मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै पुरानो चलन हो । यो एउटा प्रचलित खाद्यसंस्कृति बनिसकेको छ । नेवार जातिकै कतिपय सदस्यले भने मेथी टुसाको तीतोपन मन नपरेर फालेको पनि देखिन्छ । टुसा उमारेको मेथीको अचार खाँदा अनुभव हुने तीतोपनले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
अहिले बजारमा सहजै पाइने जंक फुडका कारण घरमै उपलब्ध कतिपय महत्वपूर्ण खानालाई बेवास्ता गरिरहेका छौं । हाम्रा घर वरिपरि वा भान्सामा हुने यस्ता खानाहरू सस्ता मात्र छैनन्, स्वास्थ्यबर्द्धक र पोषणयुक्त पनि छन् । तर हामी यस्ता खानालाई भुल्दै बजारमा बढी चर्चा हुने र विज्ञापनमार्फत प्रचार गरिएका खानाहरूतिर आकषिर्त भइरहेका छौं । यस्ता खाना महँगो मूल्य तिरेपछि सहजै उपलब्ध भए पनि स्वास्थ्य तथा पोषणका दृष्टिले निकै कमजोर हुन्छन् । जंक फुडको अधिक प्रयोगले आजको पुस्ता विभिन्न रोगको सिकार भइरहेका छन् ।
हाम्रा परम्परागत खानामा प्रयोग गरिने र स्वास्थ्य तथा पोषणका दृष्टिले निकै महत्वपूर्ण रहेको मेथी छायाँमा पर्दै गएको छ । हामीमध्ये धेरैलाई यसको प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान तथा हेक्का छैन । परम्परागत रूपमा खानालाई पोषणयुक्त र स्वादिष्ट बनाउन प्रयोग गरिने मेथी आज महत्वहीन बन्दै गएको छ । यसको प्रयोगलाई बढाउन सक्दा हाम्रो परिवारको स्वास्थ्य निकै राम्रो हुन्छ ।
दालमा जीरा, मेथी फुराएर खाने नेपालीको परम्परागत बानी छ । त्यसैगरी मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ । तर हामीहरूमध्ये धेरैजस्ाोलाई मेथीको तीतोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौं ।
तर मेथीका गुणहरू के के छन् भनेर थाहा पाइयो भने त सायद मेथीलाई भोेजनको एक अभिन्न अंग नै बनाइन्छ होला ।
केटाकेटीलाई पेट दुख्दा वा पखाला लाग्दा मेथी जाउलो पकाएर खुवाउने चलन छ । अहिले शहरी जीवनशैलीमा यो परम्परा हट्दै गएको भए पनि गाउँघरतिर भने अझै छ । खासगरी घरका हजुरआमाहरूले यसलाई महत्व दिएको देखिन्छ । तर घरका नयाँहरूले घरायसी उपाय अपनाउनु भन्दा हतारिएर औषधि खुवाउन तम्सेको पाइन्छ । मेथी जाउलोले पेटदुखाइमा निकै आराम पुर्याएको हुन्छ ।
परम्परागत मेथी जाउलो पकाउने कार्य त्यति गाह्रो छैन । एकमुठी चामल र दुई मुठी दाल मिसाएर यस्तो जाउलो तयार गरिन्छ । पाक्ने बेलामा मेथी र लसुनलाई घिउमा फुराएर राखिन्छ । केही छिन छोपेर अलिकता घिउ हालेर पकाउने गरिन्छ । यसरी पकाएको मेथी जाउलो खाँदा केटाकेटीले पेटदुखाइमा आराम हुनुका साथै जाउलो स्वादिलो पनि हुन्छ ।
जाउलो पकाउने तरिका अनुसन्धान गरेर तयार गरिएको, यो कुनै नयाँ तथा आधुनिक ज्ञान होइन । यो केवल परम्परागत रैथाने ज्ञान हो । मेथीलाई फुराएर खाँदा पेटदुखाइ कसरी कम हुन्छ ! पछिल्लो समय यस्ता रैथाने खानाका बारेमा वैज्ञानिक विश्लेषण हुने गरेको छ । मेथीमा स्वास्थ्यलाई लाभ पुर्याउने धेरै प्रकारका गुण हुन्छन् भन्ने कुरा अहिले खोज अनुसन्धानबाट पनि सिद्ध भइसकेको छ ।
