+
+

अमेरिकी अर्थतन्त्रमा मन्दी निम्तिन सक्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १८:५३
जो बाइडेन र केभिन क्यार्थी ।

८ जेठ, काठमाडौं । अमेरिकी अर्थतन्त्र संकटोन्मुख छ । रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् ।

संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ । सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा सेवा प्राप्तिबाट बञ्चित हुनेछन् । संसदले ऋण सापटी सीमा तोकेकाले उनीहरूलाई असर पर्ने भएको हो ।

यो स्थिति समाधान नभएमा अमेरिकामा फेरि मन्दी निम्तिन सक्छ भने धेरैको रोजगारी गुम्न पनि सक्छ । ऋण भुक्तानी स्वीकृतिका लागि ह्वाइटहाउस र रिपब्लिकन नेतृत्वको संसदपछि एक सातासम्म पहल भएपनि सहमति हुन भने सकेको छैन । यस्तो परिस्थितिमा बाइडेनले सभामुख केभिन क्यार्थीसँग भेट्दैछन् ।

जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान गएका बाइडेन भर्खरै स्वदेश फर्किएका हुन् । हिरोसिमामा बाइडेनले अमेरिकाले विश्व अर्थतन्त्रबारे प्रतिवद्धता नजनाएकामा विश्वका नेताहरू आश्चर्यमा परेका थिए । सम्भवत घरेलु अर्थतन्त्रनै दबावमा रहेकाले बाइडेनले कुनै प्रतिबद्धता नजनाएका हुनसक्छन् ।

अर्थतन्त्र लयमा ल्याउनका लागि बाइडेन प्रशासनलाई उच्च दबाव छ । यदि जुन १ सम्म सदनले ऋणको सीमा नबढाउने हो भने बाइडेन प्रशासनले आफ्ना बाचा तथा बाध्यात्मक काम पूरा गर्न नसक्ने चेतावनी अर्थमन्त्री जेनट यलेनले दिएका छन् ।

सदनले स्वीकृति नदिएको स्थिति अमेरिकी अर्थतन्त्रमा भयावह परिस्थितिका साथै मुलुकलाई नै अविश्वास गर्ने परिस्थिति आउने चेतावनी अर्थमन्त्री यलेनको छ ।

बाइडेनले ऋण सीमामा भने कुनै वार्ता नगर्ने बताएका छन् । प्रतिपक्षी रिपब्लिकनले बाइडेन प्रशासनलाई अप्ठ्यारोमा पार्ने मनसायले सदनमा स्वीकृति नदिएको डेमोक्रयाटको आरोप छ । बाइडेन स्वयंले पनि ट्रम्प निकट सांसदले आफूले जारी राखेको राष्ट्रपतीय निर्वाचन अभियानलाई प्रभावित पार्ने र मुलुकको अर्र्थतन्त्र धरासायी बनाउने नियतले षडयन्त्र रचेको बताएका छन् ।

‘सदनबाट स्वीकृति दिए अर्थतन्त्र डामाडोल हुनेबारे उनीहरू जानकार छन् । त्यसैले मलाई र मुलुकलाई अप्ठयारोमा पारेर लाभ लिनका लागि उनीहरूले षड्यन्त्र गरेका हुन्’, बाइडेनले भनेका छन् ।

बाइडेन पुनः राष्ट्रपतिमा निर्वाचित नहोस् भन्ने हेतुले रिपब्लिकनले षड्यन्त्र बुनिरहेको उनले बताए । यता सभामुख क्यार्थीले भने राष्ट्रपति केही हदसम्म गलेको टिप्पणी गरेका छन् । ‘बाइडेनले डेमोक्र्याटको समाजावादी धार छोडेर समग्र अमेरिकालाई प्रतिनिधित्व गर्न खोज्दैछन्’, उनले भने ।

बाइडेन र आफूबीच केही सकारात्मक संवाद भएको उनले बताएका छन् । वासिंटनमा परिणाम आउनुअघिका वार्ता स्थगित हुनु र आक्षेपको वर्षा हुनु सामान्य नै हुन् ।बाइडेन र क्यार्थी संवैधानिक पदमा रहेका राजनीतिक स्वार्थ प्रेरित मानिस हुन् । दुबै पक्षको आ–आफ्नै एजेण्डा छन् ।

बाइडेन र क्यार्थीको वार्ताको तयारी भएपनि त्यसले परिणाम निम्त्याउने कुनै सुनिश्चितता छैन ।

आरोप– प्रत्यारोपको खतरनाक श्रृङ्खला

अर्थतन्त्र संकटमा फसेको विषयलाई एकले अर्काविरूद्ध चुनावी हतियार बनाउने रणनीति बनाएका छन् । एउटा सदनमा रिपब्लिकनको बहुमत छ । ४ भोटले सरकारको प्रस्ताव त्यहाँ फेल हुनसक्छ । तर सिनेट र ह्वाइटहाउसमा डेमोक्र्याट भएकाले दुई पक्षबीच शक्ति सन्तुलनका लागि सम्झौतामा आउनुपर्ने स्थिति सामान्यतया छ ।

यद्यपि रिपब्लिकनको उग्र चरित्रका कारण सम्झौता कठिन छ । वासिंटनमा शक्ति सन्तुलन नभएर शक्ति प्रदर्र्शनका नाटक रिपब्लिकनले बारम्बार देखाउँदै आएको छ ।

रिपब्लिकन बाइडेनलाई आगामी चुनावमा धक्का लगाउने दाउमा छ । त्यसैले उसले सभामुख क्यार्थीलाई सदनको स्वीकृति नदिन दबाव दिइरहेको छ ।

यता राष्ट्रपति बाइडेनले पनि उत्तिकै दबाव पार्टीबाट झेलिरहेका छन् । केही डेमोक्र्याट सांसदहरूले सभामुख क्यार्थीसँग सम्झौताका लागि बाइडेनले उनका धेरै मागको सम्बोधन गर्नसक्ने खतरा रहेको बताएका छन् । रिपब्लिकनले आफूहरूलाई अप्ठयारोमा पार्ने बहानामा सरकारी सहयोगको आवश्यकता रहेको जनसंख्याको जनजीवन समेत अस्तव्यस्त बनाउन खोजेको डेमोक्रयाटको आरोप छ ।

डेमोक्रयाट सांसद समल ली भन्छन्, ‘रिपब्लिकनले मुलुक र जनतालाई गरिबीतर्फ धकेल्न खोजेको छ । यो पार्टी राज्य र जनताविरूद्ध निकै क्रुर बनिरहेको छ । डेमोक्र्याट र रिपब्लिकनबीचको यो लडाईंले लाखौँ अमेरिकी प्रभावित हुनेछन् । यसले बाइडेन र क्यार्थी दुबैको आगामी भविष्यलाई संकटमा लानेछ ।

अर्कोतर्फ अमेरिका आफैंले निम्त्याएको आर्थिक संकटमा फस्नेछ । ‘हामी निकै भयावह अवस्था नजिक छौँ यो समस्या समाधान नभए मुलुक ठूलो भड्खालोमा पर्नेछ’, डेमोक्रयाट सांसद क्राइस होलनले भनेका छन् ।

राष्ट्रपति बाइडेनले यो अवस्था आउन नदिने भन्दै जापामा भ्रमण छोट्याएर अमेरिका फर्किएका छन् । उनले सभामुख क्यार्थीसँग गर्ने संवादको प्रतिक्षा र त्यसले निम्त्याउने परिणाम अमेरिकाले कुरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?