+
+

सरकारी वकिलले भोलि टेकनाथ र आङटावाको बयान लिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २१:०५

५ जेठ, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भोलि (शनिबार) भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र पूर्वसभासद् आङटावा शेर्पाको बयान लिने भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोपमा पक्राउ परेका दुवै जनाको बयान लिन शनिबार पनि सरकारी वकिलको कार्यालयले काम गर्ने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार मुद्दा अदालतमा पेश गर्नुपर्ने समय नजिकिइरहेका बेला बाँकी कामलाई यथाशीघ्र पूरा गर्न शनिबार पनि कार्यालय खुला रहने भएको छ ।

‘यो अनुसन्धान र अभियोजनसँग जोडिएका अधिकारीहरुले शनिबार पनि आएर काम गर्नुहुन्छ, मुद्दा लैजाने तयारी भइरहेकाले शनिबार पनि काम गर्न लागिएको हो’, उनले अनलाइनखबरसँग भने । भोलि शनिबारसहित ६ दिनभित्र प्रहरीले यो मुद्दा सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गर्नुपर्छ ।

प्रहरीले यो प्रकरणमा १२ चैत २०७९ मा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँथचरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङको पथरी शनिश्चरेका सागर राई पक्राउ गरेका थिए ।

उनीहरुको बयानका आधारमा १९ वैशाख २०८० मा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका थिए । त्यसपछि यो प्रकरणमा हाई प्रोफाइल नेक्सस सतहमा आएको थियो ।

हालसम्म यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् ।

प्रहरीले पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध, ठगी, किर्ते लगायतका कसूरमा मुद्दा दर्ता गर्न रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?