+
+

प्रत्येक श्वासमा जहर

‘सरकारले हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल आफैं राख्नुपर्छ भन्छ । तर, हावा नै प्रदूषित भएपछि हामी कसरी स्वस्थ रहन सक्छौं ?’

सागर चन्द सागर चन्द
२०८० जेठ ४ गते १९:४५
धुलाम्य काठमाडौंको सडकमा खटिएका ट्राफिक प्रहरी । फाइल फोटो

४ जेठ, काठमाडौं । एउटा हिन्दी गीत छ, ‘तु ने हवा मे भांग मिलाया हैं ।’ भांग त खोई कुन्नि हावामा ‘जहर’ भने छ । हरेकपल हामीले लिने साससँगै शरीरभित्र छिर्ने यो ‘जहर’ले हाम्रो आयु छोट्याइरहेको छ ।

बुधबार मार्टिन चौतारीको हलमा वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले सन् २०२२ का ३६५ दिनमध्ये नेपालीले १३५ दिन मात्र स्वच्छ हावामा सास फेरेको तथ्यांक सुनाउँदा हलमा उपस्थित धेरैजना चकित भए ।

वायु प्रदूषणका कुरा सुन्न आएकाहरुलाई श्रेष्ठले ‘सन् २०२३ का १३५ दिन बितिसक्दा पनि हामीले पाँच दिन मात्रै स्वच्छ हावामा सास फेर्न पाएका छौं,’ भनेपछि माहोल एकाएक गंभिर बन्यो ।

श्रेष्ठले यी तथ्यांक सुनाइरहँदा काठमाडौं शहरमा पानी पर्न सुरु भइसकेको थियो । झट्ट हेर्दा वातावरण सफा देखिन्थ्यो । आँखाले पो वातावरण सफा देख्यो त । कपालको रौंको मोटाइभन्दा २० औं गुणा साना कणहरु हुन्छन् हावामा । यीनै कण जहर बनेर ‘हाम्रो श्वासनली, फोक्सो हुँदै रगतमा पुग्छन्,’ डा. रक्षा पाण्डले थपिन् ।

फोक्सो र सघन उपचार विशेषज्ञ डाक्टर पाण्डेले सुनाए अनुसार फोक्सोमा पुगेका यी कणहरुले रगतमा पुगेर ‘रियाक्सन’ गर्छन् । परिणामतः ‘दीर्घरोगीहरुको रोग बल्झिन्छ, कतिपयलाई नयाँ रोग लाग्छ । कोलेस्ट्रोलका रोगीलाई हृदयाघातको संभावना बढ्छ । दमका रोगीको दम बल्झिन्छ ।’

प्राणवायुमा नदेखिनेगरी फैलिएको ‘जहर’ को कहरलाई फेरि तथ्यांकबाटै देखाए श्रेष्ठले, ‘अहिले हामी बसिरहेको मार्टिन चौतारीको हलबाट सबैभन्दा नजिकको प्रदूषण मापन गर्ने ठाउँ नेपाल स्वास्थ अनुसन्धान प्रतिष्ठान हो । त्यहाँको वायू अहिले १५४ एक्यूआई (एअर क्वालिटी इन्डेक्स) छ । जुन अस्वस्थकर हावा हो ।’

एअर क्वालिटी इन्डेक्स (एक्युआई) अवस्था
०–५० स्वस्थकर
५१–१०० मध्यम
१०१–१५० दीर्घरोगी, बालबालिकाका लगि अस्वस्थ
१५१–२०० अस्वस्थकर
२०१–३०० अति अस्वस्थकर
३०१–४०० खतरनाक
४०१–५०० अति खतरनाक

विश्व स्वास्थ्य संगठनले सास फेर्नका लागि मानेको स्वच्छ हावाभन्दा नेपालको हावा १७ गुणा बढी खराब छ । ‘हाम्रो हावामा सास फेर्नु भनेको दैनिक ४ खिल्ली चुरोट खाए बराबर हो,’ श्रेष्ठ सुनाउँछन् ।

