+
+

सम्बन्ध कि सम्पर्क ?

अहिलेको युवा पुस्ता क्षणिक आनन्द, मोज मस्ती, पपुलर संस्कृतिमा रमाउने गरेको पाइन्छ । तर वास्तविक दीर्घकालीन आनन्दको अनुभूति लिनका लागि अन्तस्करणदेखि रोपिएको क्लासिकल संस्कृतिको जगमा उभिएर सम्बन्ध निर्माण गर्न सकिन्छ ।

दीपकराज जोशी दीपकराज जोशी
२०८० वैशाख २३ गते १४:४१

आधुनिकीकरण र विश्वव्यापीकरण सँगसँगै हामी मानव जातिले जीवनशैली, रहनसहन, सामाजिक, आर्थिक लगायतका बहुआयामिक परिवर्तनको अभ्यास गरिरहेका छौं । क्षणिक रूपमा मानवीय स्वाभाव स्वार्थी, आत्मकेन्द्रित, भौतिक सुखसुविधा भोगी देखिएता पनि वास्तविक रूपमा मानवीय स्वभाव अलि फरक हुन्छ ।

मानिस भौतिक सुखसुविधाले मात्र दीर्घकालीन रूपमा खुसी हुन सक्दैन । तसर्थ सबैको भलो सोच्ने, सामाजिक, सहयोगी, अध्यात्मिक बन्दछ अर्थात् बाह्यभन्दा आन्तरिक सुखभोगको चाहना राख्ने गर्दछ ।

मानवीय जीवन सम्पर्कमा बाँच्ने जीवन होइन, यो त सम्बन्ध निर्माणको जगमा बनेको हुन्छ । जीवजन्तु समेत एकअर्काको सम्पर्कमा रहेर अर्थात् अन्य तौरतरिकाबाट बथान समूहमा बस्ने गर्दछन् । उनीहरूबीच पनि प्रेम, माया र सामूहिक भावना हुने गर्दछ तर समय र परिस्थितिले एकअर्कालाई विस्तारै बिर्सने, छुट्टिने लगायतका विभिन्न परिवेशले सम्बन्ध निर्माण गर्ने अवस्था रहेको हुँदैन । मानवीय जीवन यस्तो जीवन हो, जसमा हरेक कुरा संभव छ । मात्र चाहना हुनु र मानव हुनुको कर्तव्यबोध गर्नु पर्दछ ।

आधुनिकीकरण सँगसँगै विपश्यना, ध्यान केन्द्र, योग केन्द्र लगायतका थुप्रै यस्ता केन्द्रहरूको स्थापना तीव्रगतिमा भइराखेको छ र यस्ता केन्द्रहरूमा मान्छेहरूको चाप पनि राम्रै छ ।
मान्छेको अन्तस्करणमा मानवीय सर्वोत्कृष्ट गुण रहेको हुन्छ, तर समय परिस्थिति, वातावरण, साथी– संगत र सतही क्षणिक विषयलाई वास्तविकता ठानेर जब हामी हाम्रो माइन्डसेट निर्माण गर्न थाल्छौं तब हामी सम्पर्कमा बाँच्न थाल्छौं ।

अहिलेको युवा पुस्ता क्षणिक आनन्द, मोज मस्ती, पपुलर संस्कृतिमा रमाउने गरेको पाइन्छ । तर वास्तविक दीर्घकालीन आनन्दको अनुभूति लिनका लागि अन्तस्करणदेखि रोपिएको क्लासिकल संस्कृतिको जगमा उभिएर सम्बन्ध निर्माण गर्न सकिन्छ ।

कता गइरहेको छ हाम्रो समाज ?

