+
+

कांग्रेसभित्र र बाहिर हलचल ल्याउने गगनको स्टाटस

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते २२:२१

२४ वैशाख, काठमाडौं । शुक्रबारको कांग्रेस पदाधिकारी बैठक पनि तिक्ततामै सकिएको थियो । त्यसको सुरुवात भने दुई दिनअघि नै सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भइसकेको थियो ।

अक्सर ‘रिल्याक्स्ड’ रहने सभापति शेरबहादुर देउवा उपचुनावपछि भने तनावमा छन् । उनी निकट एक नेताले भने अनुसार ०७४ को चुनावमा कांग्रेसले वाम गठबन्धन सामु धेरै सिट गुमाउँदा पनि उनी यस्तो तनावमा थिएनन् । ‘कम्युनिस्ट मिलेपछि हारिहालिन्छ नि’, उनी एउटा निपात र अरु तीन शब्द बोलेर विरोधका स्वरहरुलाई सामसुम पार्थे ।

बुधबार धुम्बाराही निवासको पदाधिकारी बैठकमा भने देउवा स्वतन्त्र उम्मेदवारहरुले पाइरहेको समर्थनप्रति चिन्तित देखिन्थे । पोहोर वैशाखको स्थानीय चुनावदेखि मंसिरको आम चुनाव, अनि केही साताअघिको उपचुनावका क्रममा प्राप्त नतिजाहरुबारे देउवाले आफ्नो संक्षिप्त बुझाइ बैठकमा सुनाए । कांग्रेस जगाउनुपर्ने बताए । कुनै ठोस कार्ययोजना दिएनन् । बरु सजिलो सूत्र थमाए– भ्रातृ संस्थाहरुमा रिक्त पद पूर्ति गरिहालौं । त्यसका लागि उनले दुई महामन्त्री र मुख्य सचिवलाई कार्ययोजना बनाउन लगाए ।

देउवा बोलिसक्नेबित्तिकै महामन्त्री गगन थापा पड्किए, ‘पार्टीमा सर्वेसर्वा हुनुभएको छ । सबै निर्णय एकलौटी गर्नुहुन्छ । केन्द्रीय सदस्यहरु एक्लै थप्नुभयो । भ्रातृ संगठनहरुमा सभापति पनि आफैं छान्नुभयो । अरु पदमा हामी किन ? त्यो पनि आफैं गरिहाल्नुहोस् ।’

थापाले अहिलेसम्म पार्टीलाई नीति, पद्धति बेगर हिँडाएको जिम्मेवारी देउवाले लिनुपर्ने बताए । महामन्त्रीका रुपमा कार्यकर्ताहरुले निर्वाचित गराए पनि पार्टीमा भूमिकाविहीन बनाएर के गर्न खोजेको हो भनी प्रश्न गरे ।

बैठकमा सहभागी एक पदाधिकारीले अनलाइनखबरलाई आइतबार साँझ बताए अनुसार देउवाले नरम भाषामा थापालाई जवाफ दिन खोजे, ‘अब तपार्इं पनि नेता भइसक्नुभयो यार । के गर्ने हो प्लान गर्नुहोस् ।’

शुक्रबार बसेको अर्को बैठकमा पनि त्यसैको पुनरावृत्ति भयो । खासमा थापा देउवासँग झोंक्किए पनि त्यत्तिकै मात्रामा रिसाएका छन् अर्का नेता शेखर कोइरालासँग । शब्दमा हिजोआज मानिसहरुले ‘शेखर–गगन समूह’ भन्ने गरे पनि आन्तरिक रुपमा भावनात्मक ऐक्य बाँकी छैन ।

यस्तैमा हुन गएको मन्त्रिपरिषद विस्तारले पनि थापालाई त्राण दिएन । अघिल्लो साता र आज आइतबार गरी नवौं र दसौंपल्ट विस्तारित मन्त्रिपरिषद्मा पनि थापा र अर्का महामन्त्री शर्माको चाहना प्रकट हुन पाएन । देउवाले कि त आफ्ना, कि त शेखर कोइराला पक्षका मान्छेहरुलाई नै बढ्ता महत्व दिँदा आफू छायाँ परेको महामन्त्री थापाले अनुभूत गरेका छन् । उनी निकटस्थ नेताहरुले थापा पार्टीभित्र र बाहिर शृंखलाबद्ध प्रहारको शिकार हुनुपरेको बताएका छन् ।

‘जीवन परियार, प्रदीप पौडेल र बद्री पाण्डेभित्रबाट मन्त्री बनाउनुपर्ने थियो, राज्यमन्त्री पनि पाए मुक्ताकुमारी यादवको’, थापा निकट स्रोतले भन्यो, ‘तर शेखर दा अरु नै दुई मन्त्रीको नाम दिएर सिंगापुर उड्नुभयो । गगनजीले फोन गर्दा पनि उठाउनुभएन ।’