मेथीमा रहेको रेसादार पदार्थले कब्जियत घटाउन मद्दत गर्छ । साथै चिनी रोग र उच्च रक्तचाप भएका व्यक्तिलाई पनि यसको सेवनले फाइदा गर्छ । यस्तो समस्या भएका व्यक्तिले औषधि छोडेर केवल मेथीको सेवन गरेर मात्रै चिनी रोग निको हुने चाहिं होइन ।
विभिन्न खाद्य वस्तुहरूको प्रयोगले रोग लाग्न नदिन र रोगलाई नियन्त्रण गर्न मद्दत गर्छन् । तर यस्ता खाद्यवस्तु खाँदैमा आफूखुशी औषधि छोड्नु चाहिं हुँदैन । मधुमेह लगायत कुनै पनि रोगको औषधि खाने, छोड्ने वा घटाउने भन्ने सम्बन्धमा सम्बन्धित डाक्टरको राय लिनु नै सही कदम हुन्छ ।
सुत्केरी आमालाई मेथीको दानाको खीर बनाएर दिने चलन पनि छ । कतिपयलाई ‘ल मेथीको खीर पनि कसरी खाने होला ? तीतो पो हुन्छ’ भन्ने परिरहेको हुन्छ । तर मेथीलाई भिजाएर त्यसको पानी निचोरेर दूधमा पकाएर खाँदा त्यसको तीतोपन धेरै कम हुन्छ । साथै बानी लागिसकेपछि त त्यही तीतो नै मीठो लाग्छ ।
मेथीको विभिन्न तरिकाले प्रयोग गर्दा सुत्केरी आमाको दूध बढी आउँछ । गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्न अनेक किसिमको महँगो र बजारिया खानेेकुरा किन्नै पर्दैन । घरमा नै भएका खानेकुराले स्वस्थ रहन सकिन्छ । तीमध्ये मेथीको प्रयोग पनि गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्ने एक उपाय हो ।
गर्भवती महिलालाई कब्जियत आम समस्या हो । बजारका अनेकौं औषधि प्रयोग गर्नुभन्दा भिजाएर टुसा उमारेको मेथीको सलाद खाँदा कब्जियत समाधान गर्छ । साथै मेथीमा रहेको लौह तत्वले रगत बढाउन मद्दत गर्छ । सलाद बनाउँदा यसमा कागती हालेपछि मेथीमा रहेको लौह तत्व शरीरमा राम्रोसँग मिल्छ । यो रक्तअल्पता हुनबाट रोक्न मात्र नभएर शरीरमा रगतको मात्रा बढाउनका लागि पनि निकै उपयोगी छ ।
सजिलै पाइने र घरमै विभिन्न प्रकारका परिकार बनाएर खान सकिने बहुगुणकारी मेथीको बारेमा हाम्रा धेरै ग्रामीण महिला अनभिज्ञ हुन्छन् । मेथीको महत्व बारे थाहा पाएमा महिलाको स्वास्थ्य राम्रो पार्न सहज हुन्छ । धेरै नेपाली महिलामा अहिले रक्तअल्पताको समस्या देखिन्छ । मेथीको महत्व थाहा भएमा र यसको प्रयोग गरेमा यो समस्या घटाउन सकिन्छ । साथै विभिन्न रोगको संक्रमणबाट बच्न पनि सहयोग पुग्छ ।
मेथीलाई विभिन्न परिकारमा मिसाएर वा परिकार बनाएर खान सकिन्छ । मेथीलाई मसिनो गरी पिसेर सलादमा छर्केर खाएमा पनि फाइदा गर्छ । मेथीमा रहेको अनेकथरीका गुणलाई बुझेर नै होला, दक्षिण भारतमा बालिकालाई पहिलोपल्ट महिनावारी हुँदा सक्खर हालेर बनाइएको मेथीको लड्डु महिनाभरि दिने त्यहाँको निकै पुरानो चलन हो । यसले किशोरीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गरेको पाइएको छ । यो चलनलाई हामीले पनि परम्पराको रूपमा अपनाउन सके यसले किशोरीहरूको रक्तअल्पता कम गर्न निकै सहयोग पुग्ने थियो ।
