
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ ।
शनिबार दिउँसो ४ बजे बोलाइएको बैठक समयमै सुरु हुन नसकेको हो । शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै गरी स्थगित भएको थियो ।
नीति तथा कार्यक्रम पारित गर्ने तयारीका साथ बोलाइएको शुक्रबारको बैठक एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै शनिबारका लागि स्थगित भएको थियो ।
एमालेले आफ्नो पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल हालेको आरोप लगाइएको भन्दै संसद अवरोध गरेको थियो ।
शनिबार बिहान कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा ओली माथि आरोप लगाइएको प्रसंगलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो ।
यो सँगै एमालेले संसदमा अवरोध नगर्ने पनि सहमति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पत्रकारहरुसँग बताएका थिए ।
शीर्ष नेताहरुको सहमति कार्यान्वयन गर्ने सम्बन्धमा सभामुख देवराज घिमिरेको कार्यकक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरु छलफलमा छन् । छलफल लम्बिएका कारण संसद बैठक समयमै सुरु हुन नसकेको हो ।
शनिबार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र उक्त नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।
हेर्नुहोस् सम्भावित कार्यसूची
प्रतिक्रिया 4