+
+

व्यवसाय छाड्नेहरु बढ्दै, शहरभरि सटर खालीका सूचना

अहिले काठमाडौंका पुराना र विस्तारित बजार जताततै निराशाको अवस्था छ । यसले गर्दा व्यवसायबाटै पलायन हुनेहरु बढ्दैछन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० वैशाख २६ गते २०:५०

२६ वैशाख, काठमाडौं । सुन्धारा मलको पाँचौं तलाको ५०९ नम्बरको पसलमा सूचना टाँसिएको छ, ‘…सञ्चालक १ माघ २०७९ देखि सम्पर्कमा नआएको हुँदा सूचना टाँस भएको मितिले ३५ दिनभित्र सम्पर्कमा आएर पसल खाली गराइदिनुहोला ।’

२०७६ सालदेखि चलिरहेको ‘नेट आर्ट स्टुडियो’का सञ्चालक सम्पर्कविहीन भएपछि कर्मचारी सञ्चय कोषसँग सुन्धारा मल ठेक्कामा लिएको दिवा सपना जेभीले वडा कार्यालयमा निवेदन दिएपछि पसल खाली गराउन यो सूचना टाँसिएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर सम्पर्कविहीन हुनेहरुको संख्या बढ्दै गएको छ ।

विगतमा यस्ता पसल र सटरहरु लाखौं रुपैयाँ सलामी लिएर किनबेच हुने गर्थे भने हाल पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरुले त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् ।

सुन्धारा मलको ‘एराइभिङ फेसन वेयर’का म्यानेजर मनोज धमला पछिल्लो समय व्यवसाय गर्नेहरु निराश बनेको बताउँछन् । उनको पसलको स्टकमा २ करोडको सामान थुप्रिएको छ । ‘दिनभरिमा बोहनी गर्न पनि गाह्रो छ,’ उनी भन्छन्,’ पहिले-पहिले दिनको एक लाखसम्म व्यापार हुने ठाउँ सुनसानजस्तै छ ।’

कोरोना महामारीपछि सुस्ताएको व्यापारले अहिलेसम्म दिगो गति लिन नसकेको धमलाको भनाइ छ । ‘स्थानका हिसाबले अन्त ग्राहक नहुँदा पनि यहाँ केही न केही व्यापार हुन्छ, तर पछिल्लो समयमा जुन आर्थिक मन्दी देखिएको छ, त्यसले पसलहरुमा व्यपार सुक्यो’, उनी भन्छन्, ‘युवाहरु धेरैजसो विदेश गएका छन्, यहाँ रहनेहरुसँग आम्दानी कम छ, महंगीले आकाश छोएको छ, ग्राहक रहे न व्यापार रहन्छ ।’

अहिले सुन्धारा मलमै पनि धेरै कवलहरू खाली छन् । सौन्दर्यसम्बद्ध सेवाका लागि जाने ग्राहक केही संख्यामा छन्, तर लत्ता कपडा, जुत्ता, कस्मेटिकलगायतका पसलहरुमा ग्राहक न्यून छन् ।

गल्कोपाखाबाट हालै कपडा पसल बेचेका संगम विष्ट गोंगबुचोकदेखि ठमेलचोकसम्म आइपुग्दाको बाटोमा कयौं सटर खाली भएको बताउँछन् । ‘अहिले व्यापार गरेर बसेकाहरु पनि टिक्न सकिन्छ कि भनेर मात्रै बसेका हुन्’, उनी भन्छन्, ‘दिनभर झिंगा धपाएर बस्नु परेपछि के खाने ?’ त्यसैले उनी अब दुबई जाने प्रक्रियामा लागेका छन् । बेच्न खोज्दा नबिकेपछि भाडा तिरिरहनुभन्दा सामान निकालेर पसल छोड्नेहरु बढेको उनको अनुभव छ ।

कपुरधारामा दुई महिनाअघि एक डेरी पसल किनेकी सञ्जिता आलेलाई अहिले रुनु न हाँस्नु भएको छ । ‘श्रीमानसँगै जापान जान पर्‍यो, चलिरहेको पसल हो, सस्तोमा दिन्छु भनेकाले किनिहालें’, उनले भनिन्, ‘पहिला त राम्रै चल्थ्यो रे । अहिले त मान्छेले दूध दहीमा पनि  खर्च कम गर्न थालेछन् जस्तो छ ।’

कतिपय क्षेत्रमा रोडसाइडमा हुने पार्किङ हटाइएका कारण ग्राहक आउनै नपाएर पनि व्यवसाय सुकेको व्यवसायीहरूको गुनासो छ।  अनलाइन सपिङको बढ्दो ट्रेन्डले केही हदसम्म यस्तो अवस्था बनाउन भूमिका खेलेको हुनसक्ने व्यापारीहरू बताउँछन् ।

