अमेरिकाको टेक्सस राज्यको ३५औँ डेलिगेट्स क्षेत्रको ‘डेमोक्रेटिक’ पार्टीको चुनावी प्रतिस्पर्धामा मौरिन गालिन्डो पराजित भएकी छन् । प्रगतिशील सेक्स थेरापिस्ट समेत रहेकी गालिन्डोमाथि यहुदीविरोधी (एन्टीसेमिटिक) टिप्पणी गरेको आरोप लागेको थियो ।
आफ्नै पार्टीभित्रबाट तीव्र विरोध र भर्त्सना खेपेपछि उनी मंगलबार भएको आन्तरिक प्रतिस्पर्धामा पराजित भएकी हुन् । गालिन्डोको पराजय र उनका प्रतिस्पर्धी जोनी गार्सियाको जितले राष्ट्रिय तथा टेक्ससका डेमोक््रयाट नेताहरूलाई ठूलो राहत मिलेको छ ।
केही समयअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गालिन्डोले आइस डिटेन्सन सेन्टरलाई ‘अमेरिकी जायोनी’ (इजरायल समर्थक) र मानव तस्करीमा संलग्न पूर्व अध्यागमन अधिकारीहरूका लागि जेल बनाउने कानुन ल्याउने बताएकी थिइन् । उनको यो अभिव्यक्तिको डेमोक्रेटिक पार्टीका नेताहरूले एकमुष्ट रूपमा विरोध गर्दै उनीसँगको सम्बन्ध तोडेका थिए ।
यसैबीच, विपक्षी रिपब्लिकन पार्टीले गालिन्डोलाई गोप्य रूपमा सहयोग गरेको आरोपसमेत लागेको थियो । रिपब्लिकन पार्टीसँग सम्बन्ध रहेको आशङ्का गरिएको ‘लिड लेफ्ट’ नामक एउटा संस्थाले गालिन्डोलाई जिताउन ९ लाख डलरभन्दा बढी खर्च गरेको पाइएको थियो ।
गालिन्डोले भने आफू यहुदीविरोधी नभएको दाबी गरेकी छन् । उनले आफ्नो प्रस्ताव यहुदी जायोनीका लागि नभएर अर्बपति जायोनीका लागि मात्र भएको स्पष्टीकरण दिएकी थिइन् ।
यसअघि मार्च महिनामा भएको प्रारम्भिक चुनावमा पहिलो स्थानमा रहेकी गालिन्डो यस पटक भने दोस्रो स्थानमा रहेका गार्सियासँग पराजित भएकी हुन् ।
गार्सियालाई जिताउन ‘ब्लु डग एक्सन पिएसी’ ले १० लाख डलरभन्दा बढी खर्च गर्नुका साथै पूर्व यातायात मन्त्री पिट बुटिजज र टेक्ससका कयौँ सांसदहरूले खुला समर्थन गरेका थिए । अब हुने मुख्य चुनावमा गार्सियाको प्रतिस्पर्धा डोनाल्ड ट्रम्पको समर्थन पाएका रिपब्लिकन उम्मेदवार कार्लोस डे ला क्रुजसँग हुनेछ ।
प्रतिक्रिया 4