+
+

चार वर्षसम्म पनि पार्कमा सरेनन् सालिक

विकास रोकामगर विकास रोकामगर
२०८० वैशाख २२ गते २०:१०

२२ वैशाख, पोखरा । पोखरा बसपार्क छेउ ३० को दशकअघिसम्म ‘चाइना चोक’ नामले परिचित थियो । बसपार्क नजिकैको सेती नदीमाथि चिनियाँ सरकारको सहयोगमा पुल बनेपछि सेती पुल ‘चाइनिज पुल’ र चोकको नाम ‘चाइना’ स्थापित हुन पुग्यो ।

पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्ग बनेपछि भने चोकमा पृथ्वीनारायण शाहको शालिक ठडियो, नाम पनि ‘पृथ्वीचोक’ भन्न थालियो । पृथ्वीनारायण शाहकै शालिक अनावरणसँगै विस्तारै पृथ्वीचोक नाम अभ्यस्त हुन थाल्यो ।

०६२÷६३ को जनआन्दोलनका क्रममा आक्रोशित आन्दोलनकारीले पृथ्वीनारायण शाहको सालिक तोडफोड गरे । गणतन्त्र स्थापनापछि शाहको शालिकको ठाउँमा लखन थापाको शालिक उभ्याइयो र नयाँ नामाकरण गरियो, ‘लखन थापा चोक !’

कहिले चाइना, कहिले पृथ्वीचोक त कहिले लखन थापा नाम पाएको यो चोक विवादमुक्त भने हुन सकेको छैन । ०७४ असोज ९ गते मध्यरातमा पोखरा महानगरपालिकाले लखन थापाको शालिकमाथि डोजर चलाएको थियो ।

स्थानीय र सरोकारवाला निकायसँग समन्वयबिना शालिक भत्काइएको भन्दै तत्कालीन मेयर मानबहादुर जिसीको मगर समुदायसम्बद्ध संघसंस्थाले चर्को आलोचना गरे । त्यतिबेला तत्कालीन मेयर जिसीले चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको तर्क गरेका थिए । तर नेपाल मगर संघसहितका विभिन्न जनजाति समुदायले नाराबाजीसहित चर्को विरोध गरेपछि महानगर पछि हट्यो ।

जनजाति समुदायसँग महानगरले २४ घन्टाभित्रै त्यहाँ शहीद लखन थापाकै सालिक राख्ने सहमति गर्‍यो । तर सहमतिविरुद्ध क्षत्री समाज आन्दोलित बन्यो । क्षत्री समाजसँग पनि मेयर जिसीले फेरि त्यहाँ कुनै सालिक नराख्ने सहमति गरे ।

एकैदिन फरक फरक समुदायसँग फरकफरक सहमति गरेपछि सालिक विवाद साम्य हुनुको साटो चर्कियो । महानगरले दुवै पक्षलाई सन्तुष्ट बनाउन पोखरा जामुनबोटमा शहीद पार्क बनाउने र पोखरा उपत्यकाभरि भएका सबै सालिक एकै ठाउँमा व्यवस्थित गर्ने उपाय निकाल्यो । जामुनबोटको करिब ५६ रोपनी जग्गामा शहीद पार्क बनाउने महानगरको योजना बन्यो ।

चोकमा रहेका सालिक हटाउँदा आइल्यान्ड चाक्लो हुने र ट्राफिक व्यवस्थापनमा सहयोग हुने महानगरको तर्क थियो । योजनाअनुसार महानगरले आर्थिक वर्ष ०७५/०७६ बाटै बजेट विनियोजन गरेर काम अघि बढायो । तर ५ वर्ष बितिसक्दा पनि उपत्यका भरका सबै सालिक पूर्ण रुपमा स्थानान्तरण हुन सकेका छैन । अहिलेसम्म त्यहाँ पृथ्वीनारायण शाह, भीमसेन दाहाल, रवीन्द्र अधिकारी, योगेन्द्र शेरचन लगायतको मात्रै सालिक स्थानान्तरण गरिएको छ ।

पृथ्वीचोकबाट सालिक सर्‍यो, विवाद सरेन !

