+
+

विद्यालयले परीक्षा होइन, जीवनको तयारी गराउनुपर्छ

पढ्नु भनेको परीक्षाको तयारी गर्नु होइन, जीवनको तयारी गर्नु हो । विश्वका कतिपय उन्नत मुलुकमा सबै कक्षा उत्तीर्ण हुन परीक्षा दिनुपर्ने प्रणाली नै छैन । यसको अन्तर्य परीक्षा अनिवार्य होइन र पढाइको लक्ष्य परीक्षा होइन ।

अन्जु भट्टराई अन्जु भट्टराई
२०८० वैशाख ३० गते ११:४४

पढाउने हाम्रो पुरातन तरिका छ, ‘विद्यार्थीलाई तिमीले यसरी परीक्षा दिनुपर्छ, यति अंक ल्याउनुपर्छ, यसरी पास हुनुपर्छ ।’ यस्तो अभ्यासले पढ्नुको अर्थ पास हुनु भन्ने मनोविज्ञान निर्माण गरिदिएको छ ।

तर, पढनुको अर्थ परीक्षामा पास हुनु मात्रै होइन ।

पढाइलाई परीक्षाको केन्द्रमा राखेर कहिल्यै पनि जाँच्नुहुँदैन । किनभने पढ्नु भनेको परीक्षाको तयारी गर्नु होइन, जीवनको तयारी गर्नु हो ।

पढाउँदा बच्चालाई पास गर्नुपर्छ भनेर दबाव दिनुहुँदैन । परीक्षाको हाउगुजी देखाउँदैनौं । विश्वका कतिपय उन्नत मुलुकमा सबै कक्षा उत्तीर्ण हुन परीक्षा दिनुपर्ने प्रणाली नै छैन । यसको अन्तर्य परीक्षा अनिवार्य होइन र पढाइको लक्ष्य परीक्षा मात्रै होइन ।

पढ्नुको ध्येय भनेको बालबच्चाले आफूमा भएको खुबी, क्षमता पहिल्याउने र त्यसलाई सही मार्गमा डोहोर्‍याउने हो । उनीहरूमा सीप र संस्कारको विकास गर्ने हो । सार्थक जीवन बाँच्नका लागि धरातल निर्माण गर्ने हो ।

पढ्नुको अर्थ डाक्टर, पाइलट, इन्जिनियर बन्नुपर्छ भन्ने होइन । पढेर एउटा विद्यार्थी सहचालक, ज्यामी, प्लम्बर जेपनि बन्न सक्छ । उसले आफ्नो जीवनलाई यी पेशा व्यवसायबाट अत्यन्त सुन्दर र अनुकरणीय बनाउन सक्छन् ।

बच्चा काँचो माटो होइनन्

हामीले एउटा गलत भाष्य निर्माण गरेका छौं, बालबच्चा भनेको काँचो माटो हुन् । उनीहरूलाई जस्तो चाहृयो त्यस्तै बनाउन सकिन्छ ।

यसैको पछि लागेर हामीले बालबच्चालाई तिमी यस्तो बन्नुपर्छ भन्न थाल्यौं । उनीहरू के बन्न चाहन्छन् ? सोधेनौं । उनीहरूको रुचि र खुबी के थियो ? पहिल्याउने जाँगरै गरेनौं । उनीहरूलाई कस्तो वातावरण चाहिएको थियो ? चासो नै राखेनौं । केवल आफ्नो इच्छा र आकांक्षा उनीहरूमाथि लाद्यौं ।

यही कारण हाम्रा बालबच्चा हाम्रो नजरमा असफल ठहरिए ।

जबकि बालबच्चालाई हामीले जस्तो चाहृयो त्यस्तै बनाउने होइन । बालबच्चा कस्तो बन्न चाहन्छन् त्यसमासही मार्गदर्शन मात्र दिलाउने हो । हरेक बालबच्चाको आ-आफ्नै जन्मजात गुण हुन्छ । उनीहरूले जन्मजात नै कुनै न कुनै क्षमता लिएर आउँछन् ।

