+
+
व्यापार घाटा न्यूनीकरण कार्ययोजना :

बिस्कुट, चाउचाउ लगायत ११ प्रकारका वस्तुको भन्सार बढाउने तयारी

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० जेठ १ गते १७:०५
फाइल तस्वीर

१ जेठ, काठमाडौं । सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौना सहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ । नेपाल आफैं उत्पादनमा सक्षम रहेका र कतिपय अवस्थामा नभई नहुने वस्तुको आयात ६ महिना भित्रै निरुत्साहित गर्ने गरी सरकारले राष्ट्रिय कार्ययोजना तयार पारेको हो ।

केही समय अघि मन्त्रिपरिषद्‍बाट स्वीकृत उक्त कार्ययोजनाअनुसार बजेटबाटै सकेसम्म धेरै विषय सम्बोधनको प्रयास हुने कार्ययोजना तयार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीकाअनुसार सकेसम्म बजेटबाटै र त्यसबाट सम्बोधन नभएका विषय मन्त्रालयगत सिफारिसमा कार्यान्वयन हुँदै जानेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन र सहजीकरण हुने दाबी गरिएको कार्ययोजनाबाट पहिलो ६ महिनामा करिब ११ प्रकारका वस्तुको भन्सार महसुल वृद्धि गर्ने सरकारी योजना छ ।

विभिन्न तालुक मन्त्रालय र विभागको सिफारिस र वाणिजय मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कानुनहरुसँग नबाझिने गरी आयातमा कडाइ गर्न उपाय खोजिने कार्ययोजनामा उल्लेख छ ।

६ महिना भित्रै आयातमा भन्सार महसुल र दर बढाउन खोजिएको वस्तुहरुमा काठको तयारी सामान, विलासिताका वस्तुहरु, कम भोल्टेज र न्यून गुणस्तरको तार, मिनिरल वाटर, जुस, कार्बोनेट तथा फ्लेभर सिन्थेटिक पेय पदार्थ इनर्जी ड्रिङ्सको अन्तःशुल्क पुनरवलोकन, बिस्कुट, चाउचाउ र ड्राइफूड छन् । यस्तै महँगा शृंगार सामग्री, तयारी पोशाक छन् ।

तयारी पोशाकको कच्चा पदार्थ र तयारी पदार्थमा दुई प्रकारको भन्सार महसुल लागु गर्ने सरकारी नीतिअनुसार तयारी पोशाकमा पनि भन्सार बढ्ने अनुमान छ । यस्तै खेलौना र मनोरञ्जनका सामानका भन्सार दर पनि ६ महिना भित्रै बढाइने कार्ययोजनामा उल्लेख छ ।

यस्तै माछा, मासु, दूध, ताजा तरकारीको भन्सार महसुल भने एक वर्ष भित्रै वृद्धि गर्ने र यी वस्तुको आयात प्रतिस्थापनका लागि गैर भन्सार उपाय पनि अवलम्बन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयकाअनुसार व्यापार घाटा कम गर्दै उत्पादनमुखी अर्थतन्त्र निमार्णका लागि सरकारी कार्ययोजना सम्बन्धित मन्त्रालयबाट भएको सिफारिसका आधारमा कार्यान्वयन गर्दै जानेछ । मन्त्रालयका सचिव अर्जुनकुमार पोख्रेरलले बजेट निर्माणमा कार्ययोजनाका मुलभूत पक्ष र त्यस विषयमा बजेटमै समावेश गर्नेगरी सम्बन्धित मन्त्रालयबाट भएको प्रस्ताव प्राथमिकतामा पर्ने बताए ।

भन्सार विभागकाअनुसार अहिले सौन्दर्य सामाग्रीमा अन्तःशुल्कसहित सामान्यत १५ देखि २० प्रतिशतसम्म भन्सार लाग्ने गर्छ । यस्तै, तरकारी लगायतका कृषि उपजमा कृषि सुधार शुल्कका रुपमा एक प्रतिशत मात्रै शुल्क भन्सार विन्दुमा लाग्ने गर्छ ।

भन्सार विभागको विवरणअनुसार चैतसम्म नेपालले २५ अर्ब २५ करोड बढीको हरियो तरकारी, १४ अर्बको फलफूल, ८ करोड बढीको माछा-मासु, एक अर्ब ६८ करोडको खेलौना नेपाल आयात गरिसकेको छ । यस्तै ६ अर्ब ६४ करोडको सौन्दर्य सामग्री नेपाल भित्रिसकेका छन् । त्यसमध्ये कुन-कुन वस्तु महँगो सौन्दर्य सामग्री हुन् भन्ने चाहिं स्पष्ट छैन ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?