नामकै विषयमा राजनीतिकरण हुँदै आएको पृथ्वी/लखनचोकबाट पृथ्वी नारायणको सालिक स्थानान्तरण त गरियो, तर विवाद अन्त्य भएको छैन ।

तत्कालीन समयमा महानगरले त्यहाँ लखन र पृथ्वीनारायण दुवैको सालिक हटाएर जामुनबोटमा राख्ने सहमति गरे पनि योजना कार्यान्वयनमा ढिलाइ गर्दा मगर समुदायले २०७५ फागुन १ गते राति लखन थापाको पूर्णकदको सालिक उभ्याए ।

पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले लखन थापाको सालिकमुनि पृथ्वीनारायणको तस्वीर राखेको छ (हेर्नुहोस् सुरूको तस्वीर) । पृथ्वी जयन्तीमा राप्रपा कास्कीले सालिकमुनि शाहको तस्वीर राखेका हो ।

अहिले यही विषयलाई लिएर विवाद सुरु भएको छ । बिहीबार नेपाल मगर संघ गण्डकीले ‘लखन चोक’बाट पृथ्वीनारायण शाहको तस्वीर हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई ज्ञापन पत्र बुझाएको छ ।

जवाफमा सिडिओ केसीले उक्त विवाद व्यवस्थापनको जिम्मेवारी महानगरको भएकाले सरोकारवाल निकायबीच समन्वयमा समस्या समाधान गर्न सुझाव दिएका थिए ।

बनिनसक्दै जीर्ण बन्दै शहीद पार्क

बहुवर्षे योजना अन्तर्गत करिब ३ करोड रुपैयाँ लगानी गरिसकेको राष्ट्रिय विभूति तथा शहीद पार्कको अवस्था भने अहिले बिजोग छ । संरक्षणको अभावमा पार्कका संरचना भत्किन सुरु गरिसकेका छन् भने सालिकका रङ पनि उड्न लागिसकेको छ ।

०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका तत्कालीन बहालवालामन्त्री रवीन्द्र अधिकारीको सालिकमा समेत क्षति पुगिसकेको छ । शालिकको दाँया हातका औंलाहरु नै भाँच्चिएर गइसकेका छन् ।

पार्क व्यवस्थापनका लागि महानगरले मेयर संरक्षक र तत्कालीन मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सना सदस्य सचिव रहेको समिति गठन गरेको थियो । यो समिति मेयर जिसीको कार्यकाल समाप्तिसँगै स्वतः निष्कृय भयो ।

महामनगरको नयाँ नेतृत्वले नयाँ समिति गठन नगर्दा पार्क व्यवस्थापन अलपत्र परेको बताउँछन् तत्कालीन सदस्य सचिव तिमिल्सिना । ‘अहिलेको नेतृत्वले समिति गठन गरेर संरक्षण गर्नुपथ्र्यो, ठेक्का आह्वान गरेर आम्दानी गर्नुपर्थ्यो ,’ उनले भने, ‘किन समिति गठन भएको छैन ।’

पार्क निर्माण भइसकेपछि पहिलो चरणमा अवलोकनका लागि टिकटको व्यवस्था समेत गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा टिकटबाट १० लाख रुपैयाँ आम्दानी गरेको पोखरा महानगरले यसपटक ठेक्का लगाउन नसक्दा उक्त आम्दानीसमेत गुम्ने निश्चित छ ।

पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले पार्क व्यवस्थापन र योजनाअनुसार सालिक स्थानान्तरण प्रक्रियामै रहेको जानकारी दिए । हाल महेन्द्रपुलमा रहेको भीमसेन दाहालको सालिक सार्ने अन्तिम तयारीमा रहेको बताए ।

‘दाहालको परिवारसँग पनि सहमति लिइसकेका छौं । महेन्द्रपुलमा अब झन्डा पार्क बन्ने भएपछि केही समयभित्रै सालिक सार्छौं,’ तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘पृथ्वी चोकको विषयमा पनि हामी प्रक्रियामै छौं । केही समयमा टुंगो लाग्छ ।’ उनले समिति गठनको विषयमा पनि अध्ययन भइरहेको र केही समयमा कार्यपालिकाबाटै टुंगो लगाइने उनले जानकारी दिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?