+
+

एप्पलको आम्दानी निरन्तर घट्दो, आइफोनको बिक्रीमा भने कीर्तिमान

एजेन्सी एजेन्सी
२०८० वैशाख २३ गते ११:२८

एप्पल कम्पनीका उत्पादनहरूको बिक्री ओरालो लाग्ने क्रम निरन्तर जारी रहेको छ । विश्व अर्थतन्त्र सुस्त बन्दा उपभोग्य सामानहरुको मूल्यवृद्धिले थलिएका धेरै उपभोक्ताहरुले एप्पल कम्प्युटर तथा आइप्याड खरिद नगर्दा त्यसले कम्पनीको समग्र आम्दानीमा असर पारेको हो ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष सन् २०२३ को प्रथम त्रैमासिकमा कम्पनीको कुल आम्दानीमा गत वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले गिरावट आएको छ । पछिल्लो तीन महिनामा एप्पलको आम्दानी ९४ अर्ब ८० करोड डलरमा झरेको छ ।

योसँगै एप्पलको आम्दानीमा लगातार दोस्रो त्रैमासिकमा पनि गिरावट आएको हो । यद्यपि विश्व बजारमा आइफोनको माग तथा बिक्री अहिले पनि उच्च रहेको र विश्वका नयाँ बजारहरुमा आइफोनले आफूलाई स्थापित गर्दै गएका कारण गिरावटको दर यसअघि प्रक्षेपण गरिएको जस्तो खराब भने छैन ।

एप्पल सीईओ टिम कुकले खासगरी पछिल्लो समय एप्पलले भारतमा गरिरहेको वृद्धिलाई चर्चा गर्ने गरेका छन् ।

एप्पलले पछिल्लो समय भारतमा व्यापक लगानी गरिरहेको छ । भारतमा पहिलोपटक एप्पलका आधिकारिक स्टोरको उद्घाटन गर्न कुक स्वयं गत महिना भारत पुगेका थिए ।

भारतमा एप्पल ब्राण्डप्रतिको रुचि देख्दा आफू निकै उत्साहित तथा खुसी रहेको उनले बताएका छन् ।

वास्तवमा विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्येको एक एप्पलको बिक्रीदरलाई विश्वको खुद्रा बजारको क्षमताको सूचकको रुपमा सबैले नजिकबाट नियाल्ने गर्दछन् ।

आफूले चुनौतीपूर्ण बृहतअर्थतन्त्रीय वातावरणको सामना गरिरहेको भन्दै एप्पलले आर्थिक अनिश्चितता तथा जीवनयापन महंगो बन्दै जाादा उपभोक्ताहरुको क्रयशक्ति घट्दै गएको र त्यसले आफ्ना प्रडक्टहरुको बिक्रीमा प्रत्यक्ष असर पारेको जनाएको छ ।

एप्पलले यसअघि नै बितेको जनवरीदेखि मार्च सम्मको त्रैमासिकमा कम्पनीको बिक्रीदर पाँच प्रतिशतसम्मले गिरावट हुनसक्ने चेतावनी लगानीकर्ताहरुलाई दिएको थियो । तर आइफोनको बिक्रीमा १.५ प्रतिशतको बढोत्तरी आएका कारण कम्पनीले कूल बिक्रीदरमा ३ प्रतिशत मात्रै गिरावट बेहोर्नुपर्यो । पहिलो त्रैमासिकमा एप्पलले आइफोन बिक्रीबाट ५१ अर्ब ३० करोड डलर कमाएको छ । यो भनेको वर्षको पहिलो त्रैमासिकमा आइफोन बिक्रीबाट भएको अहिलेसम्मकै ठूलो आम्दानी हो ।

खासगरी दक्षिण एसिया र ल्याटिन अमेरिकामा आइफोनको उच्च मागका कारण आइफोनको बिक्रीले इतिहास रच्न सफल भएको हेा । त्यस्तै पहिलो त्रैमासिकमा एप्पल म्युजिक, एप्पल न्यूज तथा एप्पल पे लगायतबाट भएको आम्दानीमा ५ प्रतिशतले वृद्धि भई कूल २० अर्ब डलर नाघेको छ ।

विश्वको स्मार्टफोनकेा सबैभन्दा ठूलो मध्येको एक बजार भारतमा यो त्रैमासिकमा आइफोनकेा समग्र बिक्रीदर दोहोरो अंकले बढेको छ । भारतमा मध्यमवर्गीय जनसंख्या वृद्धि हुँदै गएकाले एप्पलका लागि भारतीय बजारमा विस्तारको ठूलो अवसर रहेको सिइओ टिम कुकले बताएका छन् ।

त्यस्तै बितेको पहिलो त्रैमासिकमा युरोपेली बजार समेत एप्पलका लागि सुखद रह्यो । अन्य सबैजसो स्मार्टफोन कम्पनीले युरोपमा गिरावट झेलिरहादा एप्पलको आम्दानी भने २ प्रतिशतले घटेको छ ।

तर विश्वको सबैभन्दा ठूलो बजारको रुपमा रहेकेा अमेरिकामा भने एप्पलको कुल बिक्रीमा ७ प्रतिशतले गिरावट आएको छ ।

पहिलो त्रैमासिकमा एप्पलको कूल आम्दानी ३ प्रतिशतले घट्दा मुनाफामा समेत सोही अनुपातमा गिरावट आएको छ । पहिलो त्रैमासिकमा एप्पलले कूल २४ अर्ब २० करोड डलर मुनाफा गरेको छ ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?