+
+

बजेट किन अपराह्न चार बजे नै सार्वजनिक हुन्छ ?

नेपालमा संसद नभएको बेला अध्यादेशबाट बजेट सार्वजनिक भएका छन् । यस्ता बजेट भने ४ बजेभन्दा छिटो पनि सार्वजनिक भएका छन् । तर, संसदमा सार्वजनिक भएका अधिकांश बजेट अपराह्न ४ बजे नै सार्वजनिक गरिएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ ११ गते १३:०५

११ जेठ, काठमाडौं । अर्थ मन्त्रालय यतिबेला आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनमा व्यस्त छ । मन्त्रालयका ढोका बन्द गरिएका छन् भने बजेट लेखनमा खटिएका अधिकारीहरु सार्वजनिक सम्पर्कबाट अलग भएका छन् ।

यसरी गोप्यरुपमा लेखिने बजेट हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही कारण कुनै पनि हालतमा जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्छ । यो दिनमा पनि सरकारले अपराह्न ४ बजे नै बजेट सार्वजनिक गर्ने गरिएको छ । यस्तो परम्परा लामो समयदेखि नै चलिरहेको छ ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटा बजेट सार्वजनिक गर्न ४ नै बजाउनु पर्ने बाध्यताका पछाडि सो दिन अर्थमन्त्रीको व्यस्ततासँग जोड दिन्छन् । बजेट अर्थ मन्त्रीले लेख्ने र सिधै सार्वजनिक गर्ने दस्तावेज होइन । यसका लागि प्रणालीगत रुपमा १५ जेठका दिन कम्तिमा चार वटा चरण पार गर्नुपर्छ । यी चरणका काम पुरा गर्दा पनि कम्तिमा ४ बजेसम्म समय लाग्ने उनले बताए ।

पूर्वसचिव बास्कोटाका अनुसार १५ जेठका दिन सर्वप्रथम प्रधानमन्त्रीको अध्यक्षता हुने राष्ट्रिय योजना आयोगको बैठक बस्छ । सो बैठकले आगामी आर्थिक वर्षको आय/व्ययको विवरण ल्याउने निर्णय गर्छ । यो निर्णय अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयबाट टिप्पणी उठाउँदै यो निर्णयलाई मन्त्रिपरिषद्मा पेश गरिन्छ ।

सोही दिन मन्त्रिपरिषद् बैठक बस्छ । मन्त्रिपरिषद् बैठकले बजेट पास गरी पेश गर्न संसद पठाउँछ । मन्त्रिपरिषद्बाट पास भएको बजेट प्रिन्ट गरी संसदमा सबै सांसदलाई वितरण समेत गर्नुपर्छ । सोहीकारण प्रिन्टका लागि समेत केही समय लाग्छ । यी सबै प्रक्रिया पुरा गर्दा बजेटका लागि अपराह्न ४ बजे समय पुग्ने पूर्वसचिव बास्कोटाको भनाइ छ ।

नेपालमा संसद नभएको बेला अध्यादेशबाट बजेट सार्वजनिक भएका छन् । यस्ता बजेट भने ४ बजेभन्दा छिटो पनि सार्वजनिक भएका छन् । तर, संसदमा सार्वजनिक भएका अधिकांश बजेट अपराह्न ४ बजे नै सार्वजनिक गरिएका छन् ।

धानिएको परम्परा

नेपालमा वि.सं २००८ मा सूवर्ण शमसेरले पहिलो बजेट सार्वजनिक गरेका थिए । सो बजेट यसै समयमा सार्वजनिक भएको बताइन्छ । ‘बेलायतमा धेरै परम्परा कानून जस्तै बनेका छन्,’ बास्कोटा भन्छन्, ‘नेपालमा पनि सोही प्रकारको परम्परा बसेको हुनुपर्छ, प्राय बजेट ४ बजे नै सार्वजनिक भएको छ ।’

पूर्वअर्थसचिव रामेश्वर खनाल यसलाई भारतको परम्परालाई नेपालमा सिको गरिएको बताउँछन् । ‘हाम्रोमा धेरैजसो परम्परा भारतबाटै प्रेरित छन्,’ उनी भन्छन्, ‘भारतमा साँझ बजेट सार्वजनिक हुन्छ, हाम्रोमा पनि त्यस्तै गर्न थालियो ।’

सर्वसाधारणको चासो

एक पूर्वअर्थसचिव बजेट सरकारको मात्र नभई निजी क्षेत्र र सर्वसाधारणको समेत चासोको दस्तावेज भएको भन्दै अपरान्ह ४ बजे सार्वजनिक गरिनुमा उनीहरुलाई समेत समेट्ने प्रयासका रुपमा व्याख्या गर्छन् । ‘सामान्यतया ४ बजे सार्वजनिक कार्यालयहरु बन्द भई बिदा हुन्छ,’ उनले भने, ‘जो जहाँ भए पनि बजेट सुन्न सकुन् भन्ने उद्देश्यले सामान्यतया ४ बजे बजेट सार्वजनिक गरिन्छ ।’

भन्सार दरको मामला

१५ जेठका दिन भन्सार विन्दुबाट जुन सामान इन्ट्री भए पनि त्यसको दर चालु आर्थिक वर्षको बजेटले तोके अनुसारको हुन्छ । साँझ ४ बजे बजेट सार्वजनिक भएसँगै परिवर्तित दरमा मूल्यांकन सुरु हुन्छ ।

नेपालमा सामान्यतया साँझ ४ बजेसम्म भन्सार कारोबार भएर कार्यालयहरु बन्द हुन थाल्छन् । भोलिपल्ट बिहानबाट नयाँ दरमा मूल्याङ्कन थालिन्छ । सोहीकारण ४ बजे बजेट सार्वजनिक गरिन्छ भन्ने तर्क अर्थ मन्त्रालयको छ ।

यो भनाइमा केही सत्यता रहेको पूर्वअर्थसचिव खनाल बताउँछन् । ‘कारण नै यही हो भन्ने होइन,’ उनी भन्छन्, ‘तर भन्सारको कामकाज सकाएपछि नयाँ दर सार्वजनिक गरिएको भन्ने गरिन्छ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?