+
+
काभा वुमन्स च्यालेन्ज कप भलिबल :

जित्दाजित्दै हारेको नेपाल

नमिता दाहाल नमिता दाहाल
२०८० जेठ १२ गते २१:४६

१२ जेठ, काठमाडौं । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि अनुभव र एक्स्पोजरमा किन ध्यान दिनुपर्छ भन्ने तथ्य नेपाल भलिबलले शुक्रबार महशुस गरेको छ ।

काभा वुमन्स च्यालेन्ज कप भलिबलमा नेपाल टिमले बलियो विपक्षी काजाकस्तानसँग जित्दाजित्दै हार्न पुग्यो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट जितेको भए नेपाल सोझो सेटमै खेल जित्न सक्ने स्थितिमा थियो । पहिलो सेटमा पाँच नेगेटिभ प्वाइन्ट दिए पनि नेपालले विपक्षीलाई कडा प्रतिस्पर्धा लिएको थियो ।

१४–१४ को अवस्थाबाट लगातार चार अंक जोडेर अघि बढेको नेपाललाई काजाकस्तानले १९–१९ मा रोकेर अगाडि बढ्न सफल रह्यो । २३–२० को अग्रता हासिल गर्दै सेट जितको नतिज पुगेको काजाकस्तानविरुद्ध नेपालले लगातार तीन अंक जोड्न सक्यो । सेट २३–२३ को बराबरीमा पुग्यो ।

पहिलो सेटमा निरुता ठगुन्ना र सरस्वती चौधरीले उत्कृष्ट आक्रामक खेल प्रदर्शन गरेका थिए । सरस्वतीले अंक लिएपछि नेपाल २४–२३ ले अघि बढ्यो । नेपाललाई खेलमा पहिलो सेट प्वाइन्टको अवसर थियो । पालैपालो दुवै टिमले अंक लिने प्रक्रिया नरोकिँदा नेपाल चार पटकसम्म सेट प्वाइन्टको अवसरमा थियो । नेपाल त्यसैमा चुक्यो र ३०–२८ ले सेट गुमायो ।

पहिलो सेटमा चारपल्ट सेट जित्ने अवसरबाट चुक्नु नै टिमका लागि ठूलो घाटा रह्यो । ‘नेपालले पहिलो सेट जितेको भए ३–० सोझो सेटले जित्थ्यौं । हामीले पहिलो सेट गुमाएर खेल नै गुमायौं’, नेपाली टिमका प्रशिक्षक जान डी ब्रान्टले भने ।

त्यसपछिका दुई सेटमा लोभलाग्दो पुनरागमन गरेको नेपाल टिमले चौथो र निर्णायक पाँचौं सेटमा दबावको सामना गर्न सकेन ।‘पहिलो सेटमा हामीले चार पटकसम्म सेट प्वाइन्ट पुगेर जित्न नसक्नु नै घाटा भयो । सर्भिसमा धेरै गल्ती गरेको भएर पनि हामीले सर्भिसबाटै पोइन्ट गुमायौं’, खेलपश्चातको पत्रकार सम्मेलनमा कप्तान अरुणा शाहीले बताइन् ।

दोस्रो सेटमा नेपालले कुनै पनि समयमा दवाव महशुस गर्नु परेन । सुरुदेखि नै अग्रता बनाएको नेपाल टिमले स्पाइक, ब्लक, डिफेन्स र रिसिभ सबै पोजिसनमा शानदार खेल्दा काजाकस्तानलाई ३ अंकमा रोक्दा १० अंक बनाएर ७ अंकको अग्रता कायम गरिसकेको थियो । त्यसलाई अन्तिमसम्म कायम राख्न सफल रहँदा २५–१६ ले सेट जित्यो र खेलमा फर्कियो ।

तेस्रो सेटको प्रदर्शन लगभग दोस्रो सेटकै निरन्तरता थियो । सुरुमै लगातार चार अंक लिएर ५–१ ले अघि बढेको नेपालले २५–१५ ले सेट जित्ने क्रममा अन्तिमतिर लगातार ६ अंक हासिल गरेको थियो । नेपाल २–१ ले अगाडि बढ्यो ।

चौथो सेट नेपालका लागि निर्णायक थियो । तर, यसपल्ट काजाकस्तानका युवा खेलाडीको पुनरागमन शानदार रह्यो । नेपालका घरेलु समर्थकलाई निराश बनाउँदै उनीहरुले लगातार अंक लिन सफल रहे । नेपालले ८ अंक जोड्दा उनीहरुले १८ अंक बनाइसकेका थिए । काजाकस्तानलाई २३ अंकमा रोकेर लगातार ७ अंक जोड्दा पनि नेपालले १७ अंकमात्र बनाउन सक्यो । नेपाल १८–२५ ले पराजित रहँदा खेल २–२ को बराबरीमा पुग्यो ।

