+
+

डेब्यु फिल्मलाई दर्शकले रुचाउने अभिनेत्री तलिशा गुरुङको आशा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १८:२५

काठमाडौं । अभिनेत्री तलिसा गुरुङ डेब्यु फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’लाई लिएर उत्साहित छिन् । नहुन् पनि किन, यससँग उनको मूलधारको फिल्ममा करिअर बनाउने धोको जोडिएको छ । गुरुङ फिल्म र टिभी सिरियलको पृष्ठभूमिबाट आइपुगेकी उनी फिल्मको पत्रकार सम्मेलनमा केही नर्भस तर आशावादी सुनिइन् ।

‘फिल्ममा मेरो महत्वपूर्ण भूमिका छ । राम्रो टिम र कथामा काम गर्न पाउँदा खुसी ठानेको छु । पात्रलाई न्याय गर्न सकेकी छु भन्ने लागेको छ,’ उनले भनिन् । फिल्ममा उनले धनाढ्य परिवारकी एक पात्रको भूमिकामा अभिनय गरेकी छन् । डेब्यु फिल्म भए पनि काम गर्दा डेब्युजस्तो महसुस नभएको उनले बताइन् । ‘मेरा लागि यो डेब्यु फिल्म हो तर मलाई वास्तवमै डेब्युजस्तो महसुस भएन,’ उनले भनिन् ।

फिल्ममा को–एक्टरहरुसँग काम गर्दा आफूलाई सहज भएको बताउँदै उनले पात्रप्रति न्याय गर्न प्रयत्न गरेको अनुभव समेत सुनाइन् । अभिनयका लागि गोरखादेखि काठमाडौं आइपुगेकी उनले यो फिल्म अहिलेको युवापुस्ताले हेर्नैपर्ने खालको रहेको बताइन् ।

निर्देशक शम्भु थापाले फिल्म अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताए । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पूरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं,’ उनले भने, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ ।’

अभिनेता तेज गिरीले फिल्ममा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निर्वाह गरेको खुलाए । उनले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए ।

फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ । सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान् पौडेलको पटकथा छ । रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् । यो फिल्म आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?