मेथीको दानाको स्वाद पहिलो चोटि खाँदा तीतो लाग्छ । विस्तारै स्वाद लिन पहिलेे मेथीको धुलो सलाद वा सुपमा प्रयोग गर्दै यसलाई खाने बानी गर्न सकिन्छ । त्यसैगरी रोटी बनाउँदा आँटामा अलिकता मेथीको धुलो हालेर पकायो भने गहुँको रोटीको गुण वृद्धि हुन्छ । यस्तैगरी दाल वा सुप पकाएर निकाल्दा अलिकता मेथीको धुलो हालेर एक छिन छोपिदियो भने दाल र सुपको पोषिलो गुण पनि बढ्न जान्छ ।
मेथीको दाना मात्रै होइन मेथीको साग पनि स्वास्थ्यको लागि अति नै उपयोगी हुन्छ । बालबालिकालाई खानामा मेथीको साग समावेश गर्न अनेक तरिका अपनाउन सकिन्छ । मेथी र आलुको सुप बनाएर वा दाल पकाउँदा मेथीको साग काटेर दालमा नै हाल्न सकिन्छ । यसरी खाँदा स्वाद पनि मीठो हुन्छ ।
भिटामिन ‘ए’ले भरिएको मेथीको साग बालबालिकालाई दिंदा त उनीहरूको आँखा र छाला राम्रो हुनुको साथै रोगसँग लड्ने शक्ति पनि बढ्छ । मेथीको सागलाई मसिनो पारेर पीठोमा मिसाई परोठा पकाउन सकिन्छ । स्कुल जाने केटाकेटीलाई बिस्कुट, चाउचाउ जस्ता महँगा तथा पोषणहीन खाजाको सट्टा मेथीको साग मिलाएर बनाएको रोटी, तरकारी दिनु निकै लाभप्रद हुन्छ ।
टुसा उमारेको मेथीमा काँक्रो, गोलभेंडा, हरियो धनियाँ, कागती र काँचो तेल र विरेनुन हालेर खाँदा अझ धेरै स्वादिष्ट लाग्न सक्छ । टुसा उमारेको मेथीमा तीतोपन पनि धेरै नै कम हुन्छ ।
मेथीको प्रयोगले कपाल र छालालाई पनि स्वस्थ बनाउँछ । मेथीमा रहेको लेसिथिन नामक विशेष तत्वले कपाललाई चम्किलोपन दिन्छ । त्यसैले त विभिन्न सौन्दर्य सम्बन्धी काम गर्ने व्यक्तिहरूले मेथीको धुलो दहीमा मिलाएर कपालमा लगाउन सल्लाह दिन्छन् । कपालको चाया हटाउन पनि धेरै महिलाले मेथी पिसेर दहीसँग भिजाएर कपालमा लगाउँछन् ।
यस्तैगरी हामीले तीतो भनेर प्रायः खान गाह्रो मान्ने तर स्वास्थ्यको दृष्टिले महत्वपूर्ण रहेको अर्को खाद्य वस्तु हो करेला । करेलालाई तेलमा फ्राई गरेर खाने गर्दा पौष्टिक तत्व नष्ट हुने र शरीरलाई आवश्यक पर्ने भन्दा बढी तेल खाइने हुन्छ । यसको सट्टा करेलालाई उसिनेर अचार बनाउन, रस राखेर तरकारी र अन्य तरकारीमा मिसाएर तरकारी बनाउन सकिन्छ, पौष्टिक गुण नष्ट हुँदैन र खाँदा पनि स्वादिष्ट हुन्छ ।
गर्मी याममा करेला खानु निकै लाभदायक मानिन्छ । यसले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउने काम गर्छ । मधुमेह भएकाहरूका लागि यसले शरीरमा भएको चिनीको मात्रालाई नियन्त्रित गर्न र रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्छ ।
मेथी र करेला स्वभावैले तीतो भएतापनि यसबाट पाइने लाभ निकै महत्वपूर्ण छन् । जुनसुकै खाद्य वस्तुहरू पनि खाने बानी परेपछि मीठो लाग्दै आउँछ । यी वस्तुहरूमा औषधीय गुणहरू पनि रहेका छन् ।
बालबालिकालाई करेला र मेथी जस्ता वस्तुहरूको विभिन्न परिकार बनाएर खुवाउन सके यसबाट विभिन्न सूक्ष्म पोषक तत्व पाउन सकिन्छ । यी खाद्यवस्तुहरू वयस्क लगायत सब उमेर समूहका मानिसका लागि उपयोगी छन् । त्यसकारण बजारिया खानाहरू भन्दा यस्ता खाद्य वस्तुहरूको उपयोगमा ध्यान दिन आवश्यक छ ।
प्रतिक्रिया 4