News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व पोलियो दिवसका अवसरमा रोटरी क्लबहरुले शनिबार बुटवलमा जनचेतनामूलक र्याली निकालेका छन्।
- सांसद ज्ञानु पौडयालले पोलियो उन्मूलनमा रोटरीको योगदान अग्रणी रहेको बताउँदै खुला सिमानाका चुनौती सामना गर्न सहकार्य आवश्यक रहेको भनिन्।
- रोटरी अगुवा एजाज आलमले खुला सीमा, सीमापार आवतजावत र खोप नलगाएका बालबालिकाका कारण पोलियो जोखिम रहेको बताउँदै निगरानी प्रणाली बलियो बनाइरहेको खुलाए।
७ कात्तिक, बुटवल । विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरुले शनिबार बुटवलमा जनचेतनामूलक र्याली निकालेका छन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ को आयोजना र अन्य विभिन्न रोटरी क्लबहरुको सहभागितामा चेतनामूलक र्याली प्रदर्शन भएको हो ।
बुटवलको रामनगरस्थित गौतमुबद्ध सामुदायिक मुटु अस्पतालबाट सुरु भएको र्याली राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पालाल पार्क हुँदै ट्राफिकचोकसम्म पुगेको थियो ।
सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य ज्ञानु पौडयालले पोलियो उन्मूलमा रोटरी क्लबको योगदान अग्रणी रहेको बताइन् ।
पोलियो उन्मूलनमा खुला सिमाना चुनौती रहेको भन्दै यसका लागि सबैको सहकार्य आवश्यक रहेको सांसद पौडेलको भनाइ छ ।
रोटरी क्लब इन्टरनेसनल अन्तर्गत रुपन्देहीका अगुवा रोटरियन एवं गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले नेपालले पोलियो हुने भाइरसको सम्भावित पुन:प्रवेश समयमै पत्ता लगाउने निगरानी प्रणाली बलियो बनाइरहेको तर खुला सीमाना, सीमापार आवतजावत र खोप नलगाएका बालबालिका जोखिमका कारण रहेका औंल्याए ।
पोलियो संक्रमणबाट जोगिने उपायबारे लक्षित समुदायमा जनचेतना विस्तारलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष आलमको सुझाव छ ।
पोलियो रोग लागिसकेपछि पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यक रहेको र्याली आयोजक संस्थाका बालकृष्ण पाण्डेले बताए ।
पोलियो उन्मुलन गर्न रोटरीले सन् १९७९ अक्टोबर २४ देखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । रोटरीले सोही मितिलाई पोलियो दिवसको रुपमा मनाउँदै आएको छ । नेपालमा सन् २०१० यता पक्षघात गराउने पोलियो संक्रमण पुष्टि भएको छैन ।
सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले नेपाललाई पोलियोमुक्त क्षेत्रका रूपमा प्रमाणीकरण गरेको थियो । नेपालले २०२६ अप्रिल २० मा सार्वजनिक गरेको विवरणअनुसार वीरगञ्ज महानगरपालिकामा नयाँ वातावरणीय निगरानी केन्द्र स्थापना गरिएको छ । यससँगै नेपालमा ढलको नमुना परीक्षण गर्ने केन्द्रको संख्या १० पुगेको छ ।
प्रतिक्रिया 4