+
+

धनगढीमा पूर्वराजाको सम्बोधन : नेपालीलाई शरणार्थी बनाएर देशकै इज्जत लोप गराइयो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १८:३६

८ जेठ, धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर राष्ट्रिय गौरव लोप गराउन खोजिएको टिप्पणी गरेका छन् ।

सोमबार धनगढीमा नागरिक अभिनन्दनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताएका हुन् ।

‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ’, शाहले भने, ‘देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’

नेपाली स्वाभिमान, वीरता, श्रम, सीप सबै खोसिएको त छैन भन्ने प्रश्न गर्दै उनले यस्ता दृष्यले सबैको आँखा रसाएको टिप्पणी पनि गरे । पछिल्लो समय सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको बताउदै शाहले गम्भीर भएर सोच्ने बेला आएको पनि उल्लेख गरेका छन् ।

‘सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको छ । आफ्नै प्रपञ्च खुल्दै गइरहेका छन् । अहिलेको युग विकास र प्रविधिको युग भएकाले आफ्नै स्वतन्त्र संस्थाद्धारा युगान्तकारी परिवर्तन चाहान्छौं’, शाहले भने, ‘सोच्ने बेला आएको छ, कस्तो राष्ट्रिय दृष्टिकोण, परिपाटी अंगाल्ने ? देश भन्दा ठूलो केही हुँदैन । सोचौं दिलैदेखि सोचौँ, गम्भीर भएर सोचौँ ।’

शाहले नेताहरुले देशका समस्यालाई नदेखेको र नसुनेको जस्तो गरिरहेको समेत बताए । ‘देशका समस्यालाई नदेखेको, नसुनेको जस्तो गरेर, बटारिएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काउने काम भइरहेको छ’, शाहले भने ।

शाहले सुदूरपश्चिमका विभिन्न जिल्लामा विगतमा सञ्चालनमा रहेका कलकारखाना तथा साना उद्योगहरु कता बिलाए, किन हराए भन्ने प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?