+
+

प्रधानमन्त्रीको निर्णय बदर गर्दै स्वास्थ्य मन्त्रीले बनाए नयाँ अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १२:५४

५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ दिनको अन्तरमा दुई जनालाई डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षको नियुक्तिपत्र दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ गतेबाट लागु हुने गरी तीन वर्षका लागि लक्ष्मण सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले १७ वैशाखमा मन्त्रिस्तरीय निर्णय गरेका हुन् ।

त्यसको तीन दिनपछि २० वैशाखमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भए । त्यसको ६ दिनपछि मन्त्रालयले डडेलधुरा अस्पताललाई समेत बोधार्थ दिएर सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो ।

तर त्यसको ९ दिनपछि स्वास्थ्यमन्त्री बस्नेतले ३ जेठमा करुणाकर ओझालाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरे । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री बस्नेतकै जोडबलमा प्रधानमन्त्रीको निर्णय बदर गरेर नयाँ नियुक्ति दिइएको हो ।

मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रोजिना ताण्डुकारको हस्ताक्षर रहेको पत्रमा ‘तपाईंलाई अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा (२) क बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा ३ वर्ष पदावधि रहने गरी मनोनित गरिएको व्यहोरा जानकारी गराएको छु’ भन्ने उल्लेख छ ।

मन्त्रालयले सिंहको नियुक्ति भने ३ जेठदेखि नै बदर हुने पत्र समेत पठाएको छ ।जबकी अस्पताल विकास गठन आदेश–२०७६ मा अध्यक्ष तथा सदस्यहरुको समयावधि तीन वर्ष हुने भनिएको छ ।

राजीनामा दिएमा, पदावधि पूरा भएमा, मृत्यु भएमा र नेपालको कानुन विपरीत भएमा वा गैह्रकानुनी काममा संलग्न भएको पुष्टि भएमा मात्र पद रिक्त हुने भनिएको छ । दफा ३ को उपदफा ४ मा उपदफा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटाउ सक्ने अधिकार दिइएको छ । तर हटाउनु पुर्व स्पष्टीकरणको मौका पनि दिनुपर्ने र हटाउन प्रमाणित कारण उल्लेख गर्नुपर्ने भनिएको छ ।

तर स्वास्थ्यमन्त्री बस्नेतले भने गठन आदेशअनुसार सफाइको मौका नै नदिई सिंहलाई अध्यक्षबाट हटाएर हतारमा मनपरी रूपमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?