+
+

कांग्रेस, एमाले र माओवादीको बैठकमा रास्वपाको आशंकाबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १६:००

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका नेता मात्र निरन्तर संवादमा बसेकोप्रति उठाएको प्रश्नबारे छलफल भएको छ ।

गत शुक्रबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर तीन दलमात्रै निरन्तर संवादमा बस्दा आशंका भएको बताएका थिए ।

लामिछानेका अनुसार उनले प्रधानमन्त्री प्रचण्डलाई भनेका थिए, ‘तीन दल बसिरहनुभएको छ । रास्वपा चौथो दल हो, जनमत पार्टी छ, राजेन्द्र लिङ्देन पुरानै भए पनि नयाँ अभिमतसहित आउनुभएको छ, यसतर्फ ध्यान दिनुहोस् ।’

रास्वपा सभापति लामिछानेले गरेको आग्रह र आशंकाबारे आइतबार प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमै छलफल भएको एक नेताले बताए । नेताहरुका अनुसार उक्त छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले तीन दलका तीन शीर्ष नेताहरुमात्रै छलफलमा जुटिरहेको भनी आशंका उत्पन्न भएको विषय उठाएका थिए ।

नेम्वाङले उठाएको विषयमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठोस जवाफ भने नदिएको एक नेताले बताए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आशंकामा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । यही प्रकरणमा मुछिएका एमालेका सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहितका अन्य नेताहरुको सन्दर्भमा समेत प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?