हामीले त उनीहरूको त्यो जन्मजात क्षमता चिन्ने हो । अनि त्यसैलाई फलाउन फुलाउन उपयुक्त वातावरण दिलाउने हो । यसका लागि जरुरी हुन्छ, संस्कारसहितको शिक्षा ।

संस्कारसहितको शिक्षा

पढाउने क्रममा मूलतः चारवटा कुरालाई जोड दिनुपर्छ- प्रवृत्ति, प्रकृति, संस्कृति र प्रविधि ।

यसको सार हो, एउटा बच्चा शिक्षित भएर मात्र पुग्दैन, मानवीय गुणले सुशोभित हुनुपर्छ । प्रकृति, जीवन र जगतलाई बुझ्ने हुनुपर्छ । संस्कारयुक्त बानी व्यवहार हुनुपर्छ । साथै, आजको समयसँग आफूलाई गतिशील बनाउन सक्ने हुनुपर्छ ।

अनुभवमा आधारित सिकाइ

विगतमा शिक्षकहरू कक्षा कोठामा पसेर आफूले जानेको कुरा मात्र एकोहोरो भट्याउँथे । आफ्नो कुरा विद्यार्थीले कत्तिको बुझिरहेका छन्, कसरी बुझिरहेका छन् थाहा पाउँदैनथे वा थाहा पाउन प्रयास गर्दैनथे । तर, अहिले सिकाइका विधि र प्रविधिहरू फरक भएर आएका छन् । विद्यार्थी धेरै कुरामा जानकार छन् । उनीहरू बहुआयामिक छन् । त्यसैले उनीहरूलाई दिने शिक्षाको स्वरूप पनि फराकिलो भएको छ ।

पुरातन शिक्षाले किताबलाई सर्वोपरी मान्छ, तर आजको शिक्षाले अनुभवमा आधारित व्यवहारिक सिकाइलाई जोड दिन्छ । अहिलेका विद्यार्थीलाई जानकारीको अभाव छैन । जानकारी प्राप्त गर्ने माध्यम पनि अनेकौं छन् । यो पृष्ठभूमिमा विद्यार्थीलाई समूहमा रहेर समूहकार्यबाट जीवनोपयोगी कुराहरू आर्जन गर्ने तरिकाहरू मात्र सिकाए पुग्छ ।

कुनै विद्यार्थी कमजोर हुँदैनन्

कक्षाकोठामा विभिन्न क्षमताका विद्यार्थी हुन्छन्, उनीहरूको रुचि फरक हुन्छ । सिक्ने तरिका र बुझ्ने शैली फरक हुन्छन् । फरक-फरक विद्यार्थीलाई एकै घानमा राखेर एउटै ढर्राले पढाउनु अवैज्ञानिक हो । शिक्षकले विद्यार्थीहरूको रुचि र क्षमतालाई पहिल्याएर उनीहरूलाई सोही ढंगले पठनपाठन गराउनुपर्छ ।

कसैले सुनेर सिक्छन्, कसैले हेरेर सिक्छन् । कसैले कुनै गतिविधि गरेर सिक्छन् । सिक्ने तरिका बच्चा अनुसार फरक हुन्छ । कुन बच्चाले कसरी सिक्छ भन्ने कुरा शिक्षकलाई थाहा हुनुपर्छ । त्यससँगै विद्यालयसँग पुग्दो स्रोत सामग्री हुनुपर्छ । हरेक विद्यार्थी आफैंमा कुनै न कुनै गुणले भरिपूर्ण हुन्छन् । उनीहरूको त्यही गुण उजागर गर्ने वातावरण शिक्षकले मिलाइदिनुपर्छ ।