यही जहरीलो हावाका कारण ०७७ को चैतमा सरकारले चार दिन स्कुल बन्द गरेको थियो । यतिखेर कतिसम्म असर गरेको थियो भने भिजिबिलिटी घटेर चार दिनसम्म हेलिकोप्टर उडान ठप्प भएका थिए । आँखा पोल्ने, चिलाउने समस्या सामान्य भएको थियो । त्यतिखेर काठमाडौंको एअर क्वालिटी इन्डेक्स ४७० पुगेको थियो ।

डा. पाण्डेका अनुसार प्रदूषित हावामा हुने १० माइक्रोमिटर (माइक्रोन) र यसभन्दा ठूला कणहरुले आँखा पोल्ने, चिलाउने, नाक, घाँटी खसखस हुने, छालामा एलर्जी देखिने समस्या हुन्छ । यो भन्दा साना कणहरु भने श्वासनलीको माध्यमबाट शरीरभित्र छिर्छन् । विश्व स्वास्थ्य संगठनले २.५ माइक्रोमिटर र यसभन्दा साना कणलाई खतरनाक मानेको छ ।

०८०को वैशाख पहिलो साता मात्र काठमाडौं प्रदूषित हावा भएका शहरहरु मध्ये एक नम्बरमा थियो । ०७८ को जाडो याममा पनि नेपालभर वायु प्रदूषणले सास्ती दिएको थियो । अवस्था कतिसम्म पुगेको थियो भने सवारीसाधनबाट हुने प्रदूषण कम गर्न भनेर विज्ञहरुले लकडाउन वा जोर–बिजोर नम्बरका आधारमा सवारी चलाउने नियम बनाउन सरकारलाई सुझाएका थिए ।

संयुक्त राष्ट्रसंघले मानव अस्तित्वका लागि खतरा ठहर्‍याएको वायु प्रदूषणले मान्छेलाई मृत्युको मुखमा पुर्‍याउँछ । ‘वायु प्रदूषणका कारण विश्वमा बर्सेनि ७० लाख मानिसहरुको मृत्यु हुने गर्दछ । नेपालमा पनि बर्सेनि ४२ हजार मानिसहरुको मृत्यु हुने गर्दछ,’ वातावरण वैज्ञानिक श्रेष्ठ सुनाउँछन् ।

हावामा मिसिएको प्रदूषणले एकैचोटि मान्छेको ज्यान लिँदैन । ‘स्लो पोइजन’ जसरी सुस्त–सुस्त प्रदूषित वायुले ज्यान लिन्छ । ‘वायु प्रदूषणले एकैचोटि निसास्सिएर मान्छे मर्दैन । विस्तारै, विस्तारै मर्ने हो,’ डा. पाण्डे सुनाउँछिन्, ‘पछिल्लो २५ वर्षका वायु प्रदूषणले हाम्रो आयु औसतमा चार वर्ष दुई महिना छोटिएको छ ।’

समग्र नेपालीको औसतमा चार वर्ष दुई महिना आयु छोटिए पनि सिराह, सप्तरी, महोत्तरी, बारा लगायतका मधेशका जिल्लामा बस्नेहरुको जीवनबाट प्रदूषित वायुले ७ वर्ष आयु खोसिरहेको छ । यो तथ्यांक सुनाइसकेर डा. पाण्डेले भनिन्, ‘१ लाख मानिसको मृत्यु हुँदा २२२ जना वायु प्रदूषणका कारणले मरेका छन् । हामी आत्तिनुपर्नेबेला भइसक्यो । यो मृत्युको जिम्मेवारी कसले लिने हो ?’

