+
+

पोखरा महानगरका कर्मचारीलाई वडाध्यक्षको धम्की

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते २०:०६

९ जेठ, पोखरा। पोखराको महानगरपालिका-९ मा एक आमा समूहको भवन बनाउने विषयलाई लिएर वडाध्यक्ष र योजना महाशाखाका कर्मचारीबीच मंगलबार विवाद भएको छ।

विवादका क्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले योजना महाशाखा प्रमुख कृष्ण तिवारीलाइ अपशब्द बोल्दै गालीगलौज गरेको भन्दै कर्मचारीले आपत्ति जनाएका छन्।

योजना महाशाखाका कर्मचारीले कार्यालयमा सौहार्दपूर्ण काम गर्न पाउने वातावरण मिलाइदिन महानगर प्रमुख तथा उपप्रमुखलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

‘…कार्य कक्षमा काम गरिरहेको अवस्थामा आएर धम्कीपूर्ण शैलीमा गालीगलौज र अपशब्द बोलेर मानमर्दन गरेको हुँदा हामीलाई कार्यालयमा सौहाद्र्धपूर्ण वातावरणमा काम गर्ने वातावरण नरहेको व्यहोरा जानकारी गराउँदछौं,’ कर्मचारीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरुले ज्ञापनपत्रमार्फत वडाध्यक्षले गरेको क्रियाकलापप्रति आवश्यक कारवाहीको माग गर्दै कार्यालयमा कामकाजको वातावरण मिलाइदिन पनि आग्रह गरेका छन् ।

पोखरा महानगरपालिका-९ नागढुंगामा आमा समूह बनाउन १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त कामका लागि महानगरको योजना शाखाले इन्जिनियर खटाएर लागत अध्ययन गर्न खटाइएको थियो।

सोही विषयमा वडाध्यक्ष मर्सानीले तिवारीलाई मानमर्दन हुने गरी अपशब्द बोल्दै गालीगलौज गरेको योजना महाशाखा प्रमुख तिवारीले बताए ।

तिवारीले महानगरबाट आफ्नो चाहनाले नभई वडा नं २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गको आग्रहमा इस्टिमेटका लागि इन्जिनियर खटाइएको बताए। ‘दलको नेताको हिसाबले उहाँ (दिवसमान प्रधानांग) ले भन्नुभयो। उहाँकै आग्रहमा इस्टिमेट गरेर ल्याइएको हो । यो योजनामा अझै सम्झौता भइसकेको छैन,’ उनले भने, ‘मैले वडाको सिफारिस पनि चाहिन्छ भनेर भनें, वडामा गएर सिफारिस पनि ल्याउनु भएको छ।’

तिवारीले सोमबार फोनमा पनि आफूलाई वडाध्यक्ष मर्सानीले धम्की दिएको सुनाए । ‘आज कसैले सुन्नै नसक्ने गरी, त्यसरी मैले जिन्दगीमा कसैको पनि गाली खाएको थिएन’, उनले भने, ‘खास केही गल्ती गरेकै छैन, त्यसैमा गाली खानुपर्‍यो मैले ।’

वार्षिक विकास कार्यक्रमअन्तर्गत रहेको नागढुंगा आमा समूहको भवन बनाउने विषयमा सुरुआती प्रक्रियासमेत पूरा नभइसकेको अवस्थामा वडाध्यक्ष मर्सानीले आफूमाथि धम्कीपूर्ण भाषामा गालीगलौज गरेको तिवारीको आरोप छ ।

वडालाई अधिकारविहीन बनाइयो : वडाध्यक्ष मर्सानी

पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने वडाको अधिकार मिचेर महानगरबाट हस्तक्षेप भएको बताएका छन्। उनले ५० लाख रुपैयाँसम्मको योजना वडाले नै सम्झौता गर्न पाउने भए पनि वडाको अधिकार मिच्ने काम भएको बताए ।

वडाध्यक्ष तिवारीले वडाको समन्वयबिनै वैशाख २५ गते नै महानगरबाटै प्राविधिक पठाएर लागत अध्ययन गरिसकेपछि मंगलबारमात्रै सिफारिस लिन पठाएको जिकिर गरे । ‘वडासँग आफ्नै इन्जियनिर छन् । सबै काम महानगरबाटै हुने भए किन चाहियो वडा ?’ उनले भने, ‘२५ गते इन्जिनियर पठाएर अहिले बल्ल सिफारिस लिन पठाइएको छ।’

महानगरबाटै सुशासन र पारदर्शी कार्यान्वयन नभएको वडाध्यक्ष मर्सानीको दाबी छ। ‘यो मलाई नीतिगत भ्रष्टाचारजस्तो लाग्यो, वडालाई दिइएको अधिकार त्यही अधिकारको कुरा गर्न आएको थिएँ, उहाँ (तिवारी) ले वडा नं. २ को वडाध्यक्षले भनेको भन्नुभयो, मलाई वडा नं. २ को वडाध्यक्षले तलब खुवाउने त होइन नि त,’ उनले भने।

उनले अपशब्दसहित गालीगलौज मुख्य नभई विषय ठूलो रहेको दाबी गरे। उनले भने, ‘भोलि यो सबैलाई पर्छ । अरु साथीहरुलाई पनि पर्न सक्छ। मैले त जनताको सेवा गर्ने हो, आवाजमात्रै उठाएको हुँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?