+
+

बुद्ध एयर सञ्चालक दाजुभाइबीचको सम्पत्ति विवाद सतहमा

हिसाव गोलमाल गरेको शिवेन्द्रको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते २०:०९
बायाँबाट क्रमशः बीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेत

२७ वैशाख, काठमाडौं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद सतहमा आएको छ । १० पुसमा बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएपछि दाजु भाइबीच सम्पत्तिबारे मतभेद चर्किन थालेको थियो ।

विवादले चरम रुप लिएपछि शिवेन्द्रले यो विवादलाई पत्रकारहरुमाझ सार्वजनिक नै गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएपनि ६० प्रतिशत सेयर रहेको पक्षले ठूलै आर्थिक घोटाला गरेको आशंका व्यक्त गरेका छन् ।

दाइ वीरेन्द्रबहादुरले बुद्ध एयरको सम्पत्ति र दायित्वबारेको हिसाब पारदर्शी रुपले नदेखाएपछि आफूले पत्रकार सम्मेलन गर्नुपरेको उनको बताए । बुद्ध एयरमा ६० प्रतिशत सेयर स्वामित्व भएको पक्षले हिसाबकिताब गोलमाल गरेको उनको आशंका छ ।

उनका अनुसार बुद्ध एयरमा बाबु सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत र दाजु वीरेन्द्रबहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व थियो । सुरेन्द्रबहादुरले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशतमध्येको आधा वीरेन्द्र बहादुर र आधा शिवेन्द्रबहादुरको परिवारको नाममा गरिदिएको उनको दाबी छ । यसअनुसार ६० प्रतिशत वीरेन्द्रबहादुर र ४० प्रतिशत सेयर आफ्नो परिवारको नाममा आएको उनले बताए ।

आफू कामका लागि अमेरिका बस्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष रुपमा जोडिएर काम भने नगरेको उनको भनाइ छ ।स्रोतका अनुसार शिवेन्द्रले बुद्ध एयरको सेयर बेचेर माउन्टेन एयर खोलेका थिए । त्यसपछि पाइलट उत्पादन गर्ने विद्यालय खोलेका उनी व्यवसायमा असफल भएपछि अमेरिका गएका थिए । बाबुको निधनपछि उनी सेयर स्वामित्वअनुसारको अधिकार चाहियो भन्दै विवादमा उत्रिएका हुन् ।

‘४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो । तर, हाम्रो त्यो माग अनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन,’ शिवेन्द्र भन्छन्, ‘मैले हिसाब माग्दा कुनै सुनिएन ।’

४० प्रतिशतको स्वामित्वको त्यसको यकिन हिसाबबारे थाहा नै नदिइएको उनको भनाइ छ । दाइ वीरेन्द्रबहादुर बस्नेतको परिवारको काठमाडौंमा ४ वटा र पोखरा, रामेछाप र भैरहवामा घरहरु भन्दै उनले त्यसको स्रोतबारे प्रश्न उठाएका छन् ।

कम्पनीको काम कारबाही, आर्थिक हिसाबकिताब र योजनाहरुका बारेमा थाहा पाउनु आफ्नो अधिकार भएको भन्दै उनले संस्थालाई माथि उठानकै लागि जानकारीहरु माग गरेको बताए । त्यसकै कारण विभिन्न आरोप लगाएर कम्पनीको कार्यालयमा नै आफूलाई रोकिएको शिवेन्द्रको आरोप छ ।

उनले कम्पनी ऐन २०६३ को धारा १४६ ले सेयर धनीको हिसाब किताब निरीक्षण गर्ने अधिकार दिएको स्मरण गराएका छन् । कानुनअनुसार साधारण सभा र सञ्चालक समिमिको निर्णय पुस्तिका, वाार्षिक आर्थिक विवरण, सेयर दर्ता किताब, र कम्पनीको लेखा हेर्न सकिने भएपनि हेर्न नदिइएको उनको गुनासो छ ।

विमानहरु ९ वटा बीचक्राफ्ट बेच्दा र १७ वटा विमानहरु किन्दा तथा करिब ५० करोड लागतमा आरजु राइस मिल खोल्दा आफूसँग परामर्श समेत नगरिएको उनको गुनासो छ । आरजु राइस मिलमा बुद्ध एयरको इन्जिनियरलाई काम लगाएपछि उनले गडबडीको आशंका बलियो भएको बताएका छन् ।

लुकाइएका सम्पत्ति पनि हुन सक्ने देखेपछि आफूहरुले खोजी गरिरहेको शिवेन्द्रले बताए । कम्पनीको नाफा, बोनसबाट भएको आम्दानीसँग सम्पत्तिको मूल्य नमिलेको उनको दाबी छ । कम्पनीको हिसाबमा घोटाला गर्न फाइनान्स कन्ट्रोलरको पनि सहयोग वा संलग्नता रहेको हुनसक्ने शिवेन्द्रको आशंका छ ।

अहिले नयाँ दुई वटा जहाज किन्न लाग्दा समेत आफूहरुलाई जानकारीसम्म नदिइएको शिवेन्द्रको गुनासो छ । उनले कम्पनीको हरहिसाबबारे जानकारी नदिएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि कम्पनीको वास्तविक अवस्था र त्यहाँ पेस गरिएका काजगपत्रका विषयमा जानकारी माग गरेको बताए ।

‘यो समग्र पृष्ठभूमिमा हामीले न त बुद्ध एयरको छवीलाई नराम्रो गर्ने उद्देश्य राख्यौं न त अन्य लाभको कुरा गर्‍यौं,’ शिवेन्द्रले भनेका छन्, ‘हामीले त केबल यो कम्पनीले सेयर स्वामित्वको हिसाब र कानुनले दिएको अधिकारको प्रयोग गरी ४० प्रतिशतको दायित्व अनुरुप सबै कुरा हुनुपर्छ भन्यौं ।’

आफूहरुले कम्पनीलाई अझै उचाइमा पुर्‍याउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय सेवा दिने र नेपालमै रोजगारी सिर्जना गर्न सक्ने कम्पनी बनाउन चाहेको भन्दै ६० प्रतिशत हिस्सेदारले गरेको व्यवहारले कानुन बमोजिम नै आधिकार प्राप्तीको लागी आवश्यक पहल गर्नु परेको शिवेन्द्रको भनाइ छ ।

२५ वर्षअघि सेवा थालेको बुद्ध एयरले अहिले १७ वटा विमानमार्फत सेवा दिंदै आएको छ । दैनिक ७० देखि ८० उडानहरू गर्ने यो कम्पनीले करिब ६० प्रतिशत आन्तरिक उडानको हिस्सा ओगट्छ । भारतको बनारसमा समेत सेवा दिंदै आएको यो एयरलाइन्स अहिले सेयरधनीहरुको विवादमा फस्न पुगेको छ ।

शिवेन्द्रका आरोपहरुबारे अनलाइनखबरले सोधेको प्रश्नमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले पत्रकार सम्मेलन गरेर नभई कानुनी प्रक्रियामा जानुपर्ने बताए । यस मामिलामा आफूले थप प्रतिक्रिया नदिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?