+
+

लगातार किन भासिँदैछ न्युयोर्क सहर ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ८:०२

अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भारीभरकम भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ ।

आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह धस्सिन्छ । तर कुनै सहरको भौतिक संरचनाको वजनका कारण सहरको जमिन नै भासिइरहेको भने पहिलो घटना हो ।

वैज्ञानिक अध्ययन अनुसार न्युयोर्क सहर हरेक वर्ष १ देखि २ मिलिमिटरले भासिइरहेको छ । जमिनमा अत्यधिक अग्ला भारी संरचनाहरु नै यसका कारक तत्व हुन् ।

न्युयोर्क सहरमा साढे ३ लाख अत्यन्तै धनी (सुपर रिच) मानिसहरु बसोबास गर्दछन् । त्यसैले यसलाई संसारकै सबैभन्दा धनी सहर पनि भनिन्छ ।

हुनत १÷२ मिलिमिटर भास्सिने कुराले तपाईंलाई खासै डर नलाग्न सक्दछ । तर यो औषत धसाइ हो । सहरका केही भागहरु त निकै तीव्र गतिमा धसिइरहेका छन्, जुन निकै भयानक छ ।

न्युयोर्कका यस्ता जोखिमपूर्ण इलाकामा ८० लाख मानिस बस्दछन् । जुन निकै होचो भूभाग हुन् र तीव्र रुपमा भासिइरहेका छन् । यस्ता ठाउँमा पानी भरिने खतरा सदैव रहन्छ । त्यसैले जमिन भासिँदै गएपछि पर्खाल ठड्याएर सामुद्रिक लहरलाई रोक्न पनि सम्भव हुनेछैन ।

अमेरिकी जियोलोजिकल सर्भे (युएसजिएस) का भूगर्भविद् टम पार्सन्स तथा युनिभर्सिटी अफ रोड आइल्याण्डका शोधकर्ताहरुका अनुसार सामुद्रिक पर्खाल बनाउँदा पनि उल्टै सहरकै भार बढ्नेवाला छ । जुन झनै जोखिमपूर्ण हुन्छ । शोधकर्ताका अनुसार यो अध्ययनले सामुद्रिक तटीय आसपासका क्षेत्र, नदी आसपास तथा तालहरुको नजिक ठूला भौतिक संरचना निर्माण गर्दा जमिन भासिने खतरा रहने देखाएको छ ।

टम पार्सन्सका अनुसार यसबाट बाढीको पनि खतरा हुन्छ । सन् २०२० सम्म मानिसहरुले धेरै भौतिक संरचनाहरु निर्माण गरेर पृथ्वीको वजन बढाइदिएका थिए । मानिसले पृथ्वीमा जति संरचना निर्माण गरेको छ त्यसको कूल वजन पृथ्वीमा भएका सबै जीवहरुको वजन भन्दा पनि धेरै छ । भवन तथा सडकहरुको वजन पृथ्वीमा रहेका कूल वनस्पती तथा झाडीहरुको वजन भन्दा अधिक छ ।

टम पार्सन्स नेतृत्वको शोधकर्ता समूहले न्युयोर्क सहरका १० लाख भवनको वजनको हिसाब निकाल्यो जुन ७ खर्ब ६४ अर्ब किलोग्राम रहेको छ । अर्थात् ७६ हजार ४ सय करोड किलोग्राम । उनीहरुले सहरलाई १०० गुणा १०० वर्ग मिटरका टुक्रामा विभाजन गरे । त्यसपछि भवनको वजनलाई गुरुत्वाकर्षणको हिसाबमा मापन गरी त्यसबाट कति चाप न्युयोर्क सहरको सतहमा परिरहेको छ भन्ने हिसाब निकालियो ।

यो अध्ययनमा केवल भवनहरुको मात्रै वजन गणना गरिएको छ । यसमा सडक, पुल, रेलवे तथा अन्य संरचनाहरुको वजन समावेश गरिएको छैन । यो अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरुलाई न्युयोर्क सहरको भूगोलको अध्ययन गर्न सहज हुनेछ ।

न्युयोर्कको जमिन बालुवा, सिल्ट, माटो तथा चट्टानबाट बनेको छ । वैज्ञानिकका अनुसार माटोयुक्त जमिन चट्टानी जमिनको तुलनामा धस्सिने सम्भावना धेरै हुन्छ ।

न्युयोर्कको म्यानहटन पछिल्लो केही दशकमा २९४ मिलिमिटर धस्सिइसकेको छ, खासगरी ठूला भौतिक संरचना निर्माण पश्चात् । टम र उनको टोलीले स्याटेलाइट डाटामार्फत् न्युयोर्कको अध्ययन गरेका हुन् । जसबाट सहरीकरणको बढ्दो मात्राको बारेमा थाहा हुन्छ ।

लगातारको उत्खनन, ढल निर्माण, भवनको जग खन्ने तथा ठूला मेसिनबाट गरिने ड्रिलिङका कारण जमिन धस्ने खतरा बढ्दछ । केवल न्युयोर्क मात्र होइन इण्डोनेसियाको जकार्ता पनि धस्सिने खतरामा छ । सन् २०५० सम्ममा जकार्ता सहर समुद्रमा डुबिसक्ने आँकलन वैज्ञानिकहरुको छ । सहरका कतिपय भागहरु यतिबेला पानीमुनि ११ सेन्टिमिटरसम्म डुबेका हुनेछन् ।

म्यानहटन सहर अहिले सामुद्रिक जलस्तरभन्दा केवल एक वा दुई मिटर मात्रै माथि छ । सन् २०१२ मा आएको स्याण्डी आँधी तथा सन् २०२१ को इडा आँधीबाट के प्रष्ट भएको छ भने जतिसुकै बलियो भौतिक संरचना भएको सहर पनि समुद्रको पानीमा क्षणभरमै डुब्न सक्दछ र बाढीबाट प्रभावित हुनसक्छ । संसारका सबै तटीय सहरहरुमाथि यस्तो खतरा मडारिरहेको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?