+
+

‘साउथ’ अभिनेत्री नभा नतेश बिदा मनाउन पोखरामा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १२:०१

काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेत्री नभा नतेश गत साता नेपालको पर्यटकीय सहर पोखरामा बिदा मनाउन व्यस्त थिइन् । भाइसँग पोखरा यात्रामा आएकी उनले त्यहाँ एक साता बिताइन् ।

उनले इन्स्टाग्राममार्फत पोखरा घुमघामका तस्वीर सेयर गरेकी छन् भने भारतीय सञ्चारमाध्यमले समेत उनको नेपाल भ्रमणको समाचार छापेका छन् ।

कन्नड र तेलुगू फिल्मकी यी अभिनेत्रीले पोखरा भ्रमणले आफूलाई मानसिक शान्तिदेखि बाल्यकालको स्मरण समेत गराएको उल्लेख गरेकी छन् ।

‘म भाइसँग योगा ट्रिपमा निस्किएँ । पहाड र त्यहाँबाट देखिने हरियाली र तालतलैयाको दृश्य निकै रोचक थियो,’ उनी भन्छिन्, ‘सहरभन्दा पर निकै शान्त थियो, एउटा गाडीको पनि हल्ला थिएन । एक साता त्यहाँ रहँदा हामीले चराको चिरबिराहट र किराहरूको किरमिर किरमिर आवाज मात्र सुन्यौं,’ उनले सम्झिइन् ।

उनले त्यहाँ केही महत्वपूर्ण समय बिताइन् । ‘म र भाइ मात्र थियौं । यो निकै रमाइलो रह्यो हाम्रो बाल्यकालजस्तै । हामी योग, पदयात्रा र गफगाफ गरिरह्यौं । एक सातासम्म हामी शाकाहारी पनि बन्यौं । मेरा लागि यो पूर्ण रुपमा नयाँ अनुभव थियो,’ टाइम्स अफ इण्डियासँग उनले भनेकी छन् ।

‘सुरुमा म एक्लै घुम्न जाने योजनामा थिएँ तर भाइले जान्छु भनेपछि सँगै गयौं । त्यहाँ संसारका अरु कुनाबाट पनि प्रशस्तै मान्छेहरु थिए तर भारतबाट हामी दुई जना मात्र । भिन्न मान्छेको दृष्टिकोण बुझ्दा रमाइलो पनि लाग्यो । मेरा लागि भिन्न खालको आनन्ददायक समय रह्यो,’ उनले भनिन् ।

यो घुमघाम आफ्ना लागि भिन्न खालको शिक्षक समेत रहेको उनको बुझाइ छ । पदयात्रामा भेटिएका अन्य मानिसले आफूलाई ऊर्जा दिएको समेत उनले बताइन् । सन् २०१५ मा कन्नड फिल्म ‘बज्राकाया’बाट डेब्यु गरेकी यी अभिनेत्रीले सन् २०१८ मा ‘नानु दोचुकुन्दुभाते’मार्फत तेलुगू फिल्ममा डेब्यु गरेकी थिइन् । सन् २०१९ को ‘आइस्मार्ट’ उनको हिट फिल्म रह्यो ।

कन्नड फिल्महरु ली, साहेबा उनका चर्चित फिल्म हुन् भने डिस्को राजा, सोला ब्रिथक सो बेटर, अल्लु अधुर्स, माएस्ट्रो उनका तेलुगू फिल्महरु हुन् । डेब्यु फिल्म बज्राकायाबाट उनी फिल्मफेयर अवार्डमा समेत मनोनित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?