+
+

को हुन् बहुचर्चित फिल्म ‘केरला स्टोरी’की नायिका अदा शर्मा ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १२:०७

काठमाडौं । गत ५ मेमा रिलिज भएको भारतीय फिल्म ‘द केरला स्टोरी’ ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा छ । रिलिज हुनेबित्तिकै फिल्मले धेरै विवादको सामना गर्नुपर्‍यो । यी विवादको सबैभन्दा ठूलो कारण फिल्मको कथा नै थियो ।

निर्देशक सुदीप्तो सेनको यो फिल्म केरलाका हिन्दू महिलाको कथा हो, जसलाई धर्म परिवर्तन गरेर सिरिया लगिएको थियो । निर्माता तथा निर्देशकले यसलाई सत्य घटनाबाट प्रेरित भनेका छन् । चुनावी सभामा चर्चा हुन थालेपछि ‘द केरला स्टोरी’को विवाद झनै बढ्यो ।

यसलाई उत्तरप्रदेश, मध्यप्रदेश, हरियाणाजस्ता राज्यमा करमुक्त बनाइएको थियो भने पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको थियो । यो फिल्म तमिलनाडुका धेरै थिएटरमा प्रदर्शन भएन । केरलामा पनि फिल्मलाई प्रतिबन्ध लगाउन माग गरिएको थियो तर उच्च अदालतले त्यसो गर्न अस्वीकार गरेको थियो ।

फिल्मसँगै अभिनेत्री अदा शर्मा पनि चर्चामा आएकी छिन् । फिल्मको कथा तीन केटीको वरिपरि घुमेको छ । यसमा अभिनेत्री अदा शर्माले मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनी धेरै वर्षदेखि अभिनय गरिरहेकी छिन्, तर यसअघि उनले त्यति लोकप्रियता पाएकी छैनन् ।

तमिल परिवारकी ३१ वर्षीया अदा मुम्बईमा हुर्किएकी हुन् । १२ कक्षा गरेपछि उनी मोडलिङमा लागिन् र जिमनास्ट बन्ने तालिम पनि लिएकी थिइन् । उनी कत्थकका साथै साल्सा नृत्य पनि गर्छिन् । उनको फिल्मी करिअर भने त्यति सहज रहेन । बलिउडमा आफ्नो स्थान बनाउनुअघि उनले तमिल र तेलुगू फिल्ममा काम गरिन् । बलिउडमा उनको यात्रा निर्देशक तथा निर्माता विक्रम भट्टको सन् २००८ मा आएको फिल्म ‘१९२०’ बाट सुरु भएको थियो ।

अदाले ‘कमाण्डो २’, ‘कमाण्डो ३’ र ‘हसी तो फसे’ जस्ता फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । उनलाई जति दक्षिण भारतीय फिल्मबाट लोकप्रियता मिल्यो, उति बलिउडमा मिलेन । उनले ‘पुकार’, ‘द हलिडे’, ‘पति पत्नी और पंगा’, ‘ऐसा वैसा प्यार’ जस्ता वेब सिरिजमा काम गरिसकेकी छन् ।

अदा १५ वर्षदेखि बलिउडसँग जोडिएकी छन् । तर ‘द केरला स्टोरी’ रिलिज भएपछि अहिले जति चर्चा छ, त्यसअघि यस्तो कहिल्यै भएन । हालैको एक अन्तर्वार्तामा उनले आफ्नो वास्तविक नाम अदा शर्मा नभई पर्दाका लागि मात्र नाम राखेको बताएकी छन् ।

एक युट्युबरलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो वास्तविक नाम चामुण्डेश्वरी अय्यर रहेको बताइन् । बोलीचालीको भाषामा नाम अलि अप्ठ्यारो भएकाले नाम परिवर्तन गर्ने निर्णय गरेको उनले बताइन् । अदालाई इन्स्टाग्राममा ७३ लाखले फलो गरेका छन् । सामाजिक सञ्जालमा उनी तस्वीर र भिडियो प्रायः सेयर गरिरहेकी हुन्छिन् । ती भिडियोमा क्लासिकल डान्सदेखि जिम्न्यास्टिकसम्मका सीप देख्न पाइन्छ ।

उनले आफ्नो इन्स्टाग्राममा एकल यात्राको बारेमा कुरा गर्दै हजुरआमासँग धेरै रोचक भिडियो पनि बनाएकी छिन् । अदा आफ्नो व्यक्तिगत जीवन वा आफ्नो फिल्मी करिअरको लागि यसअघि कहिल्यै पनि हेडलाइनमा थिइनन् र कहिल्यै पनि विवादमा परेकी छैनन् । तर ‘द केरला स्टोरी’ ले उनको जीवनमा नयाँ ट्विस्ट ल्याएको छ । उनलाई मानिसले चिनेका मात्रै नभएर चर्चा पनि भइरहेको छ ।