डा. पाण्डेको जवाफमा संविधानको धारा ३०– ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ,’ उद्धृत गरिन् मानव अधिकार तथा वातावरण अधिवक्ता रोशनी गिरीले ।

बाँच्न पाउने मानवीय हकको परिपुरक हो स्वच्छ वातावरणमा बाँच्न पाउने हक । नेपालमा ०५० को दशकदेखि नै अधिकारकर्मीहरु स्वच्छ वातावरणको मानवीय अधिकारका लागि संघर्षरत थिए । तर, सरकारले वायु प्रदूषणको विषयलाई प्राथमिकतामा नराखेकै कारण प्रदूषणको जोखिम घट्नुको सट्टा बढेको गिरीले बताइन् ।

वातावरण संरक्षण ऐन २०७६, औद्योगिक व्यवसाय सञ्चालन ऐन २०७६, जनस्वास्थ्य ऐन २०७५, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, वातावरण नीति २०७६ लगायत अनेक कानूनमा वायु तथा वातावरण प्रदूषण नियन्त्रण र यसको क्षतिपूर्तिबारे गरिएको व्यवस्था कडाइका साथ सरकारले लागु नगर्दा नागरिक प्रदूषणको शिकार भइरहेको गिरीले सुनाइन् ।

‘सरकार आफैंले प्रदूषण नगरे पनि उसले कानूनले तोकेको दायित्व पुरा गरेन । जसका कारण हामी प्रदूषणको चपेटमा पर्‍यौं,’ गिरीले सुनाइन् । पेट्रोलियम पदार्थमा प्रदूषण कर उठाएर सरकारले अरबौं रुपैयाँ जम्मा गरेपनि त्यसको सदुपयोग अझै नगरेकोमा पनि उनले गुनासो गरिन् ।

‘सरकारले हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल आफैं राख्नुपर्छ भन्छ । तर, हावा नै प्रदूषित भएपछि हामी कसरी स्वस्थ रहन सक्छौं ?’ गिरीले प्रश्न गरिन् ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गरेको असरबारे सरकारलाई सचेत बनाउन नागरिक आफैं सक्रिय नभई सरकारलाई उत्तरदायी बनाउन नसकिने उदाहरण सुनाए वातावरणविद भुषण तुलाधरले ।

बेलायतको लण्डनमा ९ वर्षको उमेरमा दमका कारण मरेकी बालिका इलाकी आमाले छोरीको मृत्युको कारण खोजिन् । चिकित्सहरुले वायु प्रदूषण पनि इलाको मृत्युको कारण भएको बताएपछि इलाकी आमाले अदालतमा मुद्दा हालिन् । यसैको परिणाम इलाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको कारणका रुपमा ‘अत्याधिक वायु प्रदूषणका कारण भएको दम’ लेखियो ।

‘लिखितम इतिहासमा उनी वायु प्रदूषणका कारण मरेकी पहिलो व्यक्ति हुन्,’ तुलाधर सुनाउँछन्, ‘यसरी नै हामीले यहाँ पनि कानूनी र अभियान सञ्चालन गरेर वायु प्रदूषणका बारेमा संघर्ष गर्नुपर्छ ।’

सर्वसाधारणले आन्दोलन गरेकै कारण काठमाडौं उपत्यकामा रहेका धेरै धुवाँ फाल्ने ईंटा भट्टा, विक्रम टेम्पो, चोभार सिमेन्ट कारखाना हटेको सुनाउँदै तुलाधरले भने, ‘यहाँ हामीले साइकल सिटी अभियान चलायौं र चलिरहेको छ । मेलम्चीको पाइप गाड्ने समयमा बढेको प्रदूषण नियन्त्रण गर्न भनेर ‘नो मोर मास्कमाण्डु’ अभियान चल्यो । अब नीतिगत रुपमै सरकारलाई दबाव दिनुपर्छ ।’

काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पसका विद्यार्थीहरुले २०७३ चैतमा बढ्दो प्रदूषण रोक्न माग गर्दै शालिकहरुलाई मास्क लगाइदिने अभियान चलाएका थिए ।

