+
+

ह्वाट्सएपमा पठाइसकेका मेसेज पनि एडिट गर्न सकिने ! यस्तो छ तरिका

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:४१

इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले कसैलाई पठाइसकेका टेक्स्ट मेसेजलाई समेत एडिट गर्न सकिने फिचर सुरुवात गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले मेसेज पठाइसकेपछि पनि त्यसलाई सम्पादन गर्न पाउँछन् । तथापि यसका मेसेज पठाएको १५ मिनेट भित्रैमा एडिट गरिसक्नुपर्नेछ ।

स्मरण रहोस् यो फिचरलाई केही समयअघि ह्वाट्सएपले बेटा टेस्टिंगका लागि वेब भर्जनमा जारी गरेकोमा अहिले कम्पनीले यसलाई आधिकारिक रुपमा लञ्च गरेको हो ।

ह्वाट्सएपले एक ब्लग पोष्टमा भनेको छ- जब तपाईंले टेक्स्ट मेसेज प्रेषित गर्दा कुनै गल्ती लेख्नुभएको छ वा तत्कालै तपाईंको मन बदलियो भने तपाईंले पठाइसकेको मेसेज पनि सच्चाउन वा सम्पादन गर्न सक्नुहुन्छ ।

तर प्रयोगकर्ताले टेक्स्ट मेसेज पठाएको सुरुको १५ मिनेटभित्रै यो काम गर्नुपर्नेछ । यसरी एडिट गरिसकेपछि सो सम्पादित मेसेजसँगै edited लेखिएको पनि देखिनेछ । अर्थात् मेसेज प्रापकलाई सो मेसेज सम्पादन गरिएको हो भन्ने जानकारी हुनेछ । तर उसले सम्पादन गर्नु अगाडिको ओरिजिनल मेसेज भने देख्न पाउनेछैन ।

प्रेषित गरिएका मेसेजलाई एडिट गर्ने सुविधाले गर्दा नयाँ मेसेज पूरै लेख्नुपर्ने बाध्यता हुनेछैन र समयको बचत हुनेछ ।

वास्तवमा ह्वाट्सएपको यो फिचर एप्पल जस्तै हो । एप्पलको आईओएस १६ मा टेक्स्ट मेसेज एडिट गर्ने फिचर रहेको छ । मेसेज एडिट गर्नका लागि एप्पल प्रयोगकर्तासँग १५ मिनेटको समय हुन्छ ।

आइफोन प्रयोगकर्ताले एउटा मेसेजलाई बढीमा पाँच पटकसम्म एडिट गर्न सक्दछन् । तथापि ह्वाट्सएपमा भने प्रेषित मेसेज अधिकतम कतिसम्म सम्म मात्र संशोधन गर्न सकिने भन्ने कुनै सीमा राखिएको छैन ।

मेसेज एडिट गर्नका लागि प्रयोगकर्ताले सुरुमा आफुले प्रेषित गरेको सम्बन्धित मेसेजमा ट्याप गर्नुपर्दछ । त्यसपछि एउटा पप अप अप्सन देखिनेछ, जसमा मेसेज एडिट गर्ने अप्सन पनि हुन्छ । सो अप्सनमा गएर तपाईंले ह्वाट्सएप मेसेज संशोधन गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपको यो नयाँ फिचरले पर्सनल च्याट र ग्रुप च्याट दुबैमा काम गर्दछ । साथै मेसेज पठाएको १५ मिनेटपछि भने प्रयोगकर्ताले त्यो मेसेज एडिट गर्न सक्नेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?