दरबारमार्गमा पनि खाली

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीका अनुसार कुनै समय काठमाडौंको चक्रपथभित्र भाडाका खाली पसल-कबल भेटिनु असम्भव प्रायः थियो । तर, अहिले सटर कबलमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् ।

भाडाका भवन र खाली स्पेसहरु पाउन काठमाडौंकै सबैभन्दा कठिन भनेर चिनिने दरबारमार्गकै भवनहरुमा ‘टु-लेट’का बोर्ड देखिन थालेका छन् ।

अहिले दरबारमार्ग नजिकै जमलमा बनेको विश्वज्योति मलको अधिकतम् भाग खाली छन् ।

झट्ट हेर्दा भव्य देखिने धेरै व्यापारिक मलहरू अहिले सुनसान छन् । ग्राहकले भरिने मलका विद्युतीय भर्याङहरु धुलाम्य छन् ।

खुलेका पसलअघि ठडाइएका डमीहरु पनि मलमा खाली भइरहेका सटरका साक्षी जस्तो मात्रै बनेका छन् । ग्राहक नपाएपछि तिनै डमीहरू कपडाहरू फेरिनबाट वञ्चित बनेका छन् ।

ललितपुरको लबिम मल, सुन्धाराको सिभिल मल, सीटीसी मलदेखि काठमाडौंका ठूला भनिएका मलहरुमा पनि खाली सटरहरु देखिन थालेको छ । यस्ता मलमा किनमेल गर्न जाने मान्छे घटेका छन् ।

भवन तयार नहुँदै कवलको भाडा अग्रिम भुक्तानी गरेर बुकिङ लिने विगतको जस्तो अवस्था पनि अहिले छैन । नयाँ बानेश्वरको अल्फाबिटा भवनसँगै बनेको ठूलो व्यवसायिक भवनले एक महिनाभन्दा अघिदेखि ‘टु-लेट’को बोर्ड लगाउँदा पनि अहिलेसम्म पसल, व्यवसाय तथा कार्यालयहरुलाई भित्र्याउन सकेको छैन । यसले बजारमा नयाँ काम गर्न चाहनेहरु पनि हात खोल्न नसकिरहेको देखाउँछ ।

अहिले व्यस्त बानेश्वर चोक आसपासकै क्षेत्रमा थुप्रै ‘भाडा’का सूचना बोर्डहरु देखिन्छन् । अझ बिडम्बना के छ भने लामो समयदेखि त्यस्ता भवनका खाली भाग र कवलहरु भाडामा लिन कोही पनि आएका छैनन् ।

समस्यामा साना व्यापारी

बानेश्वर व्यापार संघका अध्यक्ष नवीन लुइँटेल बानेश्वर क्षेत्रमा २५/३० प्रतिशत सटर भाडा वा बिक्रीमा रहेको बताउँछन् । पसल चलाइरहेका अधिकांश व्यवसायी राम्रो मूल्य आए पसल छाड्ने मनाशय बनाइरहेको उनले बताए ।

‘पहिला आम्दानी राम्रै हुने भएकाले महिनाको ५०/६० हजारदेखि एक लाखसम्म भाडा तिर्न समस्या थिएन, अहिले विश्व बजारमा देखिएको मन्दीको असर र ग्राहकको अभावले व्यापार ठप्पप्रायः भएपछि भाडा तिर्न नै सकस भयो’, उनले भने, ‘बैंकबाट ऋण पाइन्न, गजर्ने टारिदिने सहकारीहरु आफैं समस्यामा छन्, यस्तो बला पसलमा बोहनी नै नहुने भएपछि कसरी टिक्ने ?’  न्युरोडको मूल सडक क्षेत्रमै पनि भाडाका सूचनाहरु टाँसिन थालेको देखेपछि व्यवसायीहरु अत्ताल्लिएको लुइँटेल बताउँछन् ।

बानेश्वर क्षेत्र पर्ने काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसी पछिल्ला दिनमा पसल छाडेर हिँडेपछि सम्पर्कमा नआउने कारणले पसल खाली गराइदिन धेरै निवेदन आउन थालेको बताउँछन् । ‘भाडा नतिरी मान्छे सम्पर्कविहीन भएपछि सटर खाली गराइदिन भन्दै आउने घरधनीको संख्या बढेको छ’, उनले भने ।

‘बजारमा पैसा छैन, उधारो उठ्दैन, व्यापार पनि सुकेको छ’, उनी भन्छन्, ‘भाडा तिर्न समेत नसक्ने अवस्था छ, यस्तो बेला ऋणमा डुबेका व्यापारीले तनाव झेलिरहनुभन्दा पसल छाड्नु उचित हुने ठानेका छन् ।’