पछिल्लो समय देउवाले शेखरलाई प्रयोग गरिरहेको, त्यसैका आधारमा पार्टीभित्र एकलौटी मच्चाइरहेको थापाको बुझाइ छ । शंका कतिसम्म बढ्दै गएको छ भने मंसिरको चुनावमा प्रत्यक्षतर्फ टिकट वितरण गर्नेदेखि आगामी पार्टी महाधिवेशनमा शेखरलाई आफ्नो समूहको तर्फबाट सभापतिको टिकट दिनेसम्मका आश्वासन देउवाले दिएपछि शेखर मत्थर बन्दै गएको थापाको बुझाइ छ ।

महामन्त्री थापाले अर्का पदाधिकारीसँग भने अनुसार उनी एकदमै दिक्दारीको भावमा छन् । पार्टीमा आफूले बनाएका कुनै पनि योजनालाई अघि बढ्न नदिएको, सबैखाले नियुक्तिहरुमा कुनै परामर्श नगरेको भन्दै थापाले असन्तुष्टि जनाइरहेका छन् ।

‘उपचुनाव कारण होइन, परिणाम हो । यत्ति पनि बुझ्न नसक्ने ?’ थापाले देउवाको आलोचना गर्दै भनेको उद्धृत गर्दै ती पदाधिकारीले सुनाए ।

आगामी रणनीतिबारे थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मसिनो गरी छलफल गरिसकेको उनका निकट सहयोगीले बताए । कांग्रेस नेतृत्वप्रति मानिसहरुमा बढ्दो विकर्षण, नागरिकहरुले नरुचाएको कांग्रेस–माओवादी गठबन्धन लगायत विषयमा कार्यकर्ता पंक्तिमा के सन्देश लगेर जाने भन्नेमा उनीहरुको नियमित छलफल भइरहेको छ ।

ती नेताका अनुसार कार्यकर्ता पंक्ति नै पार्टीसँग एकढिक्का नहुने हो कि भन्ने चिन्ताले महामन्त्रीहरुलाई छोएको देखिन्छ । ‘सभापतिले आफू पनि केही नगर्ने, गर्न चाहनेलाई पनि गर्न नदिने स्थिति उत्पन्न भएको छ’, महामन्त्रीहरुसँग निकट नेताले भने ।

यसै क्रममा आइतबार साँझ महामन्त्री थापाले फेसबुक र ट्वीटरमा लेखे, जुन उनका यसअघिका ट्वीटहरुको भाषाशैलीसँग मेल खाँदैन ।

‘तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो १’ थापाले लेखेका छन् ।

अनलाइनखबरसँग टिप्पणी गर्ने क्रममा देउवा निकट नेताले त्यसलाई थापाको ट्वीटरबाट आए पनि अर्का महामन्त्री शर्माको जस्तो लाग्ने भाषा भएको कटाक्ष गरे । ‘मतलब अलिक अमूर्त र साहित्यिक खालको भन्ने अर्थमा’, ती नेताले भने ।

थापाको ट्वीट हेर्दाखेरि अमूर्त भए पनि यसका अर्थहरु उनीहरु लगाउन सक्षम छन् । सन्निकट संकटलाई त्यसले संकेत गरेको छ । कतिपय कार्यकर्ताहरु कांग्रेस छाडेर नयाँ उदाउँदा पार्टीमा अवसर चहार्दैछन् ।

थापाको ट्वीट प्रति धेरैले पार्टीभित्र विद्रोह या विभाजनसम्मकै संकेतका रुपमा अथ्र्याए पनि उनको भित्री समूह त्यस रुपमा परिभाषित गर्दैन । थापा निकट नेताले भने अनुसार निर्णायक संघर्ष हुन्छ, तर पार्टीभित्रै । त्यसले नयाँ ध्रुवीकरणलाई स्पेस दिनेछ ।

कांग्रेस राजनीतिलाई नियालिरहेका विश्लेषकहरुले पनि त्यस्तो सम्भावित कदमका पछिल्तिर आधारहरु देखेका छन् ।

कांग्रेस राजनीतिलाई विश्लेषण गरिरहेका गेजा शर्मा वाग्लेका अनुसार दुई महामन्त्रीले अहिलेसम्म भएका घटनाक्रम, परिणामविहीन प्रयत्न र धोकाबाट पाठ सिक्न खोजेका छन् । आइतबार थापाले दिएको ट्वीटर÷फेसबुकको संक्षिप्त वक्तव्य त्यसैको संकेत हो ।

‘अहिलेसम्म कांग्रेसमा देउवा र कोइराला समूह गरी दुई ध्रुवमा विभाजित थियो, अब गगन–विश्वप्रकाशले वैचारिक तथा सैद्धान्तिक आधारमा नयाँ ध्रुवीकरण गरी नयाँ समीकरण बनाउन चाहेको देखिन्छ,’ उनले भने, ‘गगनजीले देउवालाई राजनीतिक, सैद्धान्तिक, सांगठनिक र मनोवैज्ञानिक दबाव दिंदै पार्टी रूपान्तरण, पुस्तान्तरण र सुधारका लागि परिणाममुखी पहल मात्रै होइन, निर्णायक संघर्ष नै गर्न खोजेको देखिन्छ । किनभने सुधार र परिमार्जनका दिशामा अघि बढ्ने कि यहीँ रोकिने भन्ने प्रश्न पार्टीभित्र मुख्य बन्दै गएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?