+
+

जब पूर्वगृहमन्त्री खाँणले ‘जबरजस्ती गर्ने ?’ भन्दै प्रहरीको प्रतिवाद गरे..

प्रहरीले खाँणलाई उनकै गाडीमा ल्याएको थियो टेकु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १३:२२
पूर्वगृहमन्त्री बालकृष्ण खाँण । फाइल फोटो

२७ वैशाख, काठमाडौं । चाबहिलको मैजुबहालस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा बुधबार बिहानैबाट सादा पोशाकका प्रहरी परिचालित थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा थियो । नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी भएको सूचना चुहिँदा प्रहरीले अपजस खेप्नु परिरहेको छ ।

यस्तोमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले गोप्य अपरेशन चलाएको थियो । सादा पोशाकका प्रहरी बिहान ९ बजेतिर उनको घरभित्र छिरेको थिए । टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बतायो ।

तर, खाँणले आफूले केही गल्ती नगरेको जिकिरसहित ‘किन जाने ?’ भन्दै प्रतिवाद गरे । त्यसपछि खाँणको घरमा रहेको प्रहरी टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि खबर गर्यो । त्यसक्रममा बयानका लागि जानुपर्ने भएको भन्दै उनले पनि बताएपछि खाँण ‘फोन गर्छु’ भन्दै कोठाभित्र प्रवेश गरे ।

खाँणको घरमा पुगेका एक प्रहरी अधिकृतका अनुसार त्यसक्रममा उनलाई फोन गर्न पनि टेकु गएपछि दिइने बताइएको थियो । खाँणले ‘जबरजस्ती गर्ने’ भन्दै प्रतिवाद गरे । भित्र गएर उनले कोहीसँग फोनमा समेत कुरा गरे । तर, प्रहरीले उनलाई जानैपर्ने भन्दै बोलाइरह्यो ।

त्यसक्रममा उनले ‘जे–जे सोध्नुपर्ने छ, यहीँ सोध्नु’ भन्दै जवाफ फर्काए । त्यसक्रममा प्रहरीले उनलाई जरुरी पक्राउ पूर्जी थमायो । उनकै गाडीमा टेकुसम्म जान अनुरोध गर्यो । त्यसपछि प्रहरी टोलीले पूर्वगृहमन्त्री खाँणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो ।

प्रहरी नियन्त्रणमा रहेका कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण (खरानी रंगको कोटमा) । फोटो : आर्यन धिमाल/अनलाइनखबर

टेकुमा अहिले उनीसँग प्रारम्भिक सोधपुछ भइरहेको छ । खाँणविरुद्ध थप अनुसन्धानका लागि बुधबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद लिने प्रहरीको तयारी छ । म्याद लिएपछि उनीविरुद्ध विस्तृत अनुसन्धान हुने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ ।

यो प्रकरणमा थप १०/११ जना पक्राउ पर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?