+
+

‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिको जलहरीमा पित्तल लगाएको’ शब्द संसदले हटायो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १७:३५

१३ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसदले गरेको टिप्पणी संघीय संसदको अभिलेखबाट हटेको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले बोलेका ती शब्द हटाउन निर्देशन दिएका हुन् । ‘…स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन निर्देश गर्दछु’ सभामुख घिमिरेले भने ।

गत जेठ १० गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएका बेला भ्रष्टाचारका अनेक काण्ड भएको आरोप लगाएका थिए ।

त्यसदिन दाहालले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

दाहालको यो अभिव्यक्तिबाट ‘…स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु’ भन्ने शब्द संसदको अभिलेखबाट हटाइएको हो ।

एमालेले प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोप लगाइएको भन्दै यो शब्द हटाउन र माफी माग्न माग गर्दै शुक्रबार प्रतिनिधिसभाको बैठक चल्न दिएको थिएन ।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसमेत सहभागी प्रमुख तीन दलका प्रमुख सचेतकहरु समेतको बैठकमा ओलीमाथि लगाइएको आरोप सम्बन्धी शब्द हटाउने सहमति भएको थियो । सोही सहमति अनुसार सभामुख देवराज घिमिरेले ती शब्दहरु संसदको रेकर्डबाट मेटाउन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?