+
+

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते ८:१६

३ जेठ, काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल-भारतबीच विद्युत आयात-निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।

२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ । अब बंगलादेश पनि निर्यात गर्ने तयारी छ । त्यसका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने छ । त्यसैले यसमा भारतीय पक्षको पनि स्वीकृति अनिवार्य भएको छ । यद्यपि नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशको संयुक्त लगानी हुने र त्यस सम्बन्धी सम्झौता पत्रमा ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय  भएको छ ।

केही वर्षयता नेपाल र बंगलादेश बीच डेडिकेटेड ट्रान्समिसन लाइन निर्माणको सम्बन्धमा छलफल चलिरहेको छ । तत्कालका लागि भारतको सिलगुडी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने बंगलादेश र नेपाली पक्षको प्रस्ताव छ ।

भारतबाट सहमतिको वातावरण तयार गर्न नेपालले बंगलादेश र भारतसँग त्रिदेशीय छलफल अघि बढाउन चाहेको छ । २८ असोज २०७६ मा दिल्लीमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटीको सातौं बैठकले ‘नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता आवश्यक भएको, यसबारे छलफल गर्न भारतीय विदेश मन्त्रालयले तीन महिनाभित्र छुट्टै बैठक आयोजना गर्ने’ सहमति भएको थियो । तर भारतले अहिलेसम्म यस्तो बैठक आह्वान गरेको छैन ।

सोमबार र मंगलबार आयोजित नेपाल-बंगलादेश ऊर्जासचिवस्तरीय बैठकमा भारतको प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने निर्णयसमेत भएको छ ।

सोही बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशको संयुक्त लगानी हुने र त्यस सम्बन्धी सम्झौता पत्रमा ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय  भएको छ ।

२०७५ कै साउन महिनामा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । एमओयूपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन बंगलादेश गएका थिए । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ ।

अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले बंगलादेश ऊर्जाको भोको मुलुक हो भन्दै नेपाल बंगलादेशका लागि विद्युतको स्रोत मुलुक हुनसक्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?