+
+

बियर ग्रिल्स भन्छन्- नेपाली शेर्पाकै कारण मेरो जीवन बदलियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १८:५७

काठमाडौं । विश्वचर्चित टेलिभिजन पर्सनालिटी बियर ग्रिल्सले नेपाली शेर्पाकै कारण आफ्नो जीवन बदलिएको बताएका छन् । उनले शेर्पालार्ई अविश्वसनीय र प्रेरणादायी भन्दै निकट मित्र समेत भनेर चर्चा गरेका छन् । फेसबुकमा तस्वीरसहितको स्टाटस लेख्दै उनले केही शेर्पाकै कारण आफूले पनि सगरमाथा शिखर चुम्न सकेको स्मरण गरेका छन् ।

उनले आफ्ना एक शेर्पा साथी रहेको तथा उनको बुवा र हजुरबुवाले गरेको संघर्षलाई नजिकबाट नियालेको भन्दै ती शेर्पा परिवारको विरासतको प्रशंसा गरेका छन् । उनी लेख्छन्, ‘आजभन्दा २५ वर्षअघि सन् १९९८ मे २६ मा पूर्वकमाण्डो र एसएएस अफिसर नील लाफ्टनसँगै म सगरमाथाको चुचुरोमा पुगें । यसले मेरो जीवनलाई धेरै तरिकामा परिवर्तन गर्‍यो । नेपाली शेर्पाहरू त्यो लामो अभियानमा अविश्वसनीय थिए र उनीहरूले बाटोमा रहेका धेरै शिविरलाई डोरी र अक्सिजनको माध्यमबाट हामीलाई अन्ततः शिखरमा चढ्ने कुरामा मद्दत गरे । म त्यतिबेला २३ वर्षको थिएँ, र ती शेर्पामध्ये एक था पडावा जो २३ वर्षका जवान थिए ।’

उनले ती शेर्पाको तस्वीर हेरेर आफू भावुक भएको लेखेका छन् । उनी भन्छन्, ‘विश्वको सर्वोच्च शिखरमा उनको यो पहिलो आरोहण थियो । ती तीन महिनामा हामी राम्रो साथी बन्यौं । पडावाले त्यसयता धेरै पटक सगरमाथा आरोहण गरिसकेका छन् (अहिले संयुक्त रूपमा सगरमाथा शिखरको रेकर्ड राखेका छन्)। डिङ्बोचेको सानो पहाडी गाउँमा उनको परिवार छ र सेवाङ भन्ने छोरा छन्, जो अहिले बेलायतमा गोर्खा सैनिक छन् । साँच्चै उनको ठूलो उपलब्धि । त्सेवाङसँग समय बिताउनु, उनका बुवा र मेरो पुराना तस्वीर हेरेर र अगाडिको परिवार, हिमाल र आफ्नो सैन्य करियरको बारेमा कुरा गर्नु गर्व र भावनात्मक क्षण थियो । कस्तो राम्रो परिवार र कस्तो रमाइलो कथा । मेरो जीवनका एक साथी ।’

बियर ग्रिल्स विश्वचर्चित एड्भेन्चर टेलिभिजन सिरिज ‘म्यान भर्सेज वाइल्ड’का प्रस्तोता समेत हुन् । उनले यो कार्यक्रममा विभिन्न देशका सरकार प्रमुख र सेलिब्रिटीलाई निम्तो दिने गरेका छन् । गत वर्ष सगरमाथा क्षेत्रको भ्रमण गर्न सपरिवार नेपाल आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?