+
+

अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते १६:५७

६ जेठ, काठमाडौं । अर्थ समितिको शनिबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ ।

सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोहोर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच भनाभन भएको हो । समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले ‘डाँडाको टुप्पोमा भ्यूटावर … कस्तो बेबकुफ’ भनेपछि मन्त्री महतले पुराना कुरा नदोहोर्‍याउन, अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए ।

सांसद श्रेष्ठले आफ्ना भनाइ राख्दा मन्त्री महतले मन्त्री महतले आफूले कुरा बुझिसकेको भन्दै श्रेष्ठलाई रोक्न खोजेका थिए । सांसद श्रेष्ठले पनि मन्त्री महतलाई हतार नगर्न र आफ्नो कुरा सुन्न आग्रह गरेका थिए । सांसद श्रेष्ठले मन्त्रीहरुले समितिको बैठकमा आउँदा हतार गर्न नहुने भन्दै हतार भए जानुहोस्, भन्दै असहमति प्रकट गरेका थिए ।

मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभन

सांसद श्रेष्ठ : ‘पुँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो, त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई । त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आँकलन हुँदैन, उदाहरणको लागि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ । हाम्रा योजना मनगढन्ते हुन्छन् । एक पटक भ्यूटावरको कल्चर आएको थियो, डाँडाको टुप्पोमा भ्यूटावर भनेको कस्तो बेबकुफ हो । डाँडा आफैं भ्यूटावर हो नि त । व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ । १३ करोडको धनियाँ आयात गर्छौं त्यसमा धनियाँमा आत्मनिर्भर बनौँ न ।

अर्थमन्त्री महत : भ्यू टावरको कुरा मैले संसददेखि सुनेको सुन्यै छु, यो कुराको ग्रहण गरिसकेँ ।

सांसद श्रेष्ठ : निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन । वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौं । सहकारी बेस लाइन अर्थतन्त्र हो यो ।

अर्थमन्त्री महत : बुझेँ बुझेँ ।

सांसद श्रेष्ठ : मन्त्रीज्यू हतार नगर्नस् न ।

जवाफ नै लामो दिइराख्नुभएको छ तपाईले । प्रश्न सोध्दा तपाईलाई ध्यानाकर्षण त गराउनुपर्छ नि ।

लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको छ, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा छैन । अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् ?

यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने ?

तपाईलाई हतार भयो भनेर हुन्छ ? कि बैठक नै राख्नुभएन । सभापतिज्यू यस्तो हो भने बैठक नै नराखिदिनुहोस् । उहाँलाई हतार छ ठीक छ जानुहोस् ।

मन्त्री महत : तपाईहरुले पटकपटक यी कुराहरु राख्नुभएको छ, जिज्ञासा मात्रै राख्नुस् न । मैले ग्रहण गरेको छु, व्याख्यात्मक भन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु ।

सांसद श्रेष्ठ : बुझेको भए संकट किन छ ?

मन्त्री महत : आजको आजै संकट समाधान हुन्छ र ? त्यसको लागि म इमान्दार प्रयास गर्छु ।

सांसद श्रेष्ठ : आजको बैठकको औचित्य के ?

मन्त्री महत : सभापतिज्युले बोलाएर म आएको हो नि ।

सांसद श्रेष्ठ : तपाई त समितिप्रति जवाफदेही हुनुहुन्छ नि .. ।

हेर्नुहोस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?