+
+

फुटपाथ मिचेर सञ्चालन भएका ३४ मोटरसाइकल वर्कसपलाई महानगरले तिरायो जरिवाना 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १३:१४

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा सञ्चालित ३४ वटा मोटरसाइकल वर्कसपलाई कारबाही गरेको छ । फुटपाथ मिचेर मोटरसाइकल मर्मत एवम् सरसफाइ गर्ने गरेको भन्दै महानगरले ती वर्कसपहरुलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएरको जनाएको छ । फुटपाथ नै अवरोध गरेर वर्कसप सञ्चालन गर्दा पैदलयात्रुलाई हिंड्डुल गर्न समस्या भएको महानगरको भनाइ छ ।

महानगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई बुधबार नियन्त्रणमा लिएको थियो । उनीहरु आबद्ध ३४ वर्कसपबाट जरिवाना तिराएको महानगरले जनाएको छ ।

महानगरले बुधबार नै कवाडी सामान संकलन गरेर सडकमा अवरोध गर्ने दुई जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको थियो । यस्तै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिका भित्र सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?