+
+

हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

चुक्ता पूँजी ८ अर्ब २ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १३:५५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एकीकृत कारोबार सुरु गरेको छ । साविकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले २६ वैशाखदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

एक वर्षअघि (२९ वैशाख २०७९) मा यी तीन कम्पनीले मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा अध्यक्ष सिलवालले जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिए ।

मंगलबार कम्पनीका अध्यक्ष सुलभ अग्रवालले अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका अनुसार मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ । जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीका अनुसार मर्जरपछि कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

साविक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?