+
+

जब ई-सिग्रेटमा बिचौलियाले ताकेता गरे, त्यसपछि खुल्यो साढे ९ किलो सुनको रहस्य

साढे ९ किलो सुन हिनामिन गर्न खोजेको आरोपमा भन्सारका नासु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १५:३६

३ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई-सिग्रेट) भित्र राखेर सुन तस्करी हुने गरेको भेटिएको छ । भन्सार चेकजाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि छुटाउन प्रयास गर्दा झण्डै ९ किलो बराबरको सुन आएको भेटिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भेप्सको नाममा आएको सुन छुटाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रवन्त खड्कासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भेप्सभित्र आएको सुन नासु खड्काले विचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा विक्री गरेका थिए ।  पक्राउ परेका अरु मध्ये एक जना सुन विक्री गर्न जाने विचौलिया हुन् भने दुई जना सुन खरिद गर्ने र गाल्ने व्यक्ति हुन् । प्रकरणमा थप केही व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

ब्यूरोका एक जना प्रहरी अधिकृतका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित चेकजाँचका क्रममा बिहान ९:१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

‘सुर्तीजन्य पदार्थ भएकाले त्यो लिलाम हुने कुरा पनि भएन, त्यत्तिकै थन्किरहेको रहेछ’, ब्यूरोका ती अधिकृत भन्छन्, ‘त्यहीबीच केही मान्छेहरु पटकपटक भेप्सबारे सोध्दै आएपछि शंका लागेको रहेछ ।’

स्रोतका अनुसार विमानस्थल भन्सारका प्रमुख प्रशासक सह-सचिव अरुण पोखरेललगायतलाई भेटेर पटक-पटक भेप्सबारे जिज्ञासा राखेपछि अधिकारीहरुलाई शंका लागेको थियो ।

‘बजार मूल्य अनुसार झण्डै ५ लाखको सामानका लागि धेरै प्रेसर गरेपछि शंका लागेर यसमा अनुसन्धान भइरहेको छ, लागूऔषध वा अरु केही हुनसक्ने देखिन्छ भनिदिएछन्’, उनले भने, ‘त्यसपछि पनि एक पटक ती व्यक्ति भन्सार पुगेपनि त्यहाँ पछि गएनछन् ।’

पटकपटक आइरहेका मान्छे आउन छाडेपछि भन्सार प्रशासकहरुलाई शंका लागेर सामान हेर्दा सामान सही अवस्थामा देखिएन । ‘सुटकेश त्यही थियो, तर भित्रको सामान फेरिइसकेको थियो’, स्रोत भन्छ, ‘पहिले जाँच गर्दाको फोटोहरु हेर्दा पनि मिलेन, त्यसपछि खोधखोज थालेका थियौं ।’

त्यसक्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका हाकिमहरुले सोधपुछ गरेका थिए । सुरुमा त उनले त्यहीँ ‘मिसप्लेस’ भएको हुनसक्ने बताए ।

तर, लामो केरकारपछि उनले आफूले सामान्य ठानेर लिलाम भएको अरु सामानसँगै त्यो ‘रिप्लेस’ गरेर दिएको बताए ।

‘थप सोधपुछ गर्दै जाँदा उनले त्यहाँ सुन भन्सारका अधिकृतहरुसँगै स्वीकारेका रहेछन्’, ब्यूरोका एक अधिकृत भन्छन्, ‘त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ब्यूरोमा जाहेरी दिएको थियो ।’

त्यसक्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हालसम्म प्रहरीले तस्करी भएको सुन भने बरामद गर्न सकेको छैन ।

‘६ करोड रुपैयाँमा नासु खड्कासहित विचौलियाले सुन विक्री गरेको खुलेको छ’, एक अधिकृत भन्छन्, ‘त्यही विक्री गर्न खोजिएको १०० ग्राम सुन बरामद भएको छ, अरु सुन खोजी गरिरहेका छौं ।’

ब्यूरोले प्रकरणमा थप अनुसन्धान गरिरहेको डीआईजी यज्ञविनोद पोखरेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?