+
+
Shares

बुद्धको भरतपुर उडानको जहाजमा किन भयो लफडा ?

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं विमानस्थलमा अवतरण गर्ने बेला भीभीआईपी फ्लाइटका लागि अन्य जहाजको उडान करिब ४० मिनेट रोकिएको थियो । बुद्ध एयरको भरतपुर उडानको जहाज यसै मेसोमा घानमा पर्न गयो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १८:५३

२४ चैत, काठमाडौं । शनिबार त्रिभुवन विमानस्थलमा बुद्ध एयरको जहाजभित्र खिचिएको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

जहाँ यात्रुलाई प्रहरीले जबर्जस्ती जहाजबाट झर्न भनेको देखिन्छ, भने यात्रु आक्रोशित भई ‘बरु मर्ने तर जहाजबाट नझर्ने’ अडान लिएको देखिन्छ ।

यात्रुले ६/७ घण्टादेखि खाना पनि नखाइ बस्नु परेको र जहाजमा वृद्धवृद्धा तथा बिरामी समेत भएको भन्दै कम्पनीसँग आक्रोश पोखेका छन् । उनीहरूले भनेका छन्, ‘न मौसमको जानकारी छ, के मजाक गरेको यो ?’

भिडियो खिच्दा प्रहरीले थर्काएको समेत उनीहरूको आरोप छ । एक यात्रु भन्छन्, ‘हामी झर्दैनौं, भिडियोसँग किन डराएको ?’

अर्का यात्रु भन्छन्, ‘अरे यार, मजाक हो ? ओहोर–दोहोर बनाएको छ, मजाक हो ?’

अर्का यात्रु थप्छन्, ‘हामी गाईभैंसी हो, पशु हो ? हामीलाई कुकुरको व्यवहार गर्ने ? बिहानदेखि भोकभोकै छौं ।’

उनीहरूले बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको समेत नाम लिएर आक्रोशित बनेका छन् । उनीहरूले भनेका छन्, ‘बरु, हामी मर्छाैं, तर जहाजबाट निस्किँदैनौं ।’

उक्त भिडियोबारे बुद्ध एयरले ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीका अनुसार घटना ५ अप्रिल (२३ चैत) शनिबारको हो । काठमाडौंबाट भरतपुरका लागि शनिबार बिहान दुई उडान निर्धारित थियो । बिहान ७ः२० तथा दोस्रो उडान ८ः४० बजे राखिएको थियो ।

तर, मौसमका कारण भरतपुर विमानस्थल भने १० बजेपछि मात्र खुलेको बुद्धले जनाएको छ । कम्पनीका अनुसार विमानस्थल खुलेपछि काठमाडौंबाट पहिलो उडान ११ः३८ बजे भयो । दोस्रो उडानका लागि यात्रु जहाजमा राखियो । दोस्रो उडानको बोर्डिङ सकिएपछि काठमाडौं विमानस्थलमा ‘नोटाम’ जारी भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं विमानस्थलमा अवतरण गर्ने बेला भीभीआईपी फ्लाइटका लागि अन्य जहाजको उडान करिब ४० मिनेट रोकिएको थियो ।

बुद्ध एयरको भरतपुर उडानको जहाज यसै मेसोमा घानमा पर्न गयो । त्यसपछि भरतपुरमा पुनः मौसमका कारण विमानस्थल बन्द भयो । त्यसपछि बुद्धले २ बजे भरतपुर उडान रद्द भएको घोषणा गर्‍यो ।

लामो समय जहाजमा राखिएका यात्रुलाई प्रतिकूल मौसमको कारण देखाउँदै झर्न आग्रह गरिएपछि जहाज भित्रै लफडा भएको पाइएको हो । यात्रुले ६/७ घण्टासम्म खाना/खाजा नपाएको, बिरामी यात्रु समस्यामा रहेको जनाएका छन् ।

यात्रुलाई बेलैमा उचित सूचना प्रवाह नगर्ने र मौसम वा अन्य कारणबाट उडान नहुँदा अलपत्र यात्रुको सेवा सुविधामा बेवास्ता गर्ने वायुसेवा कम्पनीहरूको व्यवहारले यात्रु आक्रोहित हुने गरेका छन् ।

बुद्ध एयरका अनुसार दिउँसो ३ बजे भरतपुर विमानस्थल पुनः खुल्दा त्यसअघिका केही यात्रुले  उडान नम्बर ३५७ बाट गन्तव्य गएका  थिए ।

भरतपुर विमानस्थल भीएफआर रहेको हुँदा त्यहाँ कम भिजिबिलिटीले उडान प्रभावित बनाएको कम्पनीको भनाइ छ । आइतबार समेत भरतपुर दिउँसो १ बजेपछि मात्र सञ्चालनमा आएको थियो । बुद्ध एयरले बिहानको २ उडान आज आइतबार पनि रद्द गरेको छ ।  बुद्धसँग ४७ सिट क्षमताका दुई एटीआर–४२ जहाजमात्र छ । ती दुई जहाजबाट मात्र भरतपुर उडान हुने गरेको छ ।

बुद्ध एयरसँग रहेको अर्को एटीआर–७२ विमानबाट भरतपुर उडान गर्न आवश्यक सबै तयारी पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा महिनौंअघि नै निवेदन दर्ता गराई सकेको भए पनि प्रक्रिया अगाडि नबढेको पाइएको छ ।

कम्पनीले भनेको छ, ‘सम्बन्धित निकायको अनुमतिपछि परीक्षण उडान गरी चाँडै नै एटीआर–७२ विमानबाट भरतपुर उडान सञ्चालन हुनेछ ।’

बुद्धसँग ७२ सिट क्षमताका १६ थान एटीआर–७२ रहेको र ती जहाजबाट उडान सुचारु भएपछि यस किसिमका समस्या स्वतः समाधान हुने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?