सामाजिक सञ्जालको प्रयोग सँगसँगै भर्चुअल संसारमा रमाउनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सामाजिक सञ्जालमा गरिएका आर्टिफिसियल संवाद तथा आई कन्ट्याक्ट र सामिप्यता विनाको सञ्चारले मान्छेहरू बीच कस्तो सम्बन्ध निर्माण भइराखेको छ ? मात्र सम्पर्क बढिरहेको छ र विकृति विसंगति सँगसँगै आपराधिक क्रियाकलाप पनि बढिरहेका छन् ।

वास्तविकता नबुझी अन्धभक्त भएर कसैको आलोचना–समालोचना गर्ने, तथानाम अपशब्द प्रयोग गरेर गाली बेइज्जती गर्ने गैरजिम्मेवारीपूर्ण प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ ।

सम्पर्कका कारणले कसैको देवत्वकरण गर्ने तथा अर्को पक्षलाई राक्षसीकरण गर्ने काम भइरहेको छ । यसले समाजलाई त्यसमा पनि युवापिँढी जसले सामाजिक सञ्जालको प्रचुर प्रयोग गर्दछ । समाज र युवा पिँढी गलत बाटोमा अग्रसर हुन थालेमा देशको भविष्य उज्यालो बन्न सक्दैन । कतिपय विषयवस्तुहरू हामीहरू सामाजिक संजालमा आएका फेक आइडी र गलत सोच भएका प्रयोगकर्ताका समाचारका आधारमा धारणा बनाइरहेका छौं ।

सामाजिक सञ्जालको दुरूपयोग गर्नका लागि कतिपय राजनीतिक पार्टी तथा संघ संस्थाहरूले साइबर समूह नै बनाएर अर्को पक्षलाई उछित्तो काढ्ने र आफ्नो निहीत स्वार्थ पूर्तिका लागि गलत सूचना संप्रेषण, प्रवाह गर्ने कार्य सामूहिक रूपमा नियोजित ढंगले गरिरहेका छन् । यसको असर प्रत्यक्ष परोक्ष रूपमा समाजका सबै पक्षलाई पर्ने गर्दछ ।

हाम्रो समाजको आधारशीला

नेपाली समाज बेलुकीपख आउने पाहुनालाई अतिथिको सम्मान दिएर आदर सत्कारका साथ घरमा राख्ने चलन तथा गुठी, भोज, सामाजिक कार्य, अर्मपर्ममा निस्वार्थी सामूहिक भावनाबाट निर्देशित समाज हो, तर यस्ता समाजका अमूल्य चलनहरू लोप भइराखेका छन् । प्रत्येकजसो टोल समाजमा सही, सत्य सूचना संप्रेषण आधिकारिक जिम्मेवार व्यक्तिबाट हुने गर्दथ्यो भने भ्रामक अफवाह फैलाउनेलाई दण्डित गर्ने गरिन्थ्यो, जसले गर्दा समाजमा थिति रहन्थ्यो ।

आजभोलि पनि नेवार, गुरुङ, मगर लगायतका थुप्रै आदिवासी जनजाति समुदायमा केही हदसम्म थिति जोगाउने प्रचलन चलिरहेको छ । यसले समुदायका सदस्यहरूबीच सम्बन्ध कायम रहिरहेको छ र उनीहरूबीच प्रगाढ आत्मियता छ । अहिले पनि पर्यटकहरू नेपालमा नेपाली समाजको सामिप्यता, आत्मीयता, हार्दिकता, न्यानोपनका कारण उनीहरूका लागि सबैभन्दा ठूलो विषयवस्तु बन्ने गर्दछ ।

अधिकांश विकसित तथा पश्चिमी मुलुकहरूमा मान्छेहरू बीच केवल सम्पर्क निर्धारण भइरहेको छ, जसले उनीहरूलाई आत्मसन्तुष्टि दिइरहेको छैन । जुनसुकै परिस्थिति, कालखण्ड, समयमा पनि हामी सबैको सम्बन्ध निर्माण गर्ने चाहना जीवन्त रहने गर्दछ । अनायासै मान्छेहरूमा असन्तुष्टि, एक्लोपन र विरक्ति भाव आएको पत्तै हुँदैन र अन्ततः हामी भौंतारिरहने गर्दछौं ।

पछिल्लो पटक फेलोसिप अथवा सम्बन्ध निर्माणका लागि विभिन्न क्लबमा आबद्ध हुने तथा सामाजिक कार्यमा लाग्ने अभ्यास बढ्दो छ । तसर्थ जुनसुकै स्वरूपमा भए पनि सम्बन्धको जगमा निर्माण भएको नेपाली समाजको विशेषता अनुरूपको सम्बन्धमा बाँच्ने अभियानमा लागौं ।

लेखक शिक्षाकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?