+
+

बीमाको दायरामा ४४.५५ प्रतिशत नागरिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १९:५७

२२ वैशाख, काठमाडौं । नेपालमा ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । बीमा प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ ।

गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बीमाको दायरामा रहेकोमा एक वर्षमा ७ प्रतिशत विन्दु भन्दा बढीले वृद्धि भएको छ । उक्त तथ्यांकमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेत समावेश रहेको प्राधिकरणले जनाएको छ ।

चैत मसान्तसम्म १ करोड ४१ लाख ६५ हजार ९९८ बीमलेख जारी भएको छ । जसमध्ये जीवन बीमालेख संख्या ५५ लाख ७२ हजार ५२ वाट पुग्दा म्यादी तथा लघु म्यादी जीवन बीमालेख संख्या ७१ लाख ३४ हजार ६३१ र वैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ५२ हजार ८२७ पुगेको बीमा प्राधिकरणले जनाएको छ ।

२०७८ चैत मसान्तमा १ करोड १७ लाख ९१ हजार ६९८ रहेको बीमालेख संख्या एक वर्षमा २०.१४ प्रतिशतले वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । वैदेशिक रोजगार जीवन बीमालाई हटाउँदा भने बीमाको दायरामा आएको नागरिकको ३९.७४ प्रतिशत पुगेको बीमा प्राधिकरण्को तथ्यांक छ । गत आवको तेस्रो त्रैमासमा ३४.५२ प्रतिशत रहेको थियो । यस्तै म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार जीवन बीमालाई हटाउँदा भने जीवन बीमा गर्ने नेपाली १७.४३ प्रतिशत पुगेको छ । एक जनाले एक भन्दा बढी बीमालेख खरिद गरेको हुनसक्ने भएकोले कुल जारी भएको बीमालेखामा ५ प्रतिशत घटाएर बीमाको दायरामा रहेको नागरिकको प्रतिशत निकालिएको बीमा प्राधिकरणले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीले कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढी हो । बीमालेख संख्या २० प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि जीवन बीमा कम्पनीको कुल बीमाशुल्क भने २.१४ प्रतिशतले मात्रै वृद्धि भएको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।

निर्जीवन बीमालेख घट्यो, प्रिमियम बढ्यो

जीवन बीमामा बीमालेख संख्याअनुसार बीमाशुल्क नबढ्दा निर्जीवन बीमामा भने बीमालेख घट्दा पनि बीमाशुल्क भने बढेको छ । चालु आवको तेस्रो त्रैमासम्म निर्जीवन बीमा कम्पनीले २१ लाख ६६ हजार ३२१ बीमालेख जारी गर्दा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

गत आवको सोही अवधिमा २८ अर्ब ७० करोड १२ लाख बीमाशुल्क संकलन गरेकोमा चालु आवमा बीमाशूल्क ४.५८ प्रतिशतले बढेको छ । तर बीमालेख संख्या भने ०.४२ प्रतिशतले गिरावट भएको छ । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीले २१ लाख ७५ हजार ४१४ बीमालेख जारी गरेका छन् ।

चैत मसान्तमा बीमा कम्पनीहरुको कुल कार्यालय संख्या ३ हजार १५४ र कर्मचारी संख्या ११ हजार ४५३ पुगेकाछन् । बीमा कम्पनी मर्जरमा जाँदा बीमा क्षेत्रमा रोजगारी प्राप्त गरेका ३.३२ प्रतिशत कर्मचारीले एक वर्षको अवधिमा रोजगारी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?