ललितपुरको व्यस्त मंगलबजारको अवस्था पनि फरक छैन । स्थानीय व्यवसायी भीम राजथलाका अनुसार मंगलबजारमा पहिले १५ लाख रुपैयाँ सलामी दिंदा पनि नबिकेका पसलहरु अहिले ५ लाख सलामीमै छोड्न तयार हुँदा समेत किन्नेहरु आएका छैनन् । ‘बिक्री भएका पसलका मान्छे कता गए थाहा छैन, पसल किन्नेहरु व्यापार नभएको देखेर थक-थक मान्दैछन्’, उनले भने, ‘कोभिडको महामारीमा पनि व्यापार यतिविधि डामाडोल भएको थिएन ।’

ऋणमा रहेका, अतिरिक्त आम्दानीका स्रोत नभएका र पसलबाटै चालु पुँजी र घर खर्च धान्नेहरु अहिले दिन कटाउन र व्यवसाय टिकाउन मात्रै पसलमा बसिरहेको उनको भनाइ छ । ‘व्यापार ओरालो लागेका बेला बाटो खनेर बेहाल छाडिएको छ’, उनी भन्छन्, ‘ललितपुरका नयाँ बस्तीहरुको भित्र पनि बजार विस्तार भएर यस्तो भयो कि ? जे भएपनि एकै वर्षमा यतिविधि व्यापार घट्न त नपर्ने हो ।’

अहिले काठमाडौंका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । यसले गर्दा व्यवसायबाटै पलायन हुनेहरु बढ्दैछन् । बानेश्वर व्यापार संघका अध्यक्ष लुइँटेल पसल चलाउन छाडेर विदेश जाने क्रम बढ्न थालेकाले सरकारले साना व्यवसायीहरुको संरक्षणका लागि सोच्नैपर्ने अवस्था आएको बताउँछन् । ‘साना स्वरोजगार व्यवसायीहरुलाई परेको मर्कालाई ध्यानमा राखेर नीतिहरु बन्नुपर्छ’, उनले भने, ‘अहिले त सबैले देखिने गरी समस्या उजागर भएको छ, व्यापार व्यवसायमा देखिएको समस्याले सरकारलाई पनि छुनुपर्छ ।’

सरकार भने चालु आर्थिक वर्ष २०७९/८०मा उद्योग क्षेत्रमा देखिएको शिथिलताको असर व्यापार व्यवसायसम्म आइपुगेको अनुमान गरिरहेको छ । यो वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रले ५.३२ प्रतिशत मात्रै योगदान दिने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

वनस्पति, तोरी, सोयबिन तथा सूर्यमुखी तेलको उत्पादनका साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीको कारणले उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा कूल मूल्य अभिवृद्धि वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ ।

सुनसान बनेको एक मल ।

तथ्यांक कार्यालयका अनुसार आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरुमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारको वृद्धिदर पनि ऋणात्मक हुँदैछ । थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाले यो वर्ष जीडीपीमा १५.३९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ ।

थोक तथा खुद्रा व्यापारको क्षेत्रमा आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष मा कुल मूल्य अभिवृद्धि २.९६ प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की सरकारले व्यवसायीहरुलाई बचाउने गरी नीतिहरु नल्याए व्यापार-व्यवसाय झन् ओरालो बाटोमा जाने र त्यसले सरकारलाई नै राजस्वमा दबाब पर्ने बताउँछन् । चर्को ब्याजदरका कारण धक्का खाएका व्यापारीमाथि उच्च दरको भन्सार मूल्यांकन र बढ्दो महँगीले समस्यामा पारेको उनको भनाइ छ ।

‘बजारमा पैसा छैन, उधारो उठ्दैन, व्यापार पनि सुकेको छ’, उनी भन्छन्, ‘भाडा तिर्न समेत नसक्ने अवस्था छ, यस्तो बेला ऋणमा डुबेका व्यापारीले तनाव झेलिरहनुभन्दा पसल छाड्नु उचित हुने ठानेका छन् ।’

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ अर्थतन्त्रमा देखिएको समस्याका कारणले नै व्यापार-व्यवसायहरु बन्द भइरहेको बताउँछन् । साना व्यापारीदेखि ठूला उद्योगीसम्म अहिलेको अर्थतन्त्रमा रहेका अनेक समस्याले पिरोलिएको भन्दै श्रेष्ठले अब पनि नकारात्मक कुरा मात्रै देखाएर बस्ने अवस्था नभएको बताए । ‘उद्योगी-व्यापारीका समस्या त दिनचर्या भइसक्यो । अब समस्याको मात्रै कुरा गरेर हुँदैन’, श्रेष्ठ भन्छन्, ‘समाधानतिर पनि जानुपर्छ, सरकारले जे-जे गर्दा उद्योग-व्यापार व्यवसाय पुनर्उत्थान हुन्छ, त्यही काम फटाफटी गर्नुपर्छ ।’

तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?