+
+

तोडफोडबाट सुवर्ण गाउँपालिकामा ३ करोडको क्षति

गाउँपालिका अध्यक्ष भन्छन् : विद्यार्थीको नाममा राजनीतिक भयो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १८:४०

९ जेठ, काठमाडौं । बाराको सुवर्ण गाउँपालिकाको एक प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर सोमबार भएको हिंसात्मक तोडफोडमा साढे तीन करोड भन्दा बढीको क्षति भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले प्रहरीको प्रारम्भिक अनुमान अनुसार साढे तीन करोड भन्दा बढीको क्षति पुगेको बताए ।

गत ३ गते गाउँ शिक्षा समिति बैठकले दुई जना प्रधानाध्यापक र सात जना शिक्षकहरुको सरुवा गर्ने निर्णय गरेको थियो । तर त्यहि सरुवा भएकाहरु मध्ये नेरा मावि हर्दिया औरहियाका प्रधानाध्यापक रामएकवाल प्रसादको सरुवाको विषयलाई लिएर पालिकाको कार्यालय तोडफोड भएको हो ।

प्रधानाध्यापक सरुवा हुन नचाहिरहेको तर उनलाई सम्झाइ बुझाइ गरेपछि सरुवाको पत्र बुझेर गएको तर उनैको उक्साहटमा यो घटना घटेको पालिकाले जनाएको छ ।

सोमबार साढे सात बजेतिर विद्यार्थीलाई साथ लिएर अराजक व्यक्तिहरुले तोडफोड गरेको पालिका अध्यक्ष यादवले बताए ।

घटना पश्चात पालिकाले आपतकालीन बैठक बसेर प्रधानाध्यापक माथि आवश्यक छानबिन गर्नुको साथै घटनाको विषयमा छानबिन गर्ने र दोषी माथि कडा कारबाही गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।

तोडफोडमा संलग्नहरु छलफल अथवा केही गर्ने भन्दा पनि तोडफोड गर्ने उद्देश्यले नै गएको देखिएको शिक्षा शाखा प्रमुख विद्यानाथप्रसाद यादवले बताए । उनले भने, ‘उनीहरुको उद्देश्य नै तोडफोड गर्ने देखिन्छ । किनभने कार्यालय समय खुल्न अघि सबै तोडफोड भएको छ ।’

विद्यार्थीले तोडफोड गरेको भनिए अथवा विद्यार्थीको सहभागिता देखिए पनि अरु नै अराजक व्यक्तिहरुको सहभागिता भएको उनी बताउँछन् । भन्छन्, ‘विद्यार्थीको नाममा अरुले नै तोडफोड मच्चाएका हुन् । विद्यार्थीहरु आफैँ यस्तो अपराधिक काम गर्नै सक्दैनन् । विद्यार्थीलाई उचालेर अरुले नै घटना घटाएका हुन् ।’

उनीहरुले पालिकामा ढुंगामुढा गर्नुको साथै कुर्सी, टेबल, कम्प्युटर, ढोका, जेसीबी, कर्मचारीहरुको मोटरसाइकल तोडफोड तथा आगजनी गरेका छन् । ठूलो संख्यामा ढुंगामुढा, लाठी, मुङरोसहित पालिका प्रवेश गरेको भिडियोहरुमा देख्न सकिन्छ ।

प्रहरीले स्थिति नियन्त्रण गर्नका लागि अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । पालिका अध्यक्ष यादव विद्यार्थीको आवरणमा राजनीतिक भएको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको नाममा राजनीतिक भयो । अरु नै व्यक्तिहरुले अराजक गतिविधि गरेको देखिन्छ ।’

फोटो, भिडियोमा देखिएको व्यक्तिहरुको पहिचान गरेर उजुरी दिने तयारी पालिकाले गरिरहेको छ । अध्यक्ष यादवले भने, ‘हामीले उजुरीसँगै निष्पक्ष छानबिन गरेर दोषीमाथि हदैसम्मको कारबाही गर्नुपर्छ माग राख्छौं । किनभने विद्यार्थीको नाममा यस्तो अपराधिक क्रियाकलाप गर्नु र विद्यार्थीलाई उक्साउनु गम्भीर अपराध हो ।’

तोडफोडपछि पालिका कार्यालय खुला भए पनि टेबल, कुर्सी, कम्प्युटर लगायत तोडफोड भएकोले पालिकाको सम्पूर्ण सेवा प्रवाह प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?