ ।

शिकारी राज्य चलाउनका लागि माथिल्लो तप्कामा बसेका मानिसहरू अरू बेला केही गर्दैनन् । केवल कतिखेर अवसर आउँछ, कहाँनेर आफूलाई फाइदा छ भनेर गिद्धले जसरी ढुकेर बस्छन् । कहाँनेर भनेर पुग्छ, कहाँनेर गुण्डागर्दी गर्नुपर्छ, कहाँनेर काम अड्काइदिए पुग्छ, कुन कुन तरिकाले फाइदा लिन सकिन्छ, यी गिद्धहरूलाई राम्रो गरी थाहा हुन्छ ।

अहिले हामी शिकारी कालखण्डमै छौं । यसरी लुटेर, ठगेर आएको पैसा नेपालमा राख्ने पनि कुरा छैन । किनभने देशमा लगानी गर्दा प्रतिफल आउँदैन । फेरि आफूले जस्तै अर्कोले लुटिदेला । त्यसैले यसरी आर्जन गरेको सम्पत्ति सीधै विदेश पुर्‍याउन यस्तो जमात सक्रिय रहन्छ ।

अहिले हामी शिकारी कालखण्डमै छौं । यसरी लुटेर, ठगेर आएको पैसा नेपालमा राख्ने पनि कुरा छैन । किनभने देशमा लगानी गर्दा प्रतिफल आउँदैन । फेरि आफूले जस्तै अर्कोले लुटिदेला । त्यसैले यसरी आर्जन गरेको सम्पत्ति सीधै विदेश पुर्‍याउन यस्तो जमात सक्रिय रहन्छ ।

एकाध घटनाको कुरा होइन यो, किनभने राजनीतिक संस्कार नै यही किसिमले अघि बढेको छ । ठूला दलहरू शिकारी संस्कारमा निर्लिप्त छन् । नयाँ जो आएका छन्, तीमध्ये कोही विचार केही होइन, डेलिभरी ठूलो कुरा हो भन्दैछन् । आफ्नो फोटो कसरी देखाउँदा फ्यान फलोइङ बढ्छ भनेर विचार गर्छन् । तत्कालको फाइदाका लागि नेटवर्क बनाउने संस्कार हावी भएपछि राज्यमा शिकारी सोचकै विस्तार हुने हो ।

कतिपय घटना त राजनीतिक शक्तिका आधारमा दबाउने कोसिस हुन्छ । कुनै काण्डमा चाहिं अनुसन्धान सुरु भए पनि प्रहरीले मुद्दा लैजाँदै कमजोर बनाएर लैजान्छ । त्यसपछि पनि विभिन्न खेल हुन्छन् । यस्ता विषयलाई गम्भीर मानेर कडाइका साथ नियमन गर्ने संस्थाहरू बनिसकेका छैनन् ।

कतिपयले भन्छन्, ‘विगतमा युद्ध गरेर आएका, जीवनकै बलिदान गर्न तयार भएकाहरू, आफ्नै घरखेत समेत पार्टीलाई बुझाएर हिंडेकाहरू अहिले कसरी सम्पत्ति आर्जनका लागि जुनसुकै हर्कत गर्न पनि पछि नपर्ने हुँदै गएका ? खासमा अहिले संलग्न नेता, तिनका परिवारहरूले त्याग बलिदान बिर्सेको धेरै भइसक्यो । त्यसैले अझै पनि नागरिकहरूका लागि छक्क पर्नुपर्ने कुरा छैन ।’

भुटानी शरणार्थीहरू नेपालमा आएर बसेको कुरा मानवीय संवेदनासँग जोडिएको विषय थियो । उनीहरू आफ्नो देश फर्कन नपाए पनि तेस्रो देश पठाउने कुरामा चाहिने जति गम्भीरता नेपालका कतिपय मान्छेको थिएन भन्ने यसले देखाउँछ । के थाहा यो प्रकरणमा संलग्न पात्रहरू मन्त्रीभन्दा अझै माथि पनि छन् कि ? किनभने यस्ता काम मन्त्रीले मात्रै पनि सक्दैन ।

समाजशास्त्री प्रसाईंसँग अनलाइनखबरले गरेको कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?