+
+

कोशी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा

हरि अधिकारी  हरि अधिकारी 
२०८० वैशाख २६ गते १७:१९

२६ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरमा शरिर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले शरीर जोडिएको जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलोग्राम रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । अस्पतालले पहिलो पटक शरीर जोडिएको शिशु जन्मिएको जनाएको छ ।

बिहीबार महिलाको शल्यक्रिया गरेर अस्पतालले शरिर जोडिएका शिशु निकालेको थियो । अस्पतालका अनुसार सुत्केरी महिला अस्पतालमा एक्लै छिन् ।

शरीर जोडिएका जुम्ल्याहा जन्माएकी महिलाले आफ्नो घर-ठेगाना प्रष्टसँग बताउन सकेकी छैनन् । परिवारका सदस्य पनि हेरचाहका लागि आएका छैनन्।

आफन्त नआएका कारण सुत्केरीको हेरचाहमा समस्या भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले बताए  । सुत्केरीको खानपानको व्यस्थापन अस्पतालले नै गरिरहेको उनले बताए ।  जुम्ल्याहा सन्तानसहित उनलाई प्रसूति वार्डमा राखिएको छ ।

सुत्केरीको आर्थिक अवस्था पनि कमजोर देखिएको अस्पतालले जनाएको छ । डाक्टर सिंहका   अनुसार वैशाख २१ गते एक महिलाले उनलाई कोशी अस्पताल ल्याएर छाडेकी थिइन् । त्यसयता उनका आफन्त अस्पताल आएका छैनन् ।

अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको टोलीले बिहीबार शल्यक्रिया गरेर शरिर जोडिएका जुम्लयाहा बच्चा निकालेको थियो ।

शरीर जोडिएको जुम्ल्याहा जन्मिनुलाई चिकित्सकीय भाषामा ‘कन्जोइन्ट ट्वीन्स’ भनिन्छ । सामान्यतया एउटा भू्रणले एउटा बच्चा जन्मिन्छ ।

एउटा भ्रुण आधाआधा भइदियो भने जुम्ल्याहा बच्चा जन्मिने सम्भावना हुन्छ । राम्रोसँग विकास नभइकन भ्रूण विभाजित हुँदा जुम्ल्याहा सन्तान जन्मिने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?