अदा शर्मा अहिले आफ्नो फिल्मको प्रमोसनमा व्यस्त छिन् । फिल्मका निर्देशक सुदीप्तो सेनसँग धेरै ठाउँमा गएर आफ्नो फिल्मको प्रचार गरिरहेकी छन् । हालै उनी एक कार्यक्रमका लागि तेलंगनाको करीमनगर जाँदै थिइन् तर बाटोमा उनको कार दुर्घटनामा परेको थियो । जसका कारण कार्यक्रम रद्द भएको हो ।

यस घटनाको जानकारी दिंदै फिल्मका निर्देशक सेनले ट्वीटरमा लेखेका छन्, ‘हामी एक कार्यक्रममा आफ्नो फिल्मको बारेमा कुरा गर्न करिमनगर जाँदै थियौं तर दुर्भाग्यवश स्वास्थ्यमा समस्या आएपछि त्यहाँ पुग्न सकेनौं । म करीमनगरका जनतासँग हार्दिक माफी चाहन्छु । हामीले हाम्रा छोरीलाई बचाउन यो फिल्म बनाएका छौं, कृपया हामीलाई समर्थन गरिरहनुहोस् । सोही क्रममा अदाले पनि सामाजिक सञ्जालमा यो दुर्घटनाको उल्लेख गर्दै ट्वीटरमा लेखेकी छिन्, ‘चिन्तित हुनुपर्ने कुरा छैन, म सञ्चै छु ।’

‘द केरला स्टोरी’बारे मानिसहरुको फरक मत छ । कतिपयले यसलाई सही भनिरहेका छन् भने अर्कोतर्फ यसको चर्को विरोध भइरहेको छ । फिल्मका निर्माताले आफूलाई विभिन्न धम्की आइरहेको दाबी गरेका छन् । तर के अदालाई पनि ज्यान मार्ने धम्की आएको छ ? अदाले हालै एक अन्तर्वार्तामा यो प्रश्नको जवाफ दिएकी छन् ।

जसरी जनताको माया प्राप्त भइरहेको छ, त्यसरी नै जनताबाट धम्की पनि आइरहेको उनले बताएकी छन् । उनले भनिन्, ‘हाम्रा फिल्मकर्मीले धेरै पटक यस्तो सामना गर्नुपरेको छ । ज्यान मार्ने धम्की पाउनु डरलाग्दो छ । मलाई संसारभरबाट यति धेरै माया मिलिरहेको छ । मानिसको यति धेरै माया देखेर मलाई मेरो वरिपरि कुनै अदृश्य शक्ति छ जस्तो लाग्छ । त्यहाँ एउटा पाना छ जसले मलाई सुरक्षा गरिरहेको छ, त्यसैले म सुरक्षित महसुस गर्छु ।’

१७ मेमा निर्माता विपुल शाह, निर्देशक सुदिप्तो सेन र अदासहित चारै अभिनेत्रीहरु योगिता बिहानी, सिद्धि इदनानी र सोनिया बलानी मुम्बईमा उपस्थित थिए । यिनीहरूबाहेक केरलाका २६ युवती पनि यहाँ थिए, जसका बारेमा उनीहरूको धर्म परिवर्तन भएको दाबी भइरहेको छ । फिल्ममा अदाले शालिनी उन्नीकृष्णन अर्थात् फातिमाको भूमिका निर्वाह गरेकी छन् ।

मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री शर्माले ती युवतीहरुको पीडा सुनाउँदै भनिन्, ‘मेरा निर्देशक सेनले महिला र बालबालिकालाई ट्यांकरमा जसरी वाशिङ मेसिनमा लोड गरिएको भिडियो देखाउनुभएको थियो । यसरी उनी पूरै १६ घण्टा यो ट्यांकरमा यात्रा गर्छिन् । उनीहरुलाई सास फेर्न पनि समस्या हुन्छ र बाहिर निकाल्दा उनीहरु आधा मरेका हुन्छन् । तपाईंले जुन अभिलेखको कुरा गर्नुहुन्छ, त्यसको कुनै अभिलेख छैन ।’

‘जसलाई आतंकवादी बनाउन सकिन्छ, उनीहरूलाई राखिन्छ र महिलालाई यौनदासी बनाउन सकिन्छ, उनीहरूलाई पनि राखिन्छ । तिनीहरूले नचाहेको कुरा मरुभूमिमा छोडिन्छन्,’ अदाले यो कथा सुनाउन खोजेकोमा गर्व लागेको बताइन् ।

बीबीसी हिन्दीबाट अनूदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?