वायुप्रदूषणले मानव स्वास्थ्यसँगै वातावरणमा पनि असर पार्छ । वायु प्रदूषण उच्च हुँदै जाँदा औसत तापक्रममा वृद्धि हुन्छ । प्रदूषित हावाका कारण अम्लीय वर्षा हुने संभावना हुन्छ । यस्तो भएमा मानव, माटो, बोटविरुवा, बालिनालीमा समेत असर गर्छ ।

वायु प्रदूषणले खुला स्थानमा लामो समय काम गर्नेरुलाई बढ्ता असर गर्छ । ‘सडकमा व्यापार गर्ने, खुला ठाउँमा धेरै समय बसेर काम गर्नेहरुमा वायु प्रदूषणले पार्ने असर छिटो देखा पर्छन्,’ डा. पाण्डे सुनाउँछिन् ।

यो विषाक्त हावाले अभिभावकलाई कतिसम्म त्रसित बनाएको छ भने उत्तम श्रेष्ठ सुनाउँछन्, ‘मेरो सात वर्षको छोरालाई सानैदेखि दम देखिएको छ । मैले उसलाई प्रत्येक हप्ता जस्तो इन्हेलर दिनु पर्दछ । अक्सर उसको स्कुलबाट दिउँसो फोन आउँदा म डरले खङ्ग्रङ्ग हुनेगर्छु, कतै उसलाई आस्थमा अट्याक त भएन भनेर,’ विषाक्त हावाले श्रेष्ठ जस्ता धेरै अभिभावकको चैन खोसेको छ ।

मानव सिर्जित र प्राकृतिक कारणले बतासमा जहर घोलिन्छ । तर, प्राकृतिक भन्दा मानव सिर्जित कारणले नै बढ्ता प्रदूषण फैलाएको बताउँछन् वातावरण इन्जिनियर निरन्जन श्रेष्ठ । उनका अनुसार इन्धन, डढेलो, औद्योगिक र पूर्वाधार विकासका कामबाट हुने प्रदूषणको मात्रा उच्च छ ।

६ वर्ष अगाडि मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउँदा सडक खनेर पुर्ने काम नगर्दा धुलो उडेर काठमाडौंले त्यतिखेर ‘धुलोमाण्डौं’को नाम पाएको थियो ।

यही उदाहरण सुनाउँदै इन्जिनियर श्रेष्ठ सुनाउँछन्, ‘पूर्वाधार विकासका काम गर्दा खनेर लामो समयसम्म धुलो उड्नेगरी छाडिन्छ । सडक किनारमा निर्माण सामग्री अलपत्र पारिन्छन् । ठूला संरचना बनाउँदा धुलो छेक्ने जाली प्रयोग गरिँदैन । बालुवा, ढुङ्गा, गिट्टी, सिमेन्ट उद्योग वातावरण अनुकूल नहुँदा निरन्तर वायु प्रदूषण बढ्दो छ ।’ यी कामहरुमा प्रदूषण नियन्त्रणको मापदण्ड पुरा भए/नभएको सरकारले नियमन नगरिदिएर नागरिकको जीवन जोखिममा परेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१२ मा सार्वजनिक गरेको तथ्यांक अनुसार त्यतिखेर एक वर्षमा ९ हजार नेपालीको मृत्युमा एउटा कारण वायु प्रदूषण हुन्थ्यो ।

वायु प्रदूषण सम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था स्टेट अफ ग्लोबल एअरका अनुसार सन् २०२० सम्म पुग्दा ४२ हजार नेपालीलाई मृत्युको मुखमा पुर्‍याउने कारण बन्यो प्रदूषित वायु । ‘यो प्रदूषणको ३० प्रतिशत मात्र घटाउन सक्यौं भने हाम्रो खोसिएको एक वर्ष आयु फिर्ता आउँछ,’ डा. पाण्डे भन्छिन् ।

डा. पाण्डे सुझाउँछिन्, ‘दम, हृदयाघात र श्वासप्रश्वास रोगले कसैको मृत्यु भएमा एकपटक सोचौं, ‘यदि स्वच्छ हावा भएको भए…?’

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?