फलानो विद्यार्थी उत्कृष्ट, फलानो विद्यार्थी कमजोर भनेर कित्ताकाट गर्नुहुँदैन । किनभने एउटा विद्यार्थी पढाइमा राम्रो हुन सक्छ भने अर्को विद्यार्थी खेलकुदमा । एउटा विद्यार्थीले राम्ररी चित्र कोर्न सक्छ भने अर्कोले राम्ररी नृत्य गर्न सक्छ । उनीहरू आफैंमा क्षमतावान छन् । यस्तो स्थितिमा को कमजोर को सबल भन्ने प्रश्न नै आउँदैन ।सबैलाई उत्तिकै राम्रो मान्नुपर्छ र उनीहरूको क्षमता र खुबीलाई फल्ने फुल्ने अनुकूलता मिलाइदिनुपर्छ ।

प्रतिष्पर्धा होइन सहकार्य

हामीले बालबच्चालाई भन्यौं- तिमीले जित्नुपर्छ, सबैलाई उछिन्नुपर्छ, उच्च अंक ल्याउनुपर्छ । सफल हुनुपर्छ । अनि हाम्रा बालबच्चा पनि यो दौडमा सामेल हुन बाध्य भए । तर यसले उनीहरूलाई कहाँ पुर्‍याए त ? मात्र शिक्षालाई अंकसँग जोड्ने काम भयो । दक्ष, इमान्दार, कर्तव्यनिष्ठ, मानवीय, संस्कारी मान्छे बन्न कहिँकतै प्रेरित गरिएन । केवल अरुसँग प्रतिष्पर्धा गर्न मात्र उकासिरहृयो । जबकि प्रतिष्पर्धा होइन, सहकार्य जरुरी थियो ।

अब हामी बच्चालाई प्रतिष्पर्धा होइन, सहकार्य गर्न प्रेरित गर्नुपर्छ । सहकार्यले उनीहरूलाई सामाजिक जीवन बाँच्न सिकाउँछ । जिम्मेवारी र कर्तव्यबोध गराउँछ । मानवीय गुणको विकास गराउँछ । अनि, साँच्चै मान्छे जस्तै बन्न सिकाउँछ ।
त्यही भएर हामीले कक्षाकोठामा विद्यार्थीलाई समूह-समूहमा विभाजित गरेर छलफल, अन्तक्रिया गर्ने वातावरण बनाइदिन्छौं । नयाँ कुरा खोज्दै सिक्ने, काम गर्दै सिक्ने पद्धतिको अभ्यास गर्छौं । त्यससँगै कक्षाभित्रमात्र पर्याप्त हुँदैन, कक्षा बाहिर पनि लैजाने गछौर्ंै । पाठ्यक्रमसँग मिल्दो विषयहरूको खोज गर्न प्रकृति र समाज नजिक लगेर घुलमिल गराउँछौं । यसरी उनीहरूलाई उत्तर दिनेभन्दा पनि प्रश्न गर्ने विद्यार्थी बनाउँछौं । विद्यार्थी जिज्ञासु, उत्सुक र जागरुक हुनुपर्छ र उनीहरूसँग उत्तरभन्दा बढी प्रश्न हुनुपर्छ ।

पुस्तक होइन, पाठ्यक्रम

हामीले शिक्षामा घोक्न सिकायौं, सोच्न सिकाएनौं ।

एउटा शिक्षक कक्षाकोठामा पुगेर पुस्तक हेर्दै पढाउँछन्, मोहनका बुवा किसान हुन् । तर कक्षाकोठामा भएका कुनै मोहन नामक विद्यार्थीका बुवा किसान नहुन सक्छन् । यस्तो स्थितिमा उनीहरू द्विविधाग्रस्त रहन्छन् ।

खासमा पेशाको विषयमा पढाउनको लागि किताबमा यस्तो शिर्षकको लेख राखिएको हुन्छ । किताब पढाउँदा हामी यही कुरा दोहोर्‍याउँछौं । तर, उनीहरूले सही ढंगले नबुझ्न सक्छन् । किताबमा लेखकले जुन दृष्टिकोणबाट लेेखेका हुन्छन्, त्यस तरिकाले विद्यार्थीको दृष्टिकोण निर्माण नहुन सक्छ । त्यसैले हामी पुस्तक लगेर मोहनका बुवा किसान हुन् भनेर पढाउँदैनौं । बरु त्यहाँ उपस्थित विद्यार्थीलाई सोध्छौं- ‘तिम्रो बुवाको नाम के हो ? के काम गर्नुहुन्छ ?’

