११ जेठ, काठमाडौं । चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ३३६ चिकित्सक कार्यरत छन् । त्यसमध्ये १५ प्रतिशत चिकित्सक मात्रै निर्धारित समयसम्म अस्पतालमा सेवा दिइरहेका हुन्छन् ।
बाँकी ८५ प्रतिशत कर्मचारी बिहान ढिलो पुग्छन्, कि त बेलुका चाँडै निस्किन्छन् । अधिंकाश चिकित्सक ११ बजे अस्पताल पुग्छन् र २–३ बजे हिडिसकेका हुन्छन् । उक्त तथ्य अस्पतालको हाजिरीले पनि पुष्टि गरेको छ ।
अस्पतालमा तोकिएको समय बिहान ९ देखि बेलुका ५ बजेसम्म हो । अस्पताल प्रशासनले बिहान एक घण्टा चाँडै आएको थप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँछ । शुक्रबार भने दुई घण्टा थप काम गर्नुपर्छ । यसरी हेर्दा महिनाको ३२ घण्टा थप काम गर्नेले जोखिम भत्ता पाउनेछन् ।
अस्पतालमा बिरामीको चाप धेरैजसो बिहान साढे १० देखि १२ः३० बजेसम्म हुन्छ । त्यस्तै, दिँउसो साढे २ देखि साढे ३ बजेसम्म हुन्छ ।
तर, चिकित्सकहरु भने निर्धारित समयभर अस्पतालमा उपलब्ध हुँदैनन् । बुधबार दिउँसो अनलाइनखबर संवाददाता अस्पतालमा पुग्दा रौतहटका ४० बर्षीय राजेन्द्र गौतम चिकित्सक नभएका कारणले घर फर्किदै थिए । ‘बिहान पालो बस्दा–बस्दा हैरान हुन्छ । दिँउसो अलि खाली हुन्छ कि भनेर आएको डाक्टर त हिँडिसक्नु भएको रहेछ’, गौतमले अनलाइखबरसँग गुनासो गरे, ‘हामीजस्ता गरिबले वीरमा सेवा नपाए कहाँ जाने ?’
विशेषज्ञ चिकित्सक बिहानै हाजिर लगाएर निजी अस्पताल वा क्लिनिकमै काम गर्न व्यस्त हुने परम्परा बर्षौंदेखि चल्दै आएको छ । ‘हिजो मात्रै तीन जना चिकित्सक बाहिर बाटोमा गाडी रोकेर अस्पतालमा हाजिर गरेर निस्किनुभयो’ वीरको एक कर्मचारी भन्छन्, ‘सरकारको नुन खाएर नै अस्पताल समयमा निजीमा गएर सेवा दिनु भनेको अपराध होइन र !’
विशेषज्ञ चिकित्सक मात्रै होइन, यसरी काम ठग्ने प्रवृत्ति केही सिनियर नर्स र बर्र्षौदेखि अस्पतालमा हालमुहाली चलाएर बसेका केही स्वास्थ्यकर्मी पनि छन् ।
यसरी हेर्दा, मेडिकल अफिसर, छात्रवृत्तिका करार र सरकारी संस्थालाई बलियो बनाउनुपर्छ धैर्य राखेका न्यून संख्याका विशेषज्ञ चिकित्सकले वीरको सेवा धानिरहेका छन् ।
काम नगरी जोखिम भत्ता !
अस्पताल प्रशासनका अनुसार तलबमा थप ५० प्रतिशत भत्ता सरकार अन्तर्गतका स्थायी कर्मचारी, न्याम्स अन्तर्गतका स्थायी र करारका कर्मचारीले पाउँछन् ।
जसअन्तर्गत सरकारी दरबन्दीका १६८, काज र पुल दरबन्दीका ४६ र न्याम्सका ६५ जना चिकित्सकले जोखिम भत्ता लिइन्छन् । नर्सिङ र अनमीतर्फ सरकारी दरबन्दीका १७८, पुल र करारमा गरी २०, न्याम्सतर्फ १३० जनाले जोखिम भत्ता पाउँछन् ।
त्यसैगरी, सरकारीतर्फ पारामेडिक्स र अन्य प्रशासनका कर्मचारी गरी १५१ र न्याम्स अन्तर्गतका ३१० जनाले जोखिमभत्ता लिइरहेका छन् ।
स्वास्थ्य सेवा गुणस्तरीय र बिरामीलाई सहज सेवा दिने उद्देश्यले कर्मचारीलाई प्रोत्साहनस्वरुप अतिरिक्त भत्ता दिने व्यवस्था गरेपनि त्यसअनुरुप प्रतिफल भने लिन नसकिएको अस्पतालका एक पूर्व निर्देशक बताउँछन् ।
‘मनलाग्दी खालको व्यवहार गर्नुहुन्छ । अस्पताल आउने–जाने टुंगो हुँदैन’ ती निर्देशक भन्छन्, ‘काम नै नगरी जोखिमभत्ता दिएको के अर्थ होला र !’
अस्पतालको तथ्यांक अनुसार सरकारीतर्फ ३ करोड १० लाख, न्याम्सतर्फ स्थायी र करारका कर्मचारीलाई २ करोड ४५ लाख रुपैयाँ जोखिम भत्तामा मासिक खर्च हुन्छ । यसरी हेर्दा, बार्षिक ६६ करोड ६० लाखभन्दा बढी अस्पताल प्रशासनले जोखिम भत्ता दिइरहेको छ ।
त्यतिमात्रै होइन, न्याम्स अन्तर्गतका प्राध्यापकलाई थप सय प्रतिशत भत्ताको पनि व्यवस्था छ । अस्पतालमा हाल ८३१ दरबन्दी थप भएको छ । यसरी हेर्दा जोखिम भत्ता मात्रै एक अर्बभन्दा बढी हुनजान्छ ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बढी समय सेवा दिँदा भत्ता पाउनु उचित भएको बताउँछन् । तर बढी समय काम गर्ने र नगर्ने दुबैथरिले जोखिम भत्ता लिइरहेको भन्दै उनले यसलाई वैज्ञानिक बनाउने बताए ।
‘अहिले काम गरेका र नगरेका पनि एउटै जोखिम भत्ता तोकिएको छ । यसलाई वैज्ञानिक बनाउनुपर्ने देखिन्छ’ उनले भने ।
उनका अनुसार रातिको समयमा काम गरेका नर्सलाई घन्टाको आधारमा, चिकित्सकलाई अस्पतालले तोकेको समयबाहेक अप्रेशन गरेको अवस्थामा र बिदा वा चाडपर्वको बेलामा पनि काम गरेमा प्रोत्साहन भत्ता दिन उचित हुन्छ ।
‘कुन कर्मचारी कति समय अस्पताल बस्छ भनेर हामीले निगरानी गरिरहेका छौं । तर, अब जोखिमभत्ता पाउनका लागि कार्यसम्पादन मूल्याकंन पनि हेरिन्छ’, डा. पौडेलले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4