चौथो सेट हार्नुमा हाम्रै कमजोरी रहेको प्रशिक्षक ब्रान्ट बताउँछन् । ‘चौथो सेटमा हामीले गल्ती ग¥यौं अब हामीले जित्नेछैनौं भने पछि मैले मुख्य खेलाडीहरु निकालेर रेस्टमा राखेँ,’ ब्रान्टले आफ्नो रणनीति सुनाए, ‘पाँचौं सेटमा राम्रो गर्नका लागि तर हामीले पाँचौं सेटमा रिसिभमा धेरै गल्ती गयौं ।’

पर्याप्त खेल अनुभवको अभाव र दवाव थेग्न नसक्नुले पाँचौं सेटमा पनि नेपालको प्रदर्शन अपेक्षा अनुसारको हुन सकेन । यो सेटमा नेपाल १५–७ ले पराजित रह्यो र यसपल्ट सेमिफाइनलमै सीमित रह्यो ।

एसियाली वरीयतामा पाँचौं नम्बरमा रहेको काजाकस्तानले आफ्नो पहिलो टिमलाई नेपाल ल्याएको छैन । विपक्षीको स्तरअनुसार त्यहाँको शीर्ष क्लब अलटीका र उमेर समूहका केहि खेलाडी मिलाएर टिम तयार पारेको काजाकस्तानले फाइनलसम्म यात्रामा नेपालसँग मात्र चुनौति सामना गर्नुपरेको हो ।

‘हाम्रो यो सिनियर ए टिम होइन काजकस्तानको भलिबल टिम अलटी र केही उमेर समुहका युवा खेलाडी मिलाएर यो टिम बनेर नेपाल आएको हो’, नेपाललाई पराजित गरेपछि काजकस्तानका प्रशिक्षक जर्लागासोभ तिमुरले बताए ।

नेपाललाई हराउने काजाकस्तानले भारतसँग प्रतियोगिताको फाइनल खेल्नेछन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो ।

नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।

नेपालले यसअघि सेन्ट्रल एसियन भलिबल संघ (काभा)को दुई प्रतियोगिता जितेको थियो । त्यतिबेला काभाका दोस्रो वरीयताका टिमबीच सेन्ट्रल एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको नामबाट प्रतियोगिता आयोजना भएको थियो । पुस २०७८ मा बंगलादेशमा भएको प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानलाई हराएर नेपाल दोस्रोपल्ट च्याम्पियन बनेको थियो ।

यसपल्ट पहिलो र दोस्रो वरीयताका टिमबीच वुमन्स च्यालेन्ज कपको नामबाट प्रतियोगिता आयोजना अधिकार नेपालले पाएको थियो । घरेलु कोर्ट र माहोल हुनुका बाबजुद यसपल्ट भारत र काजाकस्तानजस्ता शीर्ष टिमहरुको सहभागिता नेपालका लागि चुनौतिपूर्ण हुने नै पूर्वानुमान थियो ।

प्रतियोगिता आयोजनाका लागि आफ्नो सबै शक्ति प्रयोग गरेको नेपाल भलिबल संघले बेल्जियमका ६४ वर्षीय अनुभवी प्रशिक्षक ल्याएर तीन महिनादेखि तयारी गरेको हो ।

तर, प्रतियोगिताअघि नेपालले एउटा पनि प्रतिस्पर्धात्मक खेल खेल्न पाएन । नेपाल टिमका प्रशिक्षक जान डी ब्रान्टले टिमको परीक्षण हुन नपाएकोमा गुनासो समेत गरेका थिए । र, यही एस्क्पोजरको अभाव नेपालका लागि फाइनल यात्रामा बाधक बनेको छ । प्रशिक्षक जान डी ब्रान्ट भने नेपालका लागि अग्लो ब्लक आफ्नो पक्षमा नहुनु र विपक्षी निकै अग्लो हुनाले आफूहरु पछि परेको बताउँछन् ।

‘हामीसँग १७५/१७६ सेन्टमिटरका खेलाडी छन् । उच्च स्तरको भलिबल खेल्न अग्लो उचाइ निकै महत्वपूर्ण कुरा हो’, उनले भने, ‘भारत र काजाकस्तानको खेलाडीभन्दा हामी १० सेन्टिमिटर कम उचाइका छौं । हामीले सट र डिफेन्स राम्रो गर्नुपर्छ । यदि हामीले यो गर्न सकेनौं भने गाह्रो पर्छ । यो नै नेपाली टिमको सत्यता हो ।’

तीन वर्षअघिको हारको सम्झना

नेपालको यो असफलताले तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतसँगको हारलाई सम्झाइदिएको छ ।

त्यतिबेला पनि नेपाल पहिलो सेट गुमाएर त्यसपछि दुई सेट जितेको थियो । अन्तिम दुई सेटमा अनुभव र दवाव थेग्न सक्ने क्षमतामै नेपालको कमजोरी थियो ।

समूहचरणमा किर्गिस्तान र बंगलादेशसँग सहज जित हासिल गरे पनि नेपालको प्रदर्शन प्राविधिक रुपमा सन्तोषजनक थिएन ।

अन्तिम खेलमा भारतविरुद्ध सोही गल्ती दोहोर्याउँदा नेपाल ३–१ को सेटमा पराजित हुनुपरेको थियो ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?