यसरी हरेकले पेशाबारे सहज रूपमा बुझ्न सक्छन् ।

हामीले पुस्तक होइन, पाठ्यक्रमलाई आधार बनाएर पढाउनुपर्छ । नेपाल सरकारका पाठ्यक्रम अत्यन्तै राम्रो छ । उक्त पाठ्यक्रम अन्तर्गतका शिर्षकहरूलाई पढाउन, बुझाउन, अनुभव गराउन विभिन्न सन्दर्भ सामग्रीहरू प्रयोग गर्नुपर्छ ।

हाम्रो शिक्षालाई हेर्ने हो भने हामीले केवल कोर्ष बुक पढाइरहेका छौं । तर पढाउनु पर्ने त पाठ्यक्रम हो । यसले गर्दा व्यवहारिक र अनुभवमा आधारित शिक्षा बालबच्चाले पाउँछन् । खेल्दै र काम गर्दै सिक्ने शिक्षा बढी प्रभावकारी हुन्छ ।

कस्तो हुनुपर्छ शिक्षक ?

विद्यालय भनेको अनुसन्धानको थलो हो । हरेक शिक्षक अनुसन्धानदाता जस्तै हुनुपर्छ । यस हिसाबले शिक्षक पनि खासमा विद्यार्थी नै हो । उनीहरूले नयाँ नयाँ कुरा सिक्नुपर्छ र त्यही कुरा विद्यार्थीमाझ प्रस्तुत गर्नुपर्छ ।

जबकि हाम्रो पुरातन शिक्षा पद्धतिले यसो भन्दैन । शिक्षक सबै कुराका ज्ञाता हुन्, सबैकुरा जान्ने हुन्छन् भन्ने सोच्छन् । यही मनोविज्ञानको कारण शिक्षक ठान्छन् कि मैले केहि सिक्नुपर्दैन । तर शिक्षक पनि विद्याथी जत्तिकै जागरुक र जिज्ञासु हुनुपर्छ । उनले पनि नयाँ नयाँ कुरामा अपडेट रहनुपर्छ । तब पो आफूसँग भएको ज्ञान, सिप, दक्षता विद्यार्थीमाझ राम्ररी पेस गर्न सक्छन् । मैले कसरी सिकाउने भन्दा पनि विद्यार्थीले कसरी सिक्छ भन्ने कुरा खोज्नुपर्छ ।

जरुरी छ आध्यात्मिक ज्ञान

म भन्छु, बच्चालाई अध्यात्मिक चेत जरुरी छ । हाम्रो शिक्षामा अध्यात्म जोड्नुपर्छ भनेर मैले पहिलेदेखि नै बहस गर्दै आएकी छु ।

अध्यात्म भन्नासाथ धेरैलाई लाग्छ, यो त धर्मको कुरा हो । तर, धर्म र अध्यात्म फरक हुन् । यो एक यस्तो विज्ञान हो, जसले जीवन र जगतलाई हेर्ने सही दृष्टिकोण निर्माण गर्छ । अध्यात्मले मान्छेलाई प्राकृतिक जीवन बाँच्ने मेलोमेसो दिन्छ ।

सत्य, दयालु, इमान्दार, नैतिकवान, जिम्मेवार जस्ता सद्गुण विकास गर्ने माध्यम नै अध्यात्म हो । यसले मान्छेलाई दुःखी, निराश, कुण्ठित, इष्र्यालु, लोभी बन्न दिंदैन । जस्तोसुकै स्थितिमा पनि शान्त, सौम्य र सुन्दर बन्न अध्यात्मले सहयोग गर्छ । त्यसैले अध्यात्म जीवनको एउटा विराट पाटो हो । बालबच्चालाई आध्यात्मिक बनाउनु जरुरी मात्र होइन, अनिवार्य पनि छ ।

(अक्षरा स्कुलका संस्थापकसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?