+
+

जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:४६

२४ वैशाख, काठमाडौं । जेठ महिनादेखि संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गरिने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति जुटेको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीमा संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमबारे गरिएका व्यवस्था जेठदेखि लागू हुने बताए ।

नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने व्यवस्था छ ।

प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम महिनामा दुई पटक गर्ने उल्लेख थियो । तर, पाँच वर्षको अवधिमा एकपटक मात्रै यो कार्यक्रम संचालन भएको थियो ।

यसपटक महिनामा एक पटक मात्रै गर्ने गरी नियमावली परिमार्जन गरिएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ ।’

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको दिन कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने पनि उनले बताएका छन् ।

सभामुख घिमिरेले सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकमार्फत संसद बैठकमा निरन्तर उपस्थित हुन मन्त्री र प्रधानमन्त्रीलाई समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानुनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ । नियम ५६ मा प्रत्यक्ष प्रश्न गर्न सकिने उल्लेख छ ।

नियमावली अनुसार प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने हुन्छ । उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नुपर्ने भनिएको छ ।

नियमावली अनुसार यस कार्यक्रम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्रजना सदस्यले प्रश्न सोध्न सक्नेछन् । प्रत्येक सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?