+
+

तीन जनाको जिनसहित जन्मियो संसारकै पहिलो ‘सुपर बेबी’, जसमा हुने छैनन् वंशाणुगत रोग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते ७:०१

काठमाडौं । विश्वमा पहिलोपटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनैपनि वंशाणुगत रोगको समस्या हुनेछैन । यो बच्चा आफ्नो बाबु–आमासँग पनि दुरुस्तै मिल्दैन । किनकी यसमा बाबुआमा सँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ । अर्थात् यो बच्चा ३ जना मानिसको डिएनएबाट बनेको छ ।

बेलायतको न्युक्यासल फर्टिलिटी सेन्टरमा उक्त सुपरबेबीको जन्म भएको हो । यो बच्चा तयार गर्नका लागि तीनजना मानिसको डिएनए प्रयोग गरिएको छ । डिएनएको विशेषता कायमै राख्नका लागि आईभीएफ प्रविधिको प्रयोग गरिएको छ । यो बच्चाको शरीरमा कुनैपनि खालको वंशाणुगत समस्या वा खराब खालको वंशाणुगत उत्परिवर्तन नरहेको बताइएको छ ।

जुन प्रविधिबाट यो बच्चा जन्माइएको हो त्यसलाई माइटोकोन्ड्रिएल डोनेसन ट्रिटमेन्ट अर्थात् एमडीटी भनिन्छ । माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्टलाई एमआरटी अर्थात् माइटोकोन्ड्रियल रिप्लेसमेन्ट ट्रिटमेन्ट पनि भनिन्छ । बेलायतका डाक्टरहरुले यो पद्धतिको विकास गरे ।

यो पद्धतिमा स्वस्थ महिलाको डिम्बबाट तन्तुहरु लिएर आईभीएफ भ्रूण तयार गरियो । सो भ्रूण जुन महिलाको गर्भमा हुर्कियो त्यो आमाको जेनेटिक रोगहरुबाट सुरक्षित रह्यो । अर्थात् यसलाई आमाको शरीरमा भएका रोगहरुको कुनै असर हुँदैन ।

यो भ्रूणमा जैविक माता पिताको शुक्रकिट तथा डिम्बको माइटोकोन्ड्रियालाई मिलाइएको हो । माइटोकोन्ड्रिया कुनैपनि कोशिकाको पावरहाउस पनि भनेर चिनिन्छ । उक्त बच्चाको शरीरमा मातापिताको डिएनएका अलावा तेस्रो महिलाका विभिन्न ३७ वटा जिन पनि राखिएको छ । यसो गर्दा सो बच्चा जैविक रुपमा तीनजना मातापिताको सन्तानको रुपमा रहेको छ । यद्यपि बच्चाको शरीरमा ९९.८ प्रतिशत डिएनए चाहिँ आफ्नै मातापिताकै रहेको छ ।

आफ्ना माता पिताको जेनेटिक विमारीहरु नसर्ने बच्चा तयार गर्नमा प्राप्त सफलतालाई चिकित्सा विज्ञानमा अहम् उपलब्धि मानिएको छ ।

आम रुपमा कुनै पनि मानिसले आफ्नो आमाबाटै अधिकांश माइटोकोन्ड्रिया हासिल गर्दछ । त्यसैले जुन हानिकारक उत्परिवर्तनहरु हुन्छन् ती सोही पावर हाउस अर्थात् माइटोकोन्ड्रियामै जम्मा हुन्छन् । पछि ती विकारहरुले बच्चाको स्वास्थ्यमा असर पार्दछन् ।

जेनेटिक रोगहरुसँग जुधिरहेकी महिलालाई आम रुपमा प्राकृतिक तवरले गर्भाधारण गर्नमा समस्या आउँदछ । यदि गरेमा पनि बच्चाको स्वास्थ्य समस्याग्रस्त हुन्छ । बच्चाको उमेर बढेसँगै उसमा विभिन्न खालका गम्भीर रोगहरु देखा पर्दछन् । विश्वमा हरेक ६ हजारमा एकजना बच्चाले यस्तो माइटोकोन्ड्रिएल रोगजस्ता गम्भीर जेनेटिक रोगहरुको सामना गरेको हुन्छ ।

आम रुपमा मानिसको शरीरमा हरेक कोशिकाको केन्द्र अर्थात् न्युक्लियसमा २० हजार जिन हुन्छन् । तर हरेक न्युक्लियसको चारैतर्फ स–साना विन्दुहरुको रुपमा माइटोकोन्ड्रिया हुन्छन् जसको आफ्नै जिन हुन्छन् । माइटोकोन्ड्रियाले राम्रोसँग काम गरेको अवस्थामा त्यसले कोशिकालाई ऊर्जा प्रदान गर्दछ । तर कुनै जेनेटिक म्युटेसन भएमा माइटोकोन्ड्रिया क्षतिग्रस्त हुन्छ र त्यसले ऊर्जा समाप्त पार्दछ । त्यसको असर मस्तिष्क, मुटु, मांसपेशी तथा कलेजोमा पर्दछ । जसका कारण बच्चाको विकास राम्रोसँग हुँदैन ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?