+
+

नागरिकता विधेयकबारे राष्ट्रपति अध्ययनमै हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १३:५२

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उनको प्रतिवद्धता छ ।

गत वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ मा राखेकी थिइन् ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमेत नागरिकता विधेयकको विषयमा के गर्ने भन्ने विषयमा अध्ययनमा रहेको बताए ।

सरकारले उक्त विधेयकका विषयमा पूर्व महान्यायाधिवक्ता, वर्तमान महान्यायाधिवक्ता र संविधान तथा कानुनका विज्ञसँग छलफल गर्दा सबैजसोको मत राष्ट्रपति कार्यालयमा होल्ड भएकै विधेयक प्रमाणीकरण गर्न सुझाव आएको प्रधानमन्त्रीको भनाइ छ ।

उक्त छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको र उनी अध्ययनकै क्रममा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘मैले राष्ट्रपतिलाई जानकारी गराएँ । राष्ट्रपतिले पनि यो बारेम कानुनविद र संविधानविद्सँग छलफल गर्छु भन्नुभयो, सायद उहाँ अध्ययनका क्रममा हुुनुहुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यही विधेयक प्रमाणीकरण गर्न संसदले संकल्प प्रस्तावमार्फत अनुरोध गर्ने वा मन्त्रिपरिषदबाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्ने सम्भावना रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘नयाँ सदनबाट या त संकल्प प्रस्ताव मार्फत या अरु कुनै प्रस्तावमार्फत विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो, अर्को, क्याबिनेटबाट डिसिजन गरेर अनुरोध गर्ने बाटो’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयक शून्यमा गएको र त्यसलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि रहेको बताए । तर जे गर्ने भए पनि एक महिनाभित्र टुंगोमा पुग्ने उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?