+
+

केराटिन ट्रिटमेन्टले स्वास्थ्यमा असर गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १३:३३

काठमाडौं । कपाललाई टल्काउन, कर्ली कपाललाई सिधा बनाउन हेयर स्ट्रेट र केराटिन गराउने चलन निकै चलेको छ । कपाल सिधा बनाउने विकल्पको रुपमा पछिल्लो समय केराटिन ट्रिटमेन्ट निकै चलेको छ । यसले कपाललाई कुनै असर नगर्ने र कुनै साइड इफेक्ट पनि नगर्ने दाबी गरिन्छ । तर केराटिन ट्रिटमेन्ट यस्तै हुन्छ त ?

के हो केराटिन ?

शरीरमा नङ, छाला र रौं निर्माणका लागि केराटिन नामक प्रोटिन आवश्यक हुन्छ  । कपालमा विभिन्न रसायनको प्रयोग गर्दा यो नष्ट हुँदै जाने र कपालमा समस्या देखिन थाल्छ । यसको समाधानका लागि केराटिन क्रिमको प्रयोग गरेर कपाललाई प्रोटिन प्रदान गर्न सहयोग गर्छ । कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ ।

केराटिन ट्रिटमेन्ट प्रयोग गरिने केराटिन क्रिममा फार्मल्डहाइड मिसाएको हुन्छ । फार्मल्डहाइडको काम कपाल लामो समयसम्म सिधा र नरम बनाउने मद्दत गर्छ । तर यसको बढी प्रयोगले फाइदा मात्र नभई हानि पनि उत्तिकै गर्ने वरिष्ठ छाला तथा यौन विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् ।

डा. सविना भट्टराई

केराटिन र स्ट्रेट क्रिममा फार्मल्डहाइड हाम्रो कपाललाई चाहिने प्रोटिनभन्दा पनि पाँच गुणा बढी हुने भएकाले दुवैले कपाललाई हानि पुर्‍याउने डा. भट्टराई भन्छिन् । केराटिन ट्रिटमेन्ट र हेयर स्ट्रेट दुवै उत्तिकै हानिकारक छन् ।  त्यस्तै अनुसन्धानका अनुसार कपाललाई जम्मा ०.२ प्रतिशत फार्मल्डहाइड (केराटिन) भए पुग्नेमा केराटिन क्रिममा ०.९६ देखि १.४ प्रतिशतसम्म मिसाइएको हुन्छ । जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

केराटिनका साइट इफेक्ट

केराटिनले आँखामा जलन हुने, टाउको दुख्ने, छाती दुख्ने, बान्ता आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउन सक्छ । साथै यसले केराटिन गर्नेलाई मात्र नभई केराटिन गराउने ब्युटिसियनलाई पनि छालासम्बन्धी समस्या, टाउको दुख्ने, आँखा चिसो हुनेजस्ता समस्या हुने डा. भट्टराई बताउँछिन् ।

काठमाडौं ठमेलस्थित फ्यासिनेटेट ब्युटी ट्रेनिङ सेन्टरकी सञ्चालिका लक्ष्मी महत हेयर स्ट्रेटभन्दा केराटिन अझ बढी हानिकारक भएको बताउँछिन् । ‘अहिले धेरै ब्युटीपार्लरमा सस्तोमा केराटिन गराइरहेको देखिन्छ । ग्राहक पनि जहाँ सस्तो त्यहाँ जाने भइहाल्छन् । तर यसले स्वास्थ्यमा भने असर पारिरहेको हुन्छ ।’

जोखिम

केराटिन क्रिममा हुने फार्मल्डहाइड छालाको माध्यमबाट शरीरमा प्रवेश गरेमा नसासम्बन्धी रोग हुन सक्ने उनी बताउँछिन् । त्यस्तै गर्भवती महिलाले केराटिन गरेमा गर्भपात हुन सक्ने तथा प्रजनन् स्वास्थ्यमा समस्या देखिने जोखिम हुन सक्छ । यद्यपि अनुसन्धानअनुसार यसले भविष्यमा क्यान्सर समेत हुने जोखिम बढाउँछ ।

पटकपटक फार्मल्डहाइड भएकाले कपालमा केराटिन गर्दा कपाल झर्ने, टुक्रिने हुन्छ । साथै आइसनको आइरनको तापक्रमको कारण ठाउँठाउँमा तालु हुने सम्भावना हुने डा. भट्टराई बताउँछिन् ।

डा. भट्टराईका अनुसार सकेसम्म फार्मल्डहाइड नभएको केराटिनको क्रिम प्रयोग गर्नु उत्तम हुन्छ । जसमा ग्लाइकोलिक एसिड भएको केराटिन, हेयर बोटक्स ओलाप्लेक्स प्रयोग गर्दा लाभदायक हुन्छ । फार्मल्डहाइडको मात्र कम भएको केराटिन गर्ने प्रयोग गर्दा उचित हुने भट्टराईको सुझाव छ ।

केराटिन गर्न कति खर्च ?

अहिले धेरै पार्लरमा दुई हजारदेखि २५ सय रुपैयाँमा केराटिन गराइरहेको पाइएपनि त्यतिमा सम्भव नहुने सौन्दर्यकर्मी महत बताउँछिन् । ‘केराटिन क्रिम एकदम सस्तोमा पनि कम्तिमा ४० हजार पर्छ,’ उनी भन्छिन्, ‘त्यसले लगभग कपाल हेरेर बढीमा ३–४ जनालाई पुग्छ । त्यसैले केराटिन सस्तोमा गरायो भन्दैमा जहाँ पायो त्यहाँ गर्नु राम्रो हुँदैन ।’

लक्ष्मी महत, सौन्दर्यकर्मी

केराटिन क्रिम, ब्युटिसियन र प्रयोग गर्ने आइरनमा निर्भर हुने महत बताउँछिन् । अहिले सस्तोमा केराटिन गरेर पछि कपाल झर्ने, टुक्रिने समस्या देखा परिरहेको छ । केराटिन गराउँदा अनुभवी ब्युटिसियनबाट मात्रै गराउन उनी सुझाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?