+
+

लिन्डा बनिन् ट्वीटरको नयाँ सीईओ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते ९:४८

काठमाडौं । लिन्डा याकारिनो सोसल मिडिया प्लाटफर्म ट्वीटरको सीईओ नियुक्त भएकी छन् । ट्वीटरका नयाँ मालिक एलन मस्कले लिन्डालाई नयाँ सीईओ नियुक्त गरेको आधिकारिक घोषणा गरेका हुन् । उनले यही हप्तादेखि कम्पनीको नेतृत्व सम्हाल्ने बताइएको छ ।

लिन्डाले मुख्य रुपमा व्यवसाय सञ्चालनको विषयमा ध्यान केन्द्रित गर्ने र आफू प्रडक्ट डिजाइन तथा प्रविधिको क्षेत्रमा केन्द्रित हुने मस्कले जनाएका छन् ।

शुक्रबार बेलुकी ट्वीट गर्दै मस्कले भनेका छन्– म ट्वीटरको नयाँ सीईओको रुपमा लिन्डा याकारिनोलाई स्वागत गर्दा उत्साहित छु । उनले मुख्य रुपमा बिजनेस अपरेसन्समा केन्द्रित हुने छिन् । जबकि म प्रडक्ट डिजाइन र नयाँ प्रविधिमा केन्द्रित हुनेछु । यो प्लाटफर्मलाई नयाँ उचाइसम्म लैजानका लागि लिन्डासँग काम गर्ने पर्खाइमा छु ।

मस्कले गत वर्ष अकटेबर मा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गरेका थिए । त्यसपछि उनले तत्कालीन सीईओ पराग अग्रवाल लगायतका विभिन्न वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेका थिए र आफैंले कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए । साथै गत फेब्रुुअरीमा आफ्नो कुकुर शिबा इबु नामक कुकुरलाई कम्पनीको सीईओको कुर्सीमा बसालेको तस्वीर सार्वजनिक गरेका थिए ।

ब्लुम्बर्गको रिपोर्ट अनुसार मस्कले ट्वीटरको सीईओको रुपमा पदभार सम्हालेसँगै उपयुक्त व्यक्ति फेला परेसँगै आफूले सीईओको पद सुम्पिने बताएका थिए । अब मस्कले ट्वीटरको सफ्टवेयर तथा सर्भर टिमको नेतृत्व गर्नेछन् ।

को हुन् लिन्डा ?

लिन्डाको लिंक्डइन प्रोफाइल अनुसार उनी सन् २०११ देखि एनबीसी युनिभर्सल कम्पनीसँग सम्बन्धित छिन् । उनी अहिले कम्पनीको विश्वव्यापी विज्ञापन तथा साझेदारी विभागको प्रमुखको रुपमा रहेकी छिन् । यसअघि उनले कम्पनीको मनोरञ्जन तथा डिजिटल विज्ञापन बिक्री विभागमा काम गर्थिन् ।

लिन्डाले टर्नरमा १९ वर्षसम्म काम गरेकी थिइन् । सो कम्पनीमा उनी कार्यकारी उपाध्यक्ष तथा सीईओको रुपमा काम गरिन् ।

लिन्डाले पेन स्टेट विश्वविद्यालयबाट लिबरल आर्टस् तथा कम्युनिकेसन विषय अध्ययन गरेकी छन् ।

बिजनेस इनसाइडरको रिपोर्ट अनुसार लिन्डाले आफ्ना साथीहरुसँगको कुराकानीमा आफू ट्वीटरको सीईओ बन्न चाहेको र आफू मस्क समर्थक रहेको बताएकी थिइन् । मस्कले कम्पनी चलाउनका लागि समय दिनु आवश्यक रहेको पनि लिन्डाले बताएकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?