
काठमाडौं । विद्यार्थीलाई कला, संस्कृति र सम्पदाको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको स्टुडेन्ट एम्बेसडरको काठमाडौं संस्करण सम्पन्न भएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजना तथा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको सहकार्यमा भएको कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना विद्यार्थी र सामाजिक विषय पढाउने शिक्षक-शिक्षिकाको सहभागिता थियो ।
बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेको कार्यक्रममा कक्षा ९ र १० को पाठ्यक्रममा उल्लेखित विषयलाई समेत समेटेर नेपाली कला, संस्कृति र सम्पदाको महत्व एवं यसको उपादेयताबारे बताइएको थियो । कार्यक्रममा काठमाडौं उपत्यकाका ६ वटा निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तीन दिनसम्म चलेको यो कार्यक्रमको पहिलो दिन केन्द्रीय विभागका प्राध्यापकहरुले प्रस्तुतीकरण दिएका थिए भने दोस्रो दिन पाटन दरबार क्षेत्र र पशुपति क्षेत्रमा अवलोकन भ्रमणको लागि लगिएको थियो । तेस्रो दिन विद्यार्थीहरुको बुझाइ परीक्षणको कार्यक्रम राखिएको थियो । यसरी कार्यक्रममा सहभागी भएकाहरुलाई संस्थाले स्टुडेन्ट एम्बेसडरको संज्ञा दिएका छन् । उनीहरुलाई आफ्नो क्षेत्र वरपर रहेका सम्पदा, संस्कृति र पुरातात्विक महत्वका धरोहरको संरक्षणमा लाग्न प्रेरित गरिएको थियो ।
यो कार्यक्रम यस वर्षभरिमा देशका आठ ठाउँमा गर्ने लक्ष्